पुस्तक–समीक्षा: शिक्षक आन्दोलनका मिथकीय व्यक्तित्वको कथा

  • त्रिशूली प्रवाह
  • १२ फाल्गुन २०७८, बिहीबार १२:१४


  • श्याम रिमाल

काठमाडौं: बद्रीप्रसाद खतिवडा, विरोध खतिवडा र शृंखला खतिवडा– नेपाली बुद्धिजीवी र युवाले राम्रैसँग सुनेका नाम हुन् । बद्री शिक्षक आन्दोलन, विरोध विद्यार्थी राजनीति र शृंखला सुन्दरी प्रतियोगिताबाट बढी परिचित छन् । हार्भर्ड विश्वविद्यालय अमेरिकामा वास्तुशास्त्रमा अध्ययनरत शृंखलाकी माता मुनु सिग्देल पनि वामपन्थी राजनीतिमा संलग्न भई हाल बागमती प्रदेश सभाका सदस्य भई राष्ट्रिय राजनीतिमा छाउँदै छन् । परिवारका ज्येष्ठ सदस्य ‘भानु’ले मूलतः शिक्षक आन्दोलनबाटै नेपालको वाम तथा प्रजातान्त्रिक आन्दोलनलाई सहयोग पु¥याएको विदितै छ ।


तिनै बद्रीप्रसाद (वि.सं. १९९१) अहिले ‘अभियन्ता’ पुस्तक लिएर पाठकमाझ आइपुगेका छन् । यही पुस ८ गते लेखकले कृति विमोचनसँगै आफ्नो ८८औँ जन्मोत्सव मनाए । मकवानपुरगढीको सामान्य हुने खाने परिवारबाट माथि उठेका एक मिथकीय व्यक्तित्वको कृति आत्मजीवनी मात्र नभएर नेपालका पुराना सेन र शाहकालीन तथा जनमतसङ्ग्रह, ४६ साल र ०६२।६३ को इतिहासका केही पक्ष पनि बताएकाले यसको आफ्नै महत्व छ ।


शिक्षण, प्रजातन्त्र, मानव अधिकार, राजनीति, वातावरण र दलित छुवाछुत अन्त्य गर्ने अभियानमा संलग्न उनी अझै अर्को दल खोलेर मुलुकको रूपान्तरणमा योगदान दिने मनसुवा राख्छन् । राजा वीरेन्द्रलाई ०३६ साल जेठ १० गते जनमतसङ्ग्रह घोषणा गराउन बाध्य बनाउनेमा वैशाख १५ को हेटौँडाको ‘न भूतो न भविष्यति’ विद्यार्थी आन्दोलन र जेठ ४ को शिक्षक आन्दोलन नै भएको उनको ठोकुवा छ । सो विद्यार्थी आन्दोलनमा करिब ४० जनाको मृत्यु भएको र सयौँ घाइते भएको तथा आन्दोलनका घाइतेलाई अस्पतालबाट उठाएर लैजाने हर्कतसम्म भएको कृतिमा उल्लेख छ । विद्यार्थी र शिक्षक आन्दोलन, तिनले ल्याएको जनजागरण, शिक्षकलाई निवृत्तिभरण, सञ्चय कोष र बढुवाको प्रावधान आफ्नै नेतृत्वको शिक्षक आन्दोलनको उपलब्धि भएको नेपाल राष्ट्रिय शिक्षक सङ्गठन (२०३६) का संस्थापक अध्यक्ष बद्रीप्रसादको जिकिर छ । ०४६ सालको आन्दोलन सफल हुनुमा शिक्षक आन्दोलनकै ठूलो हात रहेको जनाउँदै लेखकले प्रजातन्त्र पुनस्र्थापनापछि ०४८ को आमचुनावपछि विजयी नेकपा (एमाले) का सांसदमा ६२ प्रतिशत शिक्षक भएको जिकिर पनि गरेका छन् । उनी केही समय ‘वातावरण बचाऊ आन्दोलन नेपाल’, वीरगञ्ज–काठमाडौं रेल्वे सम्भाव्यता अध्ययनमा पनि सक्रिय रहे ।


