सामाजिक सुरक्षाभत्ता र न्यानो कपडा वितरण

  • त्रिशूली प्रवाह
  • २६ फाल्गुन २०७८, बिहीबार १२:१४

धुन्चे: रसुवाको आमाछोदिङ्मो गाउँपालिकाले गाउँपालिकाभित्रका ज्येष्ठ नागरिकलाई घरघरमा पुगी सामाजिक सुरक्षाभत्ता र न्यानो कपडा वितरण सुरु गरेको छ ।


फागुन २० गते शुक्रबारबाट सरकारले प्रदान गर्ने सामाजिक सुरक्षाभत्ता र न्यानो कपडा वितरण कार्य सुरु गरेको हो । ७० वर्षमाथिका ज्येष्ठ नागरिकको सम्मानमा न्यानो कपडास्वरूप फाइबर सिरक, हटब्याक वितरण र वृद्धभत्ता नलिएका ज्येष्ठ नागरिकलाई बैंकका कर्मचारीसहित गाउँपालिका प्रमुख बुचुङ तामाङसहितको टोली घरमा नै पुगी वितरण गरिरहेका छन् । प्रमुख बुचुङ तामाङसहितको टोली खटिएको छ । सम्मान कार्यक्रम गाउँपालिकाको वडा नम्बरको १ हाकुबाट सुरु गरिएको छ । हिमाली जिल्ला रसुवाको उत्तरी भेग बाह्रै महिना चिसो हुने भएकाले पनि न्यानो कपडा वितरण गरिएको प्रमुख तामाङले बताए । गाउँपालिकाको पाँचवटा वडाका चार सय ४४ जनालाई न्यानो कपडा वितरण फागुन महिनाभित्र गरिने अध्यक्षसँग ज्येष्ठ नागरिक सम्मान कार्यक्रमका फोकलपर्सन सन्देश पौडेलले बताए । कुमारी बैंकको समन्वयमा बैंकका कर्मचारी, जनप्रतिनिधि, ज्येष्ठ नागरिकको घरघरमा पुगी सामाजिक सुरक्षाभत्ता वितरण गरिरहेको हो ।