प्रधानमन्त्री देउवाद्वारा एकै दिन तादी र किस्पाङको प्रशासकीय भवन उद्घाटन

  • त्रिशूली प्रवाह
  • ६ चैत्र २०७८, आईतवार १३:१९

विदुर, प्रधानमन्त्री शेरबहादुर देउवाले एकै दिन नुवाकोटको दुई गाउँपालिकाको हालै निर्माण सम्पन्न नयाँ प्रशासकीय कार्यालय भवन सोमबार उद्घाटन गरेका छन् । सोमबार देउवाले तादी र किस्पाङ गाउँपालिकाको छुट्टाछुट्टै औपचारिक कार्यक्रमबीच प्रशासकीय कार्यालय भवन उद्घाटन गरेका हुन् ।

प्रधानमन्त्री देउवाले तादी गाउँपालिकाको केन्द्र खरानीटारमा निर्माण भएको गाउँपालिकाको प्रशासकीय भवनको उद्घाटन गरेका हुन् । कार्यपालिकाको तीनतले नवनिर्मित भवन कुल चार करोड २९ लाख ७४ हजार रुपैयाँमा तोकिएको समयअगावै निर्माण व्यवसायीले उक्त भवन सम्पन्न गरेको तादी गाउँपालिकाका अध्यक्ष नारायणप्रसाद पाण्डेले बताए । भवन निर्माणका लागि जिल्ला समन्वय समितिबाट एक करोड ६० लाख रुपैयाँ, सङ्घीय सरकारबाट ८५ लाख र बाँकी एक करोड ८४ लाख ४० हजार ६२ रुपैयाँ गाउँपालिकाको लगानी रहेको गाउँपालिका अध्यक्ष पाण्डेले जानकारी दिए । यस्तै, प्रधानमन्त्री देउवाले किस्पाङ गाउँपालिकाको प्रशासकीय भवनको उद्घाटन गरेका छन् । चार करोड ५६ लाख रुपैयाँमा कार्यपालिकाको नवनिर्मित भवन निर्माण गरिएको किस्पाङ गाउँपालिकाका अध्यक्ष छत्रबहादुर लामाले बताए ।

प्रधानमन्त्री देउवाले किस्पाङ गाउँपालिकाको प्रमुख प्रशासकीय भवनको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै स्थानीय तहका जनप्रतिनिधिले पाँच वर्षसम्म गरेको कामको मूल्याङ्कन गरेर मात्रै मतदान गर्न आग्रह गरे । स्थानीय तहको पहिलो निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिको कार्यकाल सकिँदै गएको र नयाँ जनप्रतिनिधि चुन्न वैशाख ३० गते निर्वाचन हुने भएकाले पाँच वर्षको कार्यकालको समीक्षा गरेर मतदान गर्न उनले आग्रह गरेका हुन् । नुवाकोटको किस्पाङ गाउँपालिका र तादी गाउँपालिकाको प्रमुख प्रशासकीय भवनको उद्घाटन गर्न नुवाकोट आएका प्रधानमन्त्री देउवाले मुलुकलाई अझै बलियो र सुदृढ बनाउन अबको स्थानीय तहको निर्वाचन महत्वपूर्ण रहेको बताए । सोमबार नै नुवाकोटको तादी गाउँपालिकामा नवनिर्मित प्रशासकीय भवनको उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले संविधानले लिएको लक्ष्य प्राप्ति र समतामूलक समाज निर्माणका लागि स्थानीय तहको भूमिका महत्वपूर्ण हुने बताए । ‘तीन तहको सङ्घीय शासन प्रणाली लागू भएसँगै संविधानले स्थानीय तहलाई महत्वपूर्ण जिम्मेवारी र अधिकार दिएको छ । त्यसैले संविधानले परिकल्पना गरेको समतामूलक समाज निर्माणका लागि स्थानीय तहको भूमिका महत्वपूर्ण रहेको उल्लेख गरे । प्रधानमन्त्री देउवाले सरकारले काठमाडौं-केरुङ सम्पर्कका लागि छहरे–टोखा सुरुङमार्गसहितको सडक स्तरोन्नतिका लागि सम्भाव्यता अध्ययन गरी निर्माण कार्य सुरु गर्ने प्रतिबद्धतासमेत जनाए ।