नेकपा एमाले रसुवाको अध्यक्षमा कर्न्यल, धादिङको अध्यक्षमा त्रिपाठी

  • सरस्वती न्यौपाने

धुन्चे: नेपाल कम्युनिस्ट पार्टी एमाले रसुवा र धादिङको जिल्ला अधिवेशन सम्पन्न भएको छ । रसुवाको सम्पन्न अधिवेशनबाट पुनः कर्न्यल लामा निर्विरोध अध्यक्षमा चयन भएका छन् । त्यसैगरी, धादिङको सम्पन्न अधिवेशनबाट भूमि त्रिपाठी सर्वसम्मत अध्यक्षमा चयन भएका छन् ।

रसुवाको शनिबार सम्पन्न आठौँ जिल्ला अधिवेशनबाट उपाध्यक्षमा डिल्ली सुवेदी, सचिवमा जनार्दन ढकाल, उपसचिवमा कैसाङनुर्पु तामाङ र बेली बुलुङ चयन भएका छन् । जिल्लाभरबाट पाँच सय ५६ जना प्रतिनिधिको सहभागितामा नयाँ नेतृत्व चयन भएको थियो । केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज माधव अर्यालको संयोजकत्वमा पाँच सदस्यीय निर्वाचन कमिटी गठन गरिएको थियो । उक्त कमिटीको सदस्यमा छोवाङ तेन्जिङ तामाङ, कुलप्रसाद भट्ट, तेब्रेल तामाङ, सरिता लम्साल सदस्य रहेको जानकारी रसुवाका प्रचार विभाग प्रमुख पेम्बा तामाङले दिए । अध्यक्ष पदका लागि कन्र्याल लामा र अशोक घिमिरेले उम्मेदवारी दर्ता गराएका थिए । मध्यरातसम्म व्यापक छलफलपछि लामालाई निर्विरोध अध्यक्ष चयन गर्ने सबैको सहमति भएपछि दोस्रो कालका लागि लामालाई अध्यक्षमा निर्वाचन कमिटीले सर्वसम्मत भएको घोषणा गरेको थियो । एमाले रसुवाले ९० सदस्यीय नयाँ कार्यसमिति चयन गरेको प्रचार विभाग प्रमुख तामाङले जानकारी दिए ।

त्यसैगरी, एमाले धादिङले सर्वसम्मत नयाँ नेतृत्व चयन गरेको छ । एमाले धादिङको आठौँ जिल्ला अधिवेशनले भूमि त्रिपाठीको नेतृत्वमा नयाँ जिल्ला कमिटी चयन गरेको हो । अध्यक्षमा त्रिपाठीको मात्रै उम्मेदवारी परेको थियो । पुस २३ गतेदेखि धादिङबेंसीमा जारी अधिवेशनले उपाध्यक्षमा धनबहादुर घलेलाई चयन गरेको छ । अर्का उम्मेदवार उमेशकुमार थापा र गंगादेवी श्रेष्ठले उम्मेदवारी फिर्ता लिएपछि घले सर्वसम्मत निर्वाचित भएका हुन् । त्यस्तै, सचिवमा अर्जुनकुमार श्रेष्ठ (गोर्खाली) सर्वसम्मत चयन भए । प्रत्याशी उम्मेदवार हरिराम लोहनीले केन्द्र र जिल्ला नेताहरूसँगको छलफलपछि उम्मेदवारी फिर्ता लिएका थिए । लोहनीको उम्मेदवारी फिर्तापछि निर्वाचन कमिटीले गोर्खालीलाई सचिवमा सर्वसम्मत भएको घोषणा गरेको थियो । सचिवका दाबेदार लोहनी उपसचिवमा चयन भएका छन् । दुईजना उपसचिवमध्ये राधिका सापकोटा सर्वसम्मत निर्वाचित भएकी छिन् । उपसचिवमा निर्वाचित लोहनी र सापकोटा दुवैजना निवर्तमान जिल्ला कमिटी सदस्य हुन् । उपाध्यक्षमा निर्वाचित घले संविधानसभा सदस्य हुन् भने सचिवमा निर्वाचित गोर्खाली निवर्तमान जिल्ला कमिटी सचिव हुन् । अधिवेशनले एक अध्यक्ष, एक उपाध्यक्ष, एक सचिव, दुई उपसचिव र एकतिहाइ महिला र समावेशीलाई समेटेर एक सय पाँच सदस्यीय जिल्ला कमिटी चयन गरेको छ ।