सङ्क्रमितभन्दा निको हुने बढी | कोरोनासँग सर्वसाधारण डराउन छोडे

  • त्रिशूली प्रवाह
  • १२ फाल्गुन २०७८, बिहीबार १२:५५

विदुर: माघभरमा नुवाकोटमा कोरोनाबाट सङ्क्रमित हुनेभन्दा निको हुनेको सङ्ख्या बढी देखिएको छ । यस महिनाभरमा आठ सय ८१ जना कोरोनाका बिरामी निको भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।


बुधबार नुवाकोटमा थप ६ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । यससँगै पहिलो भेरियन्टमा एक हजार एक सय ४५ र दोस्रो भेरियन्टमा आठ हजार दुई सय १२ गरी कुल नौ हजार तीन सय ५७ जना सङ्क्रमणमुक्त भएका छन् । माघको तथ्याङ्कअनुसार पहिलो सातामा एकजना, दोस्रोमा ६३ जना, तेस्रोमा दुई सय ८१, चौथोमा तीन सय १० र अन्तिम सातामा दुई सय २६ जना सङ्क्रमणमुक्त भएका छन् । पहिलो सातामा कोही पनि सङ्क्रमित नभएको स्वास्थ्य कार्यालयले जनाएको छ । दोस्रो सातामा दुई सय ३९ जना, तेस्रोमा तीन सय ६१, चौथोमा एक सय ३७ र अन्तिम सातामा ९८ जना सङ्क्रमित भएका थिए । पछिल्लो २४ घन्टामा सङ्क्रमित हुनेमा महिला दुई र पुरुष दुईजना रहेका छन् । यससँगै जिल्लामा सक्रिय कोरोना सङ्क्रमित बिरामी ३१ रहेको छ । अहिले अस्पतालमा उपचार गराउने बिरामीको सङ्ख्या ६ जनामा झरेको छ भने २८ जना होम आइसोलेसनमा रहेका छन् ।


हालसम्म त्रिशूली अस्पतालमा २२ हजार आठ सय ३८ वटा स्वाब परीक्षण र एन्टिजेन विधिबाट पाँच हजार एक सय ९८ जनाको परीक्षण गरिएकोमा ३० हजार सात सय ४५ जनाको परीक्षणमा २१ हजार चार सय ३३ नेगेटिभ आएको थियो । कोरोना भए–नभएको चेकजाँचका लागि महिला ११ हजार ५८ जना र पुरुष १९ हजार ८७ जनाले परीक्षण गराएका छन् । त्रिशूली अस्पतालमा स्वाब परीक्षण नहुँदा कोरोनाकालको सुरुवातमा काठमाडौं जिल्लाका राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, वीर अस्पताल, भरतपुर अस्पताललगायतका स्थानमा परीक्षण गर्न पठाएको थियो । अहिलेसम्म नुवाकोटमा ५२ जनाको कोरोनाबाट ज्यान गएको थियो । नौ हजार तीन सय १२ कोरोना सङ्क्रमित पुष्टि भएको थियो ।


जिल्लामा कोरोना सङ्क्रमण नसकिएको भए पनि स्वास्थ्यमा जटिल समस्या हुन छाडेपछि सर्वसाधारण कोरोनासित डराउन छाडेका छन् । महामारीको त्रास हट्दै गएपछि नुवाकोटे नागरिकको जनजीवन पनि सामान्य बन्दै गएको छ । पहिलो र दोस्रो लहरका बेला सङ्क्रमणका कारण त्रिशूली अस्पताल र स्थानीय तहले निर्माण गरेको आइसोलेसन सेन्टर भरिभराउ भएको थियो । विशेषगरी दोस्रो वेभमा सङ्क्रमण पुष्टि भएसँगै स्वास्थ्यकर्मीको पहुँचमा पुग्ने गरेका थिए । तर, अहिले सङ्क्रमण पुष्टि भए पनि होम आइसोलेसनमै बसेर दैनिकी सामान्य बनाउँदै लगेका छन् । पहिलो र दोस्रो वेभमा धेरैजनाको स्वास्थ्य अवस्था गम्भीर हुँदा सर्वसाधारण त्रासमा रहेका थिए । अहिले नुवाकोटका अस्पतालहरूमा कोरोना सङ्क्रमणका गम्भीर अवस्थाका बिरामी छैनन् । सङ्क्रमण भएका व्यक्तिलाई जटिल लक्षण देखिएका छैनन् । अहिले बजार, सरकारी कार्यालय, वित्तीय संस्था, होटेललगायत मानिसका घरमा भिडभाड कायम नै रहेको छ ।


कोरोना सङ्क्रमणलाई नागरिकले सामान्य रूपमा लिन थालेसँगै नागरिकको दैनिकी सामान्य बन्न थालेको हो । दैनिक रूपमा सङ्क्रमण निको हुने नागरिकको सङ्ख्यासमेत उल्लेख्य रहेको छ । कोरोनाका बिरामी उपचार गर्न छुट्याइएका त्रिशूलीको कोभिड वार्डमा अहिले जम्मा ६ जना मात्रै रहेका छन् । ३१ जना सक्रिय सङ्क्रमित रहेको नुवाकोटमा तीनजना आइसियूमा रहेका छन् भने तीनजना कोभिड वार्डमा उपचाररत छन् । अघिल्ला दुई लहरमा त्रिशूली अस्पताल र स्थानीय तहले निर्माण गरेको आइसोलेसन सेन्टर सबै भरिएका थिए । खोपको व्यवस्थित प्रयोग र नयाँ भेरियन्टको कम असरले गर्दा कोरोनाको डर मानिसमा हट्दै गएको स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ । डेल्टाको तुलनामा ओमिक्रोनले बिरामीलाई गम्भीर बनाइहाल्ने प्रकृति नदेखिएकाले नै अस्पतालमा सङ्क्रमितको सङ्ख्या कम भएको हो । अहिले देखिएको सङ्क्रमण बलिया मानिसमा असर नपरे पनि दीर्घरोगी, मधुमेहका बिरामी र उच्च रक्तचाप हुनेलाई यसको नकारात्मक असर पर्न सक्ने भएकाले व्यक्तिगत सावधानी भने अपनाउन स्वास्थ्य कार्यालय नुवाकोटले आग्रह गरेको छ ।


कोरोनाको दोस्रो डोज खोप र बुस्टर डोज नुवाकोटमा चलिरहेको छ । पछिल्लो साता जिल्लाको सङ्क्रमित सङ्ख्या क्रमैसँग घट्दै गएको छ । अझै पनि खोपको दुवै डोज लगाउन ध्यान दिनुपर्ने भन्दै जनजीवन सामान्य बनिहालेकोभन्दा पनि सङ्ख्या कम हुँदै गएको स्वास्थ्य कार्यालय नुवाकोटका सूचना अधिकारी उत्तमराज खनालले बताए । नागरिकले आफ्नातर्फबाट अपनाउनुपर्ने स्वास्थ्यका मापदण्डलाई दैनिकीमा परिवर्तन गर्नुपर्ने उनको भनाइ छ । जिल्लामा अहिले सङ्क्रमितको सङ्ख्या मात्रै घटेको हो । सङ्क्रमणको जोखिम भने पहिलाको जस्तै रहेको स्वास्थ्य कार्यालयको भनाइ रहेको छ ।