हाम्रा कुरा : हाम्रोलाई भन्दा राम्रोलाई छानौँ

  • त्रिशूली प्रवाह
  • ६ चैत्र २०७८, आईतवार १३:१२

आजको ५८ दिनपछि दोस्रो स्थानीय तहको निर्वाचन हुनेछ । सरकारले आगामी ०७९ वैशाख ३० गते सात सय ५३ वटै स्थानीय तहको निर्वाचन एकै साथ गर्ने घोषणासँगै निर्वाचन आयोग तयारीमा जुटेको छ । कुनै अदृश्य शक्तिले चलखेल नगरे स्थानीय तहको निर्वाचन आजको ५८ दिनपछि देशैभर हुनेछ ।

निर्वाचनका लागि राजनीतिक दल आ-आफ्नो तयारीमा जुटिरहेका छन् । उम्मेदवार छनोटदेखि मतदातालाई प्रभाव पार्ने कार्यक्रम लिएर गाउँगाउँमा दलको गतिविधि भइरहेको छ । अघिल्लो निर्वाचनमा जितेका पालिका, वडा सुरक्षित राख्दै थप पालिका, वडा जित्ने गरी दलको सक्रियता देखिन्छ । निर्वाचनमा उठाउने उम्मेदवार छनोटका लागि भेला, गोष्ठी, छलफल दलले चलाउन थालेका छन् । अघिल्लो निर्वाचनको प्रतिस्पर्धामा उम्मेदवारले के-के प्रतिबद्धता गरेका थिए ? प्रतिबद्धताअनुसारका काम कति भए ? तिनको गुणस्तरदेखि तिनीहरू जनताको हितमा थिए-थिएनन् ? साधन र स्रोत व्यक्तिगत, नातागत, गुटगत, पार्टीगत लाभका लागि प्रयोग भए-भएनन् ? त्यसको मूल्याङ्कन गर्ने बेला अहिले हो ।

विगतका स्थानीय तहका पदाधिकारी जनताको मूल्याङ्कन, विश्लेषण र समीक्षाको कठघरामा छन् । यो समीक्षा व्यक्ति, गुट, पार्टीको प्रभावबाट नितान्त मुक्त अवस्था र वातावरणमा गर्ने परिपाटी यदि बस्यो भने यसले सुधारका सम्भावनालाई पहिल्याउन सक्छ । आफ्नो पार्टीका व्यक्तिले गरेको गल्ती कत्ति पनि नदेख्ने र विरोधी पार्टीको व्यक्तिले गरेका राम्रा कामको आलोचना गर्ने प्रवृत्तिले गर्दा राजनीतिले जनविश्वास गुमाउँदै गएको छ । राम्रो काम जसले गरे पनि राम्रो र नराम्रो काम आफ्नै पार्टीको व्यक्तिले गर्दा नराम्रो भन्ने संस्कार, पद्धतिको अभावले मूल्याङ्कन, विश्लेषण, समीक्षासमेत स्वच्छ, तटस्थ र निष्पक्ष हुन सकेको छैन । अहिले नेपाली राजनीतिको सङ्कट भनेको राजनीतिमा संलग्न सबैको इमानदारी र विश्वसनीयताको हो ।

विश्वसनीयता र इमानदारीलाई राजनीतिमा पुनस्र्थापित गर्ने मुख्य समस्याको निदानको खोजीको चरणमा नेपाली राजनीति छ । त्यसको निदानको प्रारम्भिक सुरुवातको बिन्दु नै पार्टी नेतृत्वको छनोट हो । पार्टीको नेतृत्व गर्नेहरू स्वच्छ र निष्पक्ष नहुँदासम्म निर्वाचित नेतृत्व निष्पक्ष, स्वच्छ र गुणस्तरीय हुँदैन । उम्मेदवारको छनोट गुणस्तरीय नहुँदासम्म निर्वाचनमा प्रतिस्पर्धा गर्ने उम्मेदवार गुणस्तरीय हुँदैन । प्रतिस्पर्धामै गुणस्तरीय उम्मेदवार भएन भने मतदाताले कसरी गुणस्तरीय उम्मेदवार छनोट गर्ने ? हाम्रो लोकतान्तिक व्यवस्थाको समस्या भनेको स्वतन्त्र उम्मेदवारले जित्न नसक्ने र पार्टीले राम्रो उम्मेदवारको छनोट नै गर्न नसक्ने हो ।

