नेपालीको प्रवेश रोकिँदा चीन निर्यात बन्द

  • त्रिशूली प्रवाह
  • १२ फाल्गुन २०७८, बिहीबार ११:५२


धुन्चे: रसुवागढी नाकाबाट बेसार र खुर्सानी निर्यात गर्ने यहाँका व्यापारी मुकुन्द पौडेल अचेल घाम तापेर बसिरहेका छन् ।


मासिक ४० टनसम्म बेसार, खुर्सानी चीन पठाउने उनको व्यापार २२ महिनादेखि ठप्प छ । २२ महिनाअघि निर्यात गरेको सामान केरुङको गोदाममै थन्किएको छ । करोडौँ रुपैयाँको त्यो सामान अब कुहिएर काम नलाग्ने भइसकेको उनी बताउँछन् । चीनतर्फ हुने निर्यात २२ महिनादेखि ठप्प नै भएको छ । सर्वसाधारणको आउजाउ पनि बन्द छ । निर्यात ठप्प हुँदा पौडेलजस्तै सयौँ व्यापारीले केरुङसम्म पु¥याएको सामान बिक्री गर्न नपाउँदा गोदाममा थन्किएका छन् । पौडेलले चिनियाँ व्यापारीलाई सामान बिक्री गरेबापत करोडौँ रुपैयाँ उठाउनै बाँकी छ । केरुङसम्म जान नपाउँदा सामान बिक्री गरेको रकम उठाउन नपाएको पौडेलले बताए ।


चिनियाँले नेपाली सामान औधी मन पराउँछन् । नेपालबाट चीनतर्फ बाँसको मुढा, अम्रिसो, मैदा, वनस्पति घ्यु, चाउचाउ, पास्ता, बिस्कुट, जुस, जाम, चिउरा, लप्सीको क्यान्डी, चकलेट, सख्खर, चुइगमलगायतका वस्तु निर्यात हुँदै आएको थियो । मुलुकले व्यापारघाटा व्यहोरिरहेको अवस्थामा नेपाली वस्तुको निर्यात ठप्प हुँदा पनि सरकारले ध्यान नदिएको व्यापारीको गुनासो छ । उनीहरू छिटो निर्यात सहज बनाउनुपर्ने माग गर्दै आएका छन् । ०७६ माघ १५ देखि नै रसुवागढी नाका भएर चीनमा हुने निर्यात प्रभावित छ । सुरुमा हिमपात र ल्होसार पर्वका कारण निर्यात बन्द भएको थियो । पछि कोरोना भाइरस देखापरेपछि रसुवागढी नाका भएर चीनबाट हुने आयात–निर्यात थप प्रभावित भएको हो । रसुवागढी नाकाबाट व्यवसायीले २२ महिनादेखि सामान निर्यात गर्न पाएका छैनन् । कहिले हिमपात त कहिले पहिरोले सडक नै अवरुद्ध हुने गरेको छ । साढे पाँच महिना भने कोरोना महामारीका कारण नाका ठप्प रह्यो । अहिले नाकाबाट दैनिक चिनियाँ आठ कन्टेनर मात्र सामान आयात भइरहेको छ । नेपाली कन्टेनर सामान लिन केरुङ जान नपाएको २२ महिना पूरा भएको छ । केरुङ पुगेका खाली कन्टेनर पनि उतै रोकिएका छन् । यो नाकाबाट व्यापारीका सामान सहज रूपमा आउन सकेको छैन ।


चीनले व्यापारीका आफ्नै दैनिक आठ कन्टेनर सामान नेपाली भूमिसम्मै ल्याइदिने गरेको छ । निर्यात गर्ने र आयात बढाउने विषयमा महावाणिज्य दूतमार्फत प्रयास भइरेको रसुवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत रामप्रसाद मैनालीले बताए । रसुवागढीबाट आयात–निर्यात प्रभावित हुँदा सयौँ व्यवसायीका अर्बौँ मूल्यका सामान चीनतर्फ रोकिने गरेका छन् । बारम्बार आइरहने यस्ता समस्याले व्यापारीहरू मर्कामा परेका छन् । सामानको आयातसँगै राजस्व सङ्कलन पनि घटेको भन्सार कार्यालयले बताएको छ । रसुवागढी चीनबाट नेपालमा व्यापार हुने सबैभन्दा पुरानो नाका हो ।