‘घरघर जाऔँ, काङ्ग्रेस जिताऔँ’ अभियान सुरु

  • त्रिशूली प्रवाह
  • ६ चैत्र २०७८, आईतवार १२:१०

विदुर, सत्तारुढ दल नेपाली काङ्ग्रेसको एकमहिने ‘घरघर जाऔँ, काङ्ग्रेस जिताऔँ’ अभियान आइतबारदेखि नुवाकोट, रसुवा र धादिङ जिल्लासहित ७७ वटै जिल्लाका सात सय ५३ वटै स्थानीय तहमा केन्द्रीय प्रतिनिधिको उपस्थितिमा सुरु भइरहेको छ

काङ्ग्रेसको स्थानीय तह निर्वाचनकेन्द्रित ‘घरघर जाऔँ, काङ्ग्रेस जिताऔँ’ अभियान नुवाकोटले आइतबार केन्द्रीय प्रतिनिधि मदन अमात्यको उपस्थितिमा सुरु गरेको छ । अभियान लिएर जिल्लाको १२ वटा पालिका, ८८ वटा वडाको घरघर पुग्ने तयारी काङ्ग्रेसले गरेको छ । रसुवा काङ्ग्रेसले आइतबार केन्द्रीय प्रतिनिधि रमा कोइराला पौडेलको उपस्थितिमा जिल्ला कार्यसमितिको बैठक बसेर पाँचवटै पालिका र वडामा अभियान सञ्चालन गर्ने निर्णय गरेको छ । त्यसैगरी धादिङ काङ्ग्रेसले केन्द्रीय प्रतिनिधि डा.गोविन्द पोखरेलको उपस्थितिमा जिल्ला कार्यसमितिको बैठकले १५ वटै पालिकामा अभियानलाई लैजाने निर्णय गरेको छ । अभियानलाई जिल्ला कार्यसमितिले निर्वाचन क्षेत्र, प्रदेश, पालिका र वडा तहसम्म पु¥याउने र पार्टीको एजेन्डाबारे जनतालाई जानकारी दिने, जनस्तरबाट आएको सुझाव सङ्कलन गर्ने रहेको छ ।

नुवाकोट काङ्ग्रेसले गत फागुन २९ गतेदेखि चैत २९ गतेसम्म ‘घरघर जाऔँ, काङ्ग्रेस जिताऔँ’ अभियानअन्तर्गत गर्ने कार्यक्रमको तालिका बनाएर जिल्ला, प्रदेश, क्षेत्र, पालिका र वडा कार्यसमितिलाई परिचालन गरेको छ । नेपाली काङ्ग्रेस कार्यसमितिका सभापति रमेश महतले दिएको जानकारीअनुसार अभियानको अवधिमा एमसिसीबारे जनतामा छरिएको भ्रम चिर्ने, निर्वाचन माहोल बनाउने, तत्कालीन नेकपा नेतृत्वको सरकारले गरेको जनविरोधी कामको भण्डाफोर गर्ने र काङ्ग्रेस नेतृत्वको सरकारले गरेका कामको प्रचार–प्रसार गर्ने उद्देश्य रहेको छ । जिल्ला कार्यसमितिका सचिव वैकुण्ठ मिश्रले बताएअनुसार एकमहिने कार्यक्रम तालिकाअनुसार अभियानको उद्घाटन भइसकेको छ ।

अभियानअन्तर्गत भोलि चैत ४ गते जिल्ला प्रतिनिधिको अभिमुखीकरण, चैत ५ गते जिल्ला कार्यसमितिको बैठक, चैत ७ गते वडास्तरमा जिल्ला प्रतिनिधिको उपस्थितिमा कार्यक्रम गरिने उनले बताए । त्यसैगरी अभियानअन्तर्गत चैत ८ गते ८८ वटै वडामा घरदैलो कार्यक्रम तथा वडाभेला, चैत ९ गते १२ वटै पालिकाका आमसभा, चतत्र २६ गते ४ वटै प्रदेश क्षेत्रमा प्रदेश सभास्तरको आमसभा, चैत्र २८ गते जिल्ला कार्यसमितिको समीक्षा बैठक र चैत २९ गते समापन गर्ने कार्यक्रम रहेको जिल्ला उपसभापति राजु थापाले त्रिशूली प्रवाह साप्ताहिकलाई बताए ।