साततले दरबारको पुनर्निर्माण सुरु भएन

  • त्रिशूली प्रवाह
  • १२ फाल्गुन २०७८, बिहीबार १२:२३

विदुर: कहिले भूकम्प त कहिले कोरोनाका कारण नुवाकोटको साततले दरबारलगायतका पुरातात्विक सम्पदाको पुनर्निर्माण सुरु हुने मिति जुरेको छैन ।


चीन सरकारको सहयोगमा निर्माण हुने भनिएको साततले दरबार पुनर्निर्माण हुन नसक्दा स्थानीयवासी चिन्तित छन् । पुरातात्विक सम्पदाको अवलोकन गर्न बाह्य तथा आन्तरिक पर्यटक आउने गरेको नुवाकोट अहिले सुनसान भएपछि पुरातात्विक सम्पदा नबन्ने हो कि भन्ने चिन्ताले सताएको स्थानीय शिव मल्लले बताए । भूकम्पले ढलेका पुराना घर नयाँ बने, तर यहाँका दरबार र मठमन्दिर पुनर्निर्माण नहुँदा स्थानीयमा निराशा थपिएको छ ।

यस क्षेत्रको दरबार तथा मठमन्दिर पुनर्निर्माण नभए नुवाकोटको अस्तित्व मेटिने उनले बताए । विदुर नगरपालिका– २ मा पर्ने उक्त दरबार र मठमन्दिर चीन सरकारले पुनर्निर्माण गर्न भने पनि कोरोनाका कारण पुनर्निर्माण हुन सकेको छैन । पुनर्निर्माण गर्नुपर्ने सम्पदामा साततले दरबारलगायत लामपाटी, सेतोपाटी, विष्णु मन्दिर, नारायण मन्दिर, गारदघर, रंगमहल, तलेजु भवानी मन्दिर रहेका छन् ।


०७२ वैशाख १२ र २९ गते आएको भूकम्पले ती सम्पदामा क्षति पुगेको थियो । अहिले ती सम्पदालाई फलामे टेको दिएर राखिएको छ । त्यतिबेला ती सम्पदा पुनर्निर्माण गर्न नेपाल सरकार र चीन सरकारबीच सम्झौता भएको थियो । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले काठमाडौंको वसन्तपुर दरबार पुनर्निर्माण सकिएपछि नुवाकोटका सम्पदाको पुनर्निर्माण थालिने जनाएको थियो । तर, पुनर्निर्माण प्राधिकरणको अवधि सकिएर पनि नुवाकोटका पुरातात्विक सम्पदाले काँचुली फेर्न पाएका छैनन् ।