राजनीतिलाई सुदृढीकरण र शुद्धीकरण गर्ने प्रारम्भिक बिन्दु नै स्थानीय तहको निर्वाचनमा प्रतिस्पर्धा गर्ने गुणस्तरीय उम्मेदवारको छनोट हो । सबै पार्टीले आफ्ना उम्मेदवारको छनोटमा स्वच्छता, निष्पक्षता र गुणस्तरीयतालाई प्राथमिकतामा राखे भने मात्रै मतदाताले असल उम्मेदवारलाई मतदान गर्न पाउँछन् । उम्मेदवार नै पार्टीले असल दिएनन् भने निर्वाचनबाट असल व्यक्तिको छनोट कसरी हुन्छ । आवधिक निर्वाचन प्रजातान्त्रिक प्रणालीको प्राण हो । त्यसैले अहिले सबै पार्टीले निर्वाचन आयोगको नियमको बाध्यताका कारण आ-आफ्ना पार्टीको महाधिवेशन गरे । तर, महाधिवेशनले प्रायः सत्ता सञ्चालनको सम्भावना बोकेका पार्टीको नेतृत्व परिवर्तन नभएकाले जनताको परिवर्तनको चाहना अधुरै रह्यो । त्यसैले, सुधारको जबर्जस्त सम्भावना नहुँदा-नहुँदै सुधारको थालनी वर्तमान स्थानीय निर्वाचनको नेतृत्व चयनबाट हुन्छ कि भन्ने जनताको अपेक्षालाई मर्न नदेऊ ।

अहिले जनप्रतिनिधिमा मौलाएको व्यक्तिगत, गुटगत, पार्टीगत स्वार्थ पूरा गर्न हुने भ्रष्टाचार, अनियमितताजस्ता विषयले प्रजातान्त्रिक शासन व्यवस्थाप्रति नै जनतामा वितृष्णा उत्पन्न भएको छ । जनप्रतिनिधिको छनोट र निर्वाचनको निष्पक्षताका विषयमा सुधार गरेर जनताका असन्तुष्टिलाई सम्बोधन भएन भने वर्तमान संविधानको आयु नै छोट्टिने निश्चित छ । त्यसैले सबै पार्टीले अब उम्मेदवार चयनको विषयमा बुद्धिमतापूर्ण निर्णय गर्नुपर्छ । विगतको निर्वाचनमा गरिएका प्रतिबद्धता स्थानीय निकायका जनप्रतिनिधिले पूरा गर्न नसकेका कारण पुराना जनप्रतिनिधिलाई पुनः निर्वाचनको टिकट दिने कामले जनतामा असन्तुष्टि बढ्छ । भलै केही जनप्रतिनिधिले राम्रा कामको थालनी पनि गरेका छन् । तिनीहरूलाई अवसर नदिँदा अन्याय पनि हुन सक्छ ।

सबै पार्टीका नेताको मनस्थिति राम्रो उम्मेदवारको छनोटमा भन्दा आफ्नो उम्मेदवारको खोजीमा तल्लीन हुने अवस्थाले उम्मेदवारको छनोटबाटै सुशासनको सम्भावनालाई तुहाउने अभियानको सुरुवात हुन्छ । यो निर्वाचनमा सबै पार्टीका नेताले हाम्रो उम्मेदवार होइन राम्रो उम्मेदवार छनोट गरेनन् भने देश रसातलतिर जान्छ । हामीले मुहानलाई प्रदूषित गरिरहने र मुहानलाई शुद्धीकरण गर्न वर्तमान शैली र अवधारणालाई परिवर्तन नगरीकन परिवर्तनको लक्ष्य र चाहना किमार्थ पूरा हुँदैन र यो निर्वाचनमा पार्टीका नेतृत्व इमानदार कति बन्छ त्यसैमा जनता र देशको भाग्य, भविष्य, विकास र समृद्धि निर्धारण हुन्छ ।