लाङटाङ निकुञ्जको अवसर र चुनौती

  • त्रिशूली प्रवाह
  • २६ फाल्गुन २०७८, बिहीबार ११:३१

धुन्चे: लाङटाङ नेपालको सङ्घीय राजधानी काठमाडौंबाट सबैभन्दा नजिकैको हिमाली राष्ट्रिय निकुञ्ज हो । लाङटाङ राष्ट्रिय निकुञ्ज २०३२ साल चैत ९ गते स्थापना भएको थियो । रसुवाको ५७ प्रतिशत, नुवाकोटको सात प्रतिशत र सिन्धुपाल्चोक जिल्लाको ३६ प्रतिशत भाग ओगटेर करिब एक हजार सात सय १० वर्गकिलोमिटर क्षेत्रमा फैलिएको यो निकुञ्जमा आन्तरिक एवम् बाह्य पर्यटकको आगमन बर्सेनि बढिरहेको छ ।


पदयात्राका लागि सगरमाथा राष्ट्रिय निकुञ्ज र अन्नपूर्ण संरक्षण क्षेत्रपछिको तेस्रो गन्तव्यस्थलको रूपमा परिचित यो निकुञ्जको प्रभावित क्षेत्रलाई समेटेर वि.सं. ०५५ वैशाख १४ गते चार सय १८ दशमलव ३० वर्गकिलोमिटर मध्यवर्ती क्षेत्र घोषणा गरिएको थियो । निकुञ्ज क्षेत्रमा हुने वन पैदावारको चापलाई न्यूनीकरण गर्न र निकुञ्जको मध्यवर्ती क्षेत्रमा रहेको प्राकृतिक स्रोतको उचित व्यवस्थापनका लागि त्यसपछि स्थानीयको संलग्नता हुन थाल्यो । मध्यवर्ती क्षेत्र घोषणापछि निकुञ्जअन्तर्गत २१ वटा मध्यवर्ती क्षेत्र उपभोक्ता समिति र एक सय ९१ वटा मध्यवर्ती क्षेत्र उपभोक्ता समूह रसुवा, नुवाकोट र सिन्धुपाल्चोकको १० वटा गाउँपालिकामा गठन भयो । राज्य पुनर्संरचनापछि साबिक ३४ वटा गाउँ विकास समितिमा फैलिएको निकुञ्जको मध्यवर्ती क्षेत्र हाल रसुवा जिल्लाको चार वटा, नुवाकोट जिल्लाको तीनवटा र सिन्धुपाल्चोक जिल्लाको तीनवटा गाउँपालिकामा गरी १० वटा गाउँपालिकामा सीमित भएको छ । क्षेत्रफल र भूगोल घटेको भने होइन ।

१. भूउपयोग
समुद्री सतहदेखि एक हजार मिटरदेखि सात हजार दुई सय ४५ मिटरसम्म फैलिएको यस निकुञ्ज जैविक विविधताको भण्डार मानिन्छ । वन क्षेत्र, घाँसेमैदान क्षेत्र, झाडी, बुट्यान क्षेत्र तथा सिमसार क्षेत्र यस निकुञ्जका मुख्य उपयोग हुन् ।

२. जैविक विविधता
लाङटाङ राष्ट्रिय निकुञ्ज, वन्यजन्तु तथा वनस्पतिको प्रचुरताको आधारमा धेरै नै महत्वपूर्ण रहेका साल, खोटेसल्ला, कटुस, गोब्रेसल्ला, धुपीसल्ला, ओखर, खस्रु, भोजपत्र, गुराँसलगायत एक हजारभन्दा बढी प्रजातिका वनस्पति र रेडपाण्डा, कस्तुरी, मृग, हिउँचितुवा, ध्वाँसेचितुवा, ब्वाँसो, सालक, चरीबाघ, आसामी रातो बाँदर, लंगुर बाँदर, थार, घोरल, हिमाली कालो भालुजस्ता दुर्लभ तथा महत्वपूर्ण वन्यजन्तुसमेत पाइन्छ ।

३. निकुञ्ज स्थापनाको उद्देश्य
नेपालको मध्यहिमाली क्षेत्रको पारिस्थितिकीय प्रणालीलाई संरक्षण गरी हिमाली क्षेत्रमा पाइने दुर्लभ वन्यजन्तुको वासस्थान संरक्षण तथा व्यवस्थापन स्थानीय बासिन्दाको परम्परागत कला, सांस्कृतिक र रहन–सहनको संरक्षण, धार्मिक तथा सांस्कृतिक क्षेत्रको संरक्षण गर्दै पर्यटन प्रवद्र्धनमा टेवा पु¥याउने, मानव र वन्यजन्तुबीच सहअस्तित्व कायम गर्दै स्थानीय जनताको जीविकोपार्जनमा टेवा पु¥याउने रहेको छ ।

४. निकुञ्जका अवसर
नेपाल घुम्न आउने पर्यटकलाई लाङटाङ राष्ट्रिय निकुञ्ज एउटा राम्रो गन्तव्य हुन सक्छ । यस क्षेत्रमा रहेका दुर्लभ तथा महत्वपूर्ण वनस्पति तथा वन्यजन्तुको अवलोकन गर्न हजारौँको सङ्ख्यामा आउने पर्यटकलाई पर्यटकीय पूर्वाधारको विकास गरी सो सङ्ख्यालाई थप बढाउन सके प्रशस्त अवसर जन्मनेछन् ।

५. निकुञ्जका चुनौती
प्राविधिक कर्मचारीको दरबन्दी रिक्त रहेकाले फिल्डस्तरमा प्राविधिक काम र सरोकारवाला निकायसँग समन्वय गर्न असहज भएको छ । अवैध तरिकाले निकुञ्ज प्रवेशलाई रोक्न कठिन भइरहेको छ ।

६. निकुञ्ज संरक्षण
निकुञ्ज क्षेत्रमा हुन सक्ने अवैध क्रियाकलाप नियन्त्रण गर्न र वन्यजन्तुको सुरक्षाको दृष्टिकोणले संवेदनशील स्थानमा हालसम्म ३० वटा सुरक्षा पोस्ट स्थापना भइरहेका छन् । जसमध्ये निकुञ्ज प्रशासनको १७ स्थानमा र नेपाली सेनाको १३ स्थान तथा संयुक्त सुरक्षा पोस्ट १० स्थानमा स्थापना भई निकुञ्ज क्षेत्रमा हुने गैरकानुनी गतिविधिको नियन्त्रण तथा न्यूनीकरणमा सक्रिय छ ।

  • सरस्वती न्यौपाने