माओवादी एक्लै निर्वाचनमा जान्छ : प्रचण्ड

  • त्रिशूली प्रवाह
  • ६ चैत्र २०७८, आईतवार १३:२९

पीपलटार, नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) ले आगामी वैशाख ३० गते हुने दोस्रो स्थानीय तहको निर्वाचनमा एक्लै होमिने तयार रहेको बताएको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले शनिबार नुवाकोटमा प्रेस सेन्टर नेपालले गरेको पत्रकार भेटघाटमा आफ्नो पार्टी एक्लै निर्वाचनमा होमिन तयार रहेको बताएका हुन् ।

सो अवसरमा उनले भने, ‘जनतासामु आफ्नै खुट्टामा उभिएर उच्च प्राथमिकताका साथ निर्वाचनमा जाने पहिलो प्राथमिकता पार्टीको रहेको छ ।’ स्वर्गीय नेता पोष्टबहादुर बोगटीको सालिक अनावरणका लागि नुवाकोट आएका अध्यक्ष प्रचण्डले निर्वाचन मिति नजिकिँदै जाँदा कुनै मन मिल्ने दलसँग गठबन्धनभित्र रहेका राजनीतिक दलसँग तालमेल गर्ने अवस्था आए त्यो पनि स्वीकार गर्न तयार रहेको प्रस्ट पार्नुभयो । ‘निर्वाचनमा हामी एक्लै जान सक्षम छौँ, सोहीअनुसार तयारी पार्टीले गरिरहेको छ,’ अध्यक्ष प्रचण्डले भने, ‘यसो भनिरहँदा गठबन्धनमा रहेका राजनीतिक दलसँगको सहकार्य र चुनावी तालमेलको अवस्थामा त्यो पनि स्वीकार गर्न माओवादी केन्द्र तयार छ ।

पोेष्टबहादुर बोगटी स्मृति प्रतिष्ठानले नुवाकोटको विदुर नगरपालिका-५ पीपलटारमा रहेको जग्गामा पोष्टबहादुर बोगटी स्मृति पार्क निर्माणका लागि स्थानीय, प्रदेश र सङ्घीय सरकारको सहयोग जुटाएर वाल तथा कम्पाउन्ड लगाउने पार्कका लागि र अन्य भौतिक पूर्वाधार निर्माण गरिरहेको छ । पार्कमा निर्माण भएको पोष्टबहादुर बोगटीको ढलोटको पूर्ण कदको सालिक शनिबार अध्यक्ष प्रचण्डले अनावरण गरे । नेता बोगटीको ०७१ भदौ ३० गते ६१ वर्षको उमेरमा हृदयाघात र मस्तिष्कघातका कारण निधन भएको थियो । प्रतिष्ठानको अध्यक्ष हितराज पाण्डेको सभापतित्वमा सम्पन्न कार्यक्रमको सञ्चालन श्रीकृष्ण अधिकारीले र स्वागत सङ्घीय सांसद तथा माओवादी केन्द्रका केन्द्रीय सदस्य हितबहादुर तामाङले गरेका थिए ।

सो कार्यक्रममा सालिक अनावरणपछि अध्यक्ष प्रचण्डले भने, ‘स्व. नेता बोगटी सरल, इमानदार र विलक्षण चरित्रको भएको व्यक्तित्व हुनुहुन्थ्यो,’ उनले भने, ‘पार्टीभित्र नेताहरूबीच अन्तर्विरोध हुँदा पोष्टबहादुर बोगटी बोलेपछि हामी शीर्षस्थ नेताको सातो जान्थ्यो ।’ ‘अन्तर्विरोधको अध्ययन गरेर समाधान गर्न उहाँले बोलेपछि सबै चुपचाप रहन्थ्यौँ,’ उनले भने, ‘बोगटीको निधन नभएको भए माओवादी केन्द्र पटक-पटक विभाजन हुने थिएन ।’ कार्यक्रममा निमन्त्रणा गरिएको भएपनि नेकपा एमालेको कुनै तहको नेताको उपस्थिति देखिएन भने नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसी, डा. रामशरण महत, प्रवक्ता डा. प्रकाशशरण महत, नेकपा एकीकृत समाजवादीका पोलिटब्युरो सदस्य तथा पूर्वसांसद राजेन्द्रप्रकाश लोहनीको उपस्थिति रहेको थियो । उनीहरूले नेता बोगटीले नुवाकोट र समग्र राष्ट्रिय राजनीतिमा पु¥याएको योगदानको चर्चा गरेका थिए ।