आलुको बिउ वितरण

  • त्रिशूली प्रवाह
  • २६ फाल्गुन २०७८, बिहीबार १२:०९



धुन्चे: रसुवाको उत्तरगया गाउँपालिकाभित्रका कृषकको जीविकोपार्जनलाई बढावा दिन आलुको बिउ उपलब्ध गराउन सुरु गरिएको छ ।
आलुखेतीलाई व्यावसायिक बनाई जीवन निर्वाहमा सघाउ पु¥याउन गाउँपालिकाले किसानलाई आलुको बिउ ५० प्रतिशत अनुदानमा तिरू, गोगने, करुम्राङ, सुरुचेतका किसानलाई वितरण गरेको छ । फागुन २१ गते शनिबार वडा नम्बर– १ तिरूबाट पालिकाका प्रमुख उपेन्द्र लम्सालले ७० जना किसानलाई आलुको बिउ वितरण गरेर सुरु गरे । प्रतिकिसानलाई २५ किलोको दरले आलुको बिउ वितरण गरिएको बताइएको छ । वडा नम्बर– १ कै करुम्रुङ, सिरुचेत, काम्लुङका किसानलाई पनि आलुको बिउ वितरण गर्ने तयारी भइरहेको छ । सोमबार पालिकाभित्रका आलु उत्पादन हुने क्षेत्रका सबै किसानलाई आलुको बिउ वितरण भइसकेको छ । उत्तरगया गाउँपालिकाको वडा नम्बर १, ४ र ५ लाई आलुजोन क्षेत्रको रूपमा घोषणा गरिएको छ । उत्तरगया गाउँपालिकासहित कृषि ज्ञान केन्द्र नुवाकोटले यी क्षेत्रमा व्यावसायिक रूपमा आलु खेतीका लागि कृषकलाई आलुको बिउलगायतमा अनुदान दिइरहेको छ ।


चालू आर्थिक वर्ष ०७८/७९ मा गाउँपालिकाको कार्यक्रममार्फत वितरण गरिएको आलुको बिउबाट वडा नम्बर १ का चार सय २० घरधुरीका किसान लाभान्वित हुने बताइएको छ । लेकमा फल्ने उन्नत जातका आलु वितरणले भूकम्पपीडित विस्थापित कृषकलाई व्यावसायिक खेतीतर्फ प्रोत्साहन गराउन गाउँपालिकाको कार्यक्रममार्फत अनुदानमा आलुको बिउ वितरण गरेको पालिकाका प्रमुख लम्सालले जानकारी दिए । वितरण गरिएको आलु उत्पादनबाट कृषकको जीवनस्तरमा सुधार आउने अपेक्षा गरिएकोसमेत उनले बताए । गाउँपालिकाले आलुको बिउ वितरण गरेको भन्दै कृषक खुसी भएका छन् । आगामी दिनमा पनि कृषकलाई प्रोत्साहन गर्ने खालका कार्यक्रम सञ्चालन गर्न स्थानीयले अनुरोध गरेका छन् ।

  • सरस्वती न्यौपाने