न्यानो कपडा वितरण


धुन्चे: हिमाली जिल्ला रसुवामा गत हप्तादेखि अत्यधिक चिसो बढेको छ । चिसोबाट अति विपन्न परिवारलाई बचाउन जिल्ला प्रशासन कार्यालय रसुवाले न्यानो कपडा वितरण थालेको छ ।

जिल्ला विपत् व्यवस्थापन समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी नवराज जैसीलगायतको टिमले गत बिहीबार नौकुण्ड गाउँपालिकाको वडा नम्बर १ र २ मा पुगेर ५० जना अति विपन्न परिवारलाई न्यानो कपडास्वरूप ब्ल्याङ्केट वितरण गरेको थियो । जिल्लाको २७ वटा वडामध्ये १६ वटा वडाका तीन सय ३० घरपरिवारका अति विपन्न परिवार छानेर न्यानो कपडा वितरण गर्ने प्रजिअ जैसीले बताए । न्यानो कपडा ६ जना परिवारलाई एउटा र सातजना छन् भने दुईवटा ब्ल्याङ्केट वितरण गरिनेसमेत उनले बताए । जिल्ला प्रशासन कार्यालयले अत्यधिक चिसो हुने क्षेत्र र हिउँ पर्ने क्षेत्रलाई समेटेर २१ बुंदे कार्ययोजना निर्माण गरी कार्यान्वयन थालेको छ । जाडोका लागि आवश्यक पर्ने विश्रामस्थलको पहिचान गरेर आवश्यक पर्ने काठ–दाउराको उचित व्यवस्थापन खोज तथा उद्धारका सामग्री तथा उद्धारका लागि सुरक्षाकर्मीको व्यवस्थापनको तयारीसमेत भइसकेको प्रमुख जिल्ला अधिकारी जैसीले जानकारी दिए ।