मानव अधिकार संरक्षण मञ्च (२०४१) का संस्थापक अध्यक्ष बद्रीप्रसादका कालमा पञ्चायती व्यवस्थाको कुकर्मको भण्डाफोर, चेर्नाे बिल विकिरणयुक्त दूध प्रकरणको विरोध, भुटानी शरणार्थीलाई सहयोग, मानव अधिकारका विषयको अन्तर्राष्ट्रियकरणका साथै बन्दीलाई सहज जीवन, उपचार र अन्य कानुनी सहायता दिलाउने काम भयो भने उनकै नेतृत्वको प्रजातान्त्रिक राष्ट्रिय एकता मञ्चले शिक्षक र समाजसेवीसँग मिली नेकपा (माले) को राजनीतिलाई बाहिर ल्याउने काम गर्यो ।


सानैमा भाषा स्कुलमा पढ्दै सानोतिनो कर्मकाण्ड गर्दै काठमाडौं आएर एसएलसी, आइए, बिए पढेका ‘अव्यावहारिक श्रीमान्’ सानोतिनो जागिर गर्दै आफ्नै जिल्लाको विद्यालय भुटनदेवी मावि (स्था. २०१६) का प्रधानाध्यापक बनेपछि शिक्षण पेसामा निरन्तर रहे र गाउँमै किसानका पक्षमा आन्दोलन गर्ने, सामन्तीका बिउ नासिदिने काम गर्दै अघि बढे । १ रुपैयाँ २५ पैसामा एक धार्नी मासु पाइने र राहदानी लिएर मात्र काठमाडौं–हेटौँडा गर्ने जमानाका उनका सङ्गतका पहिलो बौद्धिक व्यक्तित्वमा गोविन्दप्रसाद लोहनी नै थिए । जसको प्रेरणाले उनी साम्यवादी विचारमा लागेका थिए । पछि भक्तबहादुर श्रेष्ठ ‘शेरसिंह’, कल्याणविक्रम अधिकारी, डोरमणि पौडेल, कुवेर शर्मा, मनमोहन अधिकारी, मदन भण्डारी, माधवकुमार नेपाल, केपी शर्मा ओली, मोदनाथ प्रश्रित, राधाकृष्ण मैनाली, डिल्लीरमण रेग्मी, गणेशमान सिंह, देवेन्द्र नेपाली, डा. केशवप्रसाद उपाध्याय आदिसँग पनि उनको सङ्गत भयो । ‘जीवन त आखिर आफ्ना मान्छेको साथ पो रहेछ ।’ उनी वि.सं. २०१४ मा भद्रअवज्ञा आन्दोलनका बेला पहिलोपटक प्रहरीको गिरफ्तारी र पछि पटक–पटक कारागार परेका उहाँ ‘जेल एउटा विश्वविद्यालय जस्तै’ मान्छन् । अल्बर्ट आइन्स्टाइनको ‘विद्यालयबाट ज्ञान प्राप्त हुने नभई त्यसलाई प्राप्त गर्न चाहिने जीवनभरको प्रयासबाट मात्र हुन्छ’ भन्ने भनाइबाट प्रेरित भई त्रिविबाट प्रमाणपत्र पाउने प्रथम ब्याचका विद्यार्थी उनी स्नातकोत्तरतिर नलागी जागिर र राजनीतितिर लागे । आरटिओ र मलेरिया इराडिकेसन साउथ सेक्टरमा जागिर खाई छाडेपछि वि.सं. २०१५ मा आमनिर्वाचनमा नेकपा उम्मेदवार र हेटौँडाको प्रधानपञ्चमा जनपक्षीय उम्मेदवारको प्रचारमा संलग्न भएका उनले २०१६ मा पुष्पलालबाट नेकपाको सदस्यता लिई राजनीतिमा संलग्न हुँदै गर्दा वि.सं. २०१९ मा आफ्नै जिल्लाको भुटनदेवी माविको प्रधानाध्यापक बन्ने प्रस्ताव स्विकार्नुभयो ।


