प्रदेशकै जलविद्युत् हब बन्दै रसुवा

  • त्रिशूली प्रवाह
  • १२ फाल्गुन २०७८, बिहीबार ११:४९

धुन्चे: बागमती प्रदेशको १३ वटा जिल्लामध्ये रसुवा जिल्ला जलविद्युत् उत्पादनको हब बन्दै छ ।


रसुवा जिल्लामा रहेका पाँचवटा खोलामा करिब सात सय मेगावाट विद्युत् उत्पादन हुने भएपछि बागमती प्रदेशको विद्युत्को मुख्य केन्द्र हब बन्ने अवस्थामा पुगेको छ । चिलिमे, मैलुङ, फलाखु, लामटाङ तथा भोटेकोसी र त्रिशूली नदीमा सञ्चालित १५ वटा जलविद्युत् आयोजना निर्माणको चरणमा रहेका छन् । यी आयोजना सम्पन्न भएपछि सात सय मेगावाट विद्युत् उत्पादन हुनेछ । सबैभन्दा ठूलो दुई सय १६ मेगावाटको माथिल्लो त्रिशूली, एक सय ११ को रसुवागढी, एक सय २० मेगावाटको लामटाङ खोला, ४२ दशमलव ३ को साञ्जेन जलविद्युत् आयोजना निर्माणाधीन अवस्थामा छन् । १४ दशमलव ८ मेगावाटकोे माथिल्लो साञ्जेन, १४ दशमलव ३ मेगावाटको अपर मैलुङ जलविद्युत् आयोजनाले ९० प्रतिशतभन्दा माथि काम पूरा गरिसकेका छन् ।
लामटाङ खोलाको २० मेगावाटको लाङटाङ जलविद्युत् आयोजना तथा मैलुङ खोलाको सानिमा हाइड्रोपावर निमार्णको चरणमा रहेका छन् भने फलाखु खोलामा १३ दशमलव ७ र पाँच मेगावाटका दुईवटा जलविद्युत् आयोजनाको निर्माण तीव्र गतिमा भइरहेका छन् । रसुवामा पाँच मेगावाटदेखि दुई सय १६ मेगावाटसम्मका आयोजना निर्माणाधीन अवस्थामा छन् । यसै आर्थिक वर्षमा चारवटा आयोजनाको निर्माण कार्य सम्पन्न गर्ने लक्ष्यका साथ कार्य भइरहेको जानकारी सम्बन्धित आयोजनाले दिएको छ ।