पाँच महिनामा १० हजार निकुञ्ज छिरे


  • सरस्वती न्यौपाने

धुन्चे: लामटाङ राष्ट्रिय निकुञ्जमा चालू आर्थिक वर्षको साउनदेखि मङ्सिर मसान्तसम्म १० हजार चार सय पर्यटकले भ्रमण गरेका छन् ।


लाङटाङ, गोसाइँकुण्ड, पार्वतीकुण्ड, तामाङ सम्पदामार्गलगायत पर्यटकीय अन्य ठाउँमा नेपाली नौ हजार सात सय ८२ जना, सार्क मुलुकका ५२ जना र अन्य विदेशी पाँच सय ६६ जनाले भ्रमण गरेको तथ्याङ्क लामटाङ राष्ट्रिय निकुञ्जले सार्वजनिक गरेको छ । प्रवेश गरेकाबाट ३१ लाख ६५ हजार ५६ रुपैयाँ राजस्व सङ्कलन भएको निकुञ्जका सहायक संरक्षण अधिकृत एवम् सूचना अधिकारी भूपेन्द्र यादवले जानकारी दिए । नेपालको सङ्घीय राजधानी काठमाडौंबाट सबैभन्दा नजिकको हिमाली राष्ट्रिय निकुञ्ज रसुवा, नुवाकोट, सिन्धुपाल्चोकको एक हजार सात सय १० वर्गकिलोमिटर क्षेत्रमा फैलिएको छ । पदयात्राका लागि सगरमाथा राष्ट्रिय निकुञ्ज र अन्नपूर्ण संरक्षण क्षेत्रपछिको तेस्रो गन्तव्यस्थलको रूपमा परिचित रहेको यस निकुञ्ज नेपालकै पहिलो हिमाली राष्ट्रिय निकुञ्ज हो ।

समुद्री सतहबाट एक हजार मिटरदेखि सात हजार दुई सय ४५ मिटरसम्म फैलिएको यस निकुञ्ज जैविक विविधताको भण्डार मानिन्छ । वन क्षेत्र, घाँसेमैदान क्षेत्र, झाडी, बुट्यान क्षेत्र तथा सिमसार क्षेत्र यस निकुञ्जका मुख्य भूउपयोग हुन् । निकुञ्जमा साल, खोटे सल्ला, कटुस, गोब्रे सल्ला, धुपी, सल्ला, खस्रु, भोजपत्र, गुराँसलगायत एक हजारभन्दा बढी प्रजातिका वनस्पति रहेका छन् । त्यसैगरी, रेडपाण्डा, कस्तुरी, मृग, हिउँचितुवा, ध्वाँसेचितुवा, ब्वाँसो, सालक, चरिबाघ, असामी रातो बाँदर, लंगुर बाँदर, थार, घोरल, हिमाली कालो भालुजस्ता दुर्लभ तथा महत्वपूर्ण वन्यजन्तु पाइन्छ ।