बालाजु–ककनी–पीपलटार–गँगटे–छहरे सडक सातपटक म्याद थप्दा पनि अलपत्र

  • त्रिशूली प्रवाह
  • २६ फाल्गुन २०७८, बिहीबार ११:४२


रानीपौवा: नुवाकोट राजधानी काठमाडौंको नजिक र पटक–पटक अर्थमन्त्री भएको जिल्ला भएर पनि सुविधायुक्त सडक पूर्वाधार नहुँदा ओझेलमा परेको छ । सरकारले सडक पूर्वाधारका लागि सुरु गरेको योजनाको काम समयमा नहुँदा जिल्लावासीले विकास निर्माणको नाममा वर्षौँदेखि सास्ती भोगिरहेका छन् ।


बालाजु–ककनी–पीपलटार–गँगटे–छहरे सडक विस्तार थालेको सात वर्ष बित्यो । तर, निर्माण अलपत्र छ । बर्खामा हिलो र हिउँदमा उड्ने धुलोले वर्षौँदेखि स्थानीयले विकासको नाममा सास्ती भोगिरहेका छन् । निर्माणको नाममा भइरहेको सडक भत्काएर लथालिङ्ग छाडेको कारण स्थानीयले ओहोर–दोहोरमा सात वर्षदेखि कस्ट व्यहोरिरहेका छन् । काठमाडौंको बालाजुदेखि मुड्खुसम्म काठमाडौंको फोहोर ओहोर–दोहोर गर्ने भएकाले सुरुमै कालोपत्रे गरिएको भए पनि अहिले खाल्डा–खुल्डी नपुरेको कारण सडक जोखिमयुक्त रहेको छ । तीनपिप्लेबाट दाहिनेतर्फ ककनी लागेपछि जोडिन्छ पासाङल्हामु राजमार्गको बाटो । त्यहाँ कतै खाल्डा–खुल्डी त कतै ग्राभेल छ । सडकछेउमै घर हुनेलाई सडकले ठूलै सास्ती दिएको छ । हावा लाग्दा माटो-धुलो मात्र होइन, पानी पर्दा हिलो नै घरभित्र पस्ने स्थानीयको गुनासो रहेको छ । दिनमा तीन–चारपटक सफा गर्नुपर्छ । हुँदाछँदाको सडक भत्काए पनि त्यसमा कालोपत्र गरिएको छैन । सडक भत्काउनुभन्दा अघि त्रिशूली जाने बस, माइक्रो पनि मुड्खु, तीनपिप्ले, काउलेथान हुँदै चल्थे । अहिले भने यो बाटो ककनी, रानीपौवा, पैंतीस किलोबजार क्षेत्र जानेबाहेक अरू यातायातका साधन गुड्दैनन् । गल्छी–त्रिशूली–स्याफ्रुबेंसी सडक सुरु भएपछि यो बाटो ओझेलमा परेको पासाङल्हामु राजमार्ग कालोपत्र दबाब अभियानका अभियन्ता आदित्यनाथ श्रेष्ठले बताए । गत फागुन १ र २ मा सडक बनाउन दबाब सिर्जना गर्न सडकमा यातायात रोकेर आन्दोलन गरेर सरकारको ध्यानाकर्षण गराएको उनले बताए । पासाङल्हामु राजमार्ग कालोपत्र दबाब अभियानले विरोधका कार्यक्रम विगत वर्षदेखि नै गर्दै आइरहेको छ । ‘बाटो बिग्रन्छ भन्दै गाडी चलाउन दिएनौँ, असार–साउनमा धान रोपेर विरोध गर्यौ,’ उनले भने, ‘पटक–पटक तीनपिप्लेमा बाटोसमेत बन्द गर्यौ, तर कसैले सुनेनन् ।’


