जोखमयुक्त ठूलोढुङ्गा हटाउन सुरु

  • त्रिशूली प्रवाह
  • २६ फाल्गुन २०७८, बिहीबार १२:४४

समुन्द्रटार: नुवाकोटको दुप्चेश्वर गाउँपालिका– १ घ्याङफेदीको नेगीगाउँ बस्तीमाथि रहेको जोखिमयुक्त ठूलोढुङ्गा (पल्सुङ ओडार)लाई नेपाली सेनाको जबरजंग गणले हटाउन सुरु गरेको छ ।


०७२ को भूकम्पको कम्पनले डगमगाएको उक्त ढुङ्गाले हरेक वर्ष स्थान छाड्दै गएपछि जिल्ला विपत् व्यवस्थापन समितिको आग्रहमा सेनाले विस्फोटक पदार्थ प्रयोग गरेर हटाउन सुरु गरेको हो । ढुङ्गाले बस्तीमा जोखिम पु¥याएसँगै स्थानीयको आग्रहमा दुप्चेश्वर गाउँपालिकाले जिल्ला विपत् व्यवस्थापन समितिमा ढुङ्गा हटाइदिन सहयोग मागेको थियो । उक्त ढुङ्गाले नेगीगाउँका ४७ घरधुरी बासिन्दासहित एक आधारभूत विद्यालय जोखिममा परेको प्राविधिक प्रतिवेदनका आधारमा नेपालमा उपलब्ध प्रविधि, स्रोत–साधनको परिचालन गरेर ढुङ्गा हटाउन दुप्चेश्वर गाउँपालिकासँग गरेको सम्झौताअनुसार काम थालिएको जबरजंग गण देवीघाटका गणपति प्रमुख सेनानी अरुण कार्कीले जानकारी दिए । उनका अनुसार प्राविधिक टोली पुगेपछि आवश्यक उपकरण हेलिकोप्टरमार्फत पु¥याएर ढुङ्गा फुटाउने पहिलो ब्लास्टिङ गरिएको हो । मानवीय सहायताबाट हटाउन प्रयास गरे पनि त्यो सम्भव नभएपछि ब्लास्टिङ गरेको उनले बताए । नेपालमा उपलब्ध उपकरणसहित स्रोत, साधनलाई हेलिकोप्टरमार्फत पु¥याई विस्फोटक पदार्थको सहयोगले जोखिम ढुङ्गा हटाउन सुरु भएको प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद रिसालले जानकारी दिए ।


नेपाली सेना र नागरिकबीचको सम्बन्ध थप मजबुद बनाउन प्राप्त जिम्मेवारीको काम सैनिक टोलीमार्फत अघि बढाइएको हो । जबरजंग गणको नेतृत्वमा नेपाली सेनाको एक सयजना सैनिकलाई ढुङ्गा हटाउन दुई महिना लाग्ने अनुमान गरिएको छ । उक्त ढुङ्गालाई स्थानीय तामाङ समुदायले पल्सुङ ओडार भन्ने गरेका छन् । जोखिम ढुङ्गा हटाउन प्रारम्भिक अध्ययनमा एक करोड लाग्ने देखिएको छ । गाउँपालिकासँगको सहकार्यमा नेपाली सेना र प्राविधिक टोलीको स्थलगत अध्ययनमा ढुङ्गालाई विस्फोटक पदार्थको प्रयोग गरेर हटाउन चाहिने सामग्री खरिद, ढुवानी, जनशक्ति र जोखिम बस्तीका बासिन्दालाई स्थान्तरणका लागि एक करोड लाग्ने देखिएको हो । त्यसका लागि सङ्घीय सरकारले २५ लाख, बागमती प्रदेश सरकारले २० लाख र दुप्चेश्वर गाउँपालिकाले ४० लाख उपलब्ध गराइसकेका छन् । अहिले अनुमान गरिएको बजेट ढुङ्गा फुटाउन र त्यसक्रममा हुन सक्ने दुर्घटनाबाट स्थानीयलाई जोगाउन अस्थायी टहरा निर्माण गरेर स्थान्तरणका लागि खर्च गरेको छ ।