अवरुद्घ स्याफ्रुबेंसी–टिमुरे सडक सुचारू

धुन्चे: गत पुस २२ गते मंगलबारदेखि सुक्खा पहिरोका कारण अवरुद्ध भएको स्याफ्रुबेंसी–टिमुरे सडक शुक्रबारबाट सञ्चालनमा आएको छ ।


गत बुधबार बिहानैदेखि एक्स्काभेटरको सहायताले डिभिजन सडक कार्यालय र जलविद्युत् आयोजनाको एक्स्काभेटर प्रयोग गरी पहिरो पन्छाई सडक सुचारू गरिएको थियो । सडक अवरुद्ध हुँदा सयौँको सङ्ख्यामा रोकिएको मालबाहक कन्टेनरसहित साना–ठूला सवारीसाधन सडक सञ्चालनमा आएपछि गन्तव्यतर्फ पठाइएको प्रमुख जिल्ला अधिकारी नवराज जैसीले बताए । सयौँ मिटर ठाडो भिरबाट आएको सुक्खा पहिरो हटाउन कठिन भए तापनि लगातारको प्रयासपछि सडक सञ्चालनमा ल्याइएको थियो । टिमुरेलगायत रसुवागढी कलाङकुलुङ खोला आसपास क्षेत्रमा पहिरोका कारण इन्टरनेट, टेलिफोन, विद्युत् पूर्ण रूपमा अवरुद्ध थिए । अहिले पूर्ण रूपमा सडक सञ्चालनमा आएपछि इन्टरनेट, टेलिफोन, विद्युत् सेवासमेत सञ्चालन भएको छ ।