भारतको आरामाली इन्फ्रा पावर लिमिटेड (एआइपिएल) र नुवाकोटको सूर्यगढी गाउँपालिका चोगदेनिवासी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का घरबेटी शारदाप्रसाद अधिकारीको शैलुङ कन्स्ट्रक्सनले संयुक्त रूपमा ०७३ असार ३ मा सक्ने गरी ०७१ जेठ २२ मा यो सडकको ठेक्का लिएको थियो । ३१ करोड चार लाख ६४ हजार रुपैयाँमा ठेक्का सम्झौता भएकामा अहिलेसम्म निर्माण कम्पनीलाई १९ करोड २२ लाख रुपैयाँ भुक्तानी भइसकेको बालाजु–त्रिशूली–छहरे–विदुर सडक विस्तार आयोजनाका प्रमुख गौतम श्रेष्ठले बताए । अहिलेसम्म सातपटक म्याद थप थपिइसकेको छ । गत असोजसम्मको भौतिक प्रगति ५४ प्रतिशत मात्र छ । त्यसपछि उल्लेख्य प्रगति छैन । भारतीय कम्पनीसँग संयुक्त रूपमा ठेक्का लिए पनि यसको मुख्य काम शैलुङले गरिरहेको छ । शैलुङले बालाजु–रानीपौवासम्म १७ किलोमिटर सडकको ठेक्का लिएको हो । रानीपौवा–पीपलटारसम्म ३४ किलोमिटर सडकको ठेक्का भने दिनेशचन्द्र नागार्जुन कोसी एन्ड न्यौपानेले लिएको थियो । तर, निर्माण कम्पनीले समयमै काम नगरेको भन्दै यो ठेक्का ०७७ असारमै तोडिइसकेको छ ।


निर्माण कम्पनी दिनेशचन्द्र नागार्जुन कोसी एन्ड न्यौपानेले उच्च अदालत पाटनमा मुद्दा दर्ता गरेपछि अदालतले असारमै निर्माणको थप काम अघि नबढाउन र कम्पनीलाई कालोसूचीमा पनि नराख्न आयोजनालाई अन्तरिम आदेश दिएको थियो । त्यसपछि यो सडकको काम ठप्प छ । ‘निर्माण व्यवसायीका कामबाट सन्तुष्ट छैनौँ, समयमै सडक नबनाएको भन्दै स्थानीयले सडक बन्द गरिरहेका छन्,’ श्रेष्ठले भने, ‘गरेको काम पनि बिग्रिसकेको छ, कालोपत्र नै उप्किइसकेको छ ।’ निर्माण कम्पनीसँग काम चाँडो सक्न भन्दै पटक–पटक बैठक गरेर छिट्टै काम सक्ने समझदारी भए पनि भनेअनुसार भएको छैन । अब पनि काम नगरे ठेक्का तोड्नुको विकल्प नभएको उनले बताए । समस्या यो सडकमा मात्र होइन, शैलुङ कन्स्ट्रक्सनले जहाँ ठेक्का लिएको छ, सबैजसो सडक अलपत्र छन् ।


कोभिडका कारण काम गर्न नपाएका सबै आयोजनालाई सरकारले चैत मसान्तसम्म म्याद दिएको छ । यो म्यादमा पनि काम नसकिए ठेक्का तोड्नुको विकल्प नभएको आयोजनाले जनाएको छ । अहिले लागत बढेको भन्दै ३५ करोड ८७ लाख १८ हजार रुपैयाँ कायम गरिएको छ । ठेकेदारले राजनीतिक संरक्षण पाएर पटक–पटक म्याद थप्ने काम मात्र गरेको भन्दै स्थानीय, व्यवसायी, जनप्रतिनिधिलगायतले ठेक्का रद्द गर्नुपर्ने माग गर्दै आएका छन् । उक्त निर्माण कम्पनीलाई चैत मसान्तसम्मको समय दिइएको आयोजना प्रमुख गौतम श्रेष्ठले बताए । सार्वजनिकस्थल एवम् सवारीसाधनमा काम नगर्ने ठेकेदारको फोटो टाँसेर स्थानीयले विरोधसमेत गरेका थिए । सडक विस्तार नभएको भन्दै स्थानीयले गत पुसमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादवलाई निर्माणाधीन सडकमै विरोध जनाएका थिए । त्यतिबेला मन्त्री यादवले समयमै काम नगर्ने ठेकेदारको सम्झौता तोड्न आफूलाई कसैले रोक्न नसक्ने बताएकी थिइन् । तर, काम नभए पनि अहिलेसम्म ठेक्का तोडिएको भने छैन । स्थानीयको दबाबमूलक आन्दोलनले गर्दा अहिले ककनी–बालाजु खण्डको सडक मुड्खुबाट ठेकेदारले बनाउन सुरु गरेको छ । स्थानीयले फागुन लागेसँगै काठमाडौंको फोहोर बोकेर आउने गाडी रोकेर आन्दोलनलाई थप सशक्त बनाएपछि सरकारको ध्यानाकर्षण भएको छ । अहिले स्थानीयवासी ठेकेदारले काम गर्न नआएको दिन काठमाडौंको फोहोर बोकेको गाडी रोकेर थप दबाब दिइरहेका छन् ।