०४९ को नेकपा (एमाले)को पाँचौँ अधिवेशनबाट राष्ट्रिय परिषद्मा मात्र सदस्य बनाइएकामा असन्तुष्ट लेखकले ०५० मा मदन भण्डारीको निधनपछि पार्टीबाट राजीनामा नै दिए । वामपन्थी राजनीति छोडेका लेखक त्यसपछि प्राडो–पजेरोविरोधी ‘नेपाल हरियाली पार्टी’ (२०५३) का संस्थापक बनी करिब सात वर्षपछि बाहिरिए । पार्टी छाडेपछि पनि ०७० र ०७४ को आमचुनावमा समानुपातिक सांसद बन्ने मन पलाए पनि व्यर्थ भयो ।


अहिले हब्बे न कब्बे भनिने नब्बेतिर हिँडिरहँदा पनि उनी अहिले खतिवडा सेवा सदन र मकवानपुर गढी पर्यटन विकास समितिमा सक्रिय छन् । अब भने युवा बाहुल्यको अर्काे नयाँ राजनीतिक दल खोलेर १४ बुँदे प्रस्तावसहित होची मिन्ह, नेल्सन मण्डेला, माओ, गान्धीजस्ता नेता जन्माई देशमा पुनः क्रान्ति गर्नु नपर्ने स्थिति जन्माउने ‘चाणक्य सपना’ उनले देख्न थालेका छन् । साठी वर्षमाथिकाले चुनाव लड्न नपाउने र समानुपातिक कोटा खारेजीको माग गर्दै उनले मदन भण्डारी र जीवराज आश्रितको निधन र राजा वीरेन्द्रको हत्याकाण्ड घटनाको अनुसन्धान, गैरआवासीय नेपालीको सङ्घीय प्रतिनिधिसभामा प्रतिनिधित्व र विदेशबाट मतदान, दलित–मुक्त कमैया–हलिया–बादीका लागि विशेष व्यवस्था, सार्वजनिक लाभका पदमा बसेकाको सम्पत्ति छानबिन, नेपालमै मल कारखाना सञ्चालन तथा बेचिएका र बन्द उद्योग–कारखानाको पुनः सञ्चालनजस्ता घोषणा पनि गरेका छन् । यस उमेरमा पनि अझै बेथितिविरुद्ध शान्तिपूर्ण आन्दोलन गर्ने लेखकको आँटलाई भने मान्नैपर्छ ।


मकवानपुर–बङ्गाल युद्धमा प्राप्त थुप्र्रै बन्दुक, तोप, गोला र बारुदमध्ये चार सय ५० टन ऐतिहासिक–पुरातात्विक महत्वका वस्तु ५० को दशकमा अमेरिकी एक कम्पनीलाई बेचिएको भनिएकाले छानबिन गरी कारबाही गर्न पनि उनले माग गरेका छन् । पहल गर्न सकेमा चोरिएका वा हराएका नेपाली मूर्ति विदेशबाट धमाधम फिर्ता भइरहेकाले ती वस्तु पनि खोजी गर्नुपर्ने देखिन्छ । एउटा मिथकीय व्यक्तित्व, जसको सक्रियताले मुलुकले प्रजातन्त्र पाएको छ, ले कुनै राजनीतिक पद वा नियुक्ति नपाउँदा भने खिन्न लाग्छ । एमाले तत्कालीन अध्यक्ष मनमोहन अधिकारी सरकारकै पालामा उनलाई दिइएको पदक पनि गोरखा दक्षिणबाहु चतुर्थ मात्र थियो । ‘अक्सर दिल ती मानिसले नै दुखाउँछन्, जो दिलको एकदमै नजिक हुन्छन्’, उनी त्यो मन पनि दुखाउँदैनन् ।
लेखकसँग सम्बन्धित रङ्गीन तस्बिरले कृतिलाई शोभा दिएको छ । केही ऐतिहासिक तथ्य–तथ्याङ्क र वर्णविन्यासमा गल्ती भने देखिन्छ । मुकुन्द सेनका कान्छा छोरा कतै ‘लुवाङ’ र कतै ‘ल्वाङ’, मकवानपुरे राजा हेमकर्णका छोरा ‘दिग्बन्धन’ हुनुपर्नेमा ‘दिग्वन्त’, पुष्पलालले आफ्नो थर नलेखे पनि ‘श्रेष्ठ’ र पत्रकार भैरव रिसालका नाममा ‘प्रसाद’ थप, तत्कालीन जिल्ला पञ्चायत सभापति ‘ओमुटेम्पा लामा’ हुनुपर्नेमा ओमी टेन्पा, सुखानी काण्ड ०२९ साल र पाँच सहिद हुनुपर्नेमा ०३० र चार, जनमतसङ्ग्रहको घोषणा कतै जेठ ९ र कतै जेठ १०, एमालेको पाँचौँ अधिवेशन ०४९ हुनुपर्नेमा ०४८, ‘सैनिक’ का ठाउँमा ‘सेना’जस्ता तथ्य–तथ्याङ्क र शब्द लेखिँदा इतिहास र भाषाप्रति अन्याय हुन्छ । जनमतसङ्ग्रह घोषणा गराउन बाध्य बनाएको कारणमा पहिले हेटौँडाका विद्यार्थी र शिक्षक आन्दोलन तथा तलतिर तत्कालीन पाकिस्तानी प्रधानमन्त्री जुल्फिकर अली भुट्टोको हत्यापछि उब्जिएको काठमाडौंका विद्यार्थीको आन्दोलनको उत्कर्ष रूप भनी उल्लेख गरिँदा विरोधाभास देखिन्छ । अचेल अधिकांश लेखकमा देखिने पुनरुक्तिको दोष प्रस्तुत कृतिमा पनि छ । वामपन्थी राजनीति गर्ने मान्छे खतिवडा वंश उत्थान र मन्दिर निर्माणजस्ता काममा लागेको पाउँदा सिद्धान्त र व्यवहारमा मेल खाएन कि भन्ने पनि लाग्छ । ‘अभियन्ता’ को अर्थ इन्जिनियर भए पनि अचेल अभियान चलाउनेलाई ‘अभियन्ता’, ‘अभियान्ता’ भन लेख्ने–भन्ने चलनको सिको गरेर घोस्ट राइटिङ नेपालले प्रकाशन गरेको सो कृतिको नाम भाषागत हिसाबले अमिल्दो देखिन्छ जब कि कृतिकार स्वयम्ले आफ्नो भूमिकामा त्यसलाई ‘अभियान’ भनी लेखेकै छन् । अनि लेखकको आफ्नै मौलिक कृतिमा पुत्रपुत्री, बुहारी र नाति–नातिनाका छुट्टै लेख पनि समावेश गराइनाले पुस्तकीय महत्व घट्ने देखिन्छ । जसलाई छोटकरीमा पुस्तकको पछिल्लो आवरण पृष्ठमा ‘ब्लर्ब’ का रूपमा राख्न सकिन्थ्यो ।


सेन र पृथ्वीनारायण शाहकालीन घटना, झापा हत्याकाण्ड, शिक्षण, विद्यार्थी र शिक्षक आन्दोलन, ०४६ को जनान्दोलन, राजनीति र राजनीतिकर्मीका व्यवहार र चरित्र, कैलाश मानसरोवरको भूगोल आदि बारेको ज्ञान भने एक निःस्वार्थ देशभक्तको कृतिले पक्कै दिन्छ । घोस्ट राइटिङका अध्यक्ष कमल ढकालले भनेझैँ ‘हरेक मान्छे नलेखिएको पुस्तक’ भएकाले प्रस्तुत कृतिले सामान्य मानिसलाई पनि आत्मजीवनी लेख्न प्रेरणा भने दिन्छ ।