त्रिशूली बचतको सदस्यता सेवा केन्द्र विस्तार

  • त्रिशूली प्रवाह
  • २ बैशाख २०७९, शुक्रबार १२:४२

महाँदेवफाँट, नुवाकोट जिल्लाको विदुर नगरपालिका-१ त्रिशूलीबजारमा रहेको त्रिशूली बचत तथा ऋण सहकारी संस्थाले २२औँ वार्षिकोत्सवको अवसरमा स्मार्ट मोबाइल बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ ।

सहकारीले नुवाकोटको बेलकोटगढी नगरपालिका-७ महाँदेवफाँटमा सदस्य सेवा केन्द्र उद्घाटनसँगै बैंकिङ प्रणालीमा आधारित मोबाइल एपको सुरुवात गरेको हो । बेलकोटगढी नगरपालिका-६ का वडासदस्य कालीबहादुर गुरुङले सदस्य सेवा केन्द्रको उद्घाटन गरेका थिए । मोबाइल एपको शुभारम्भ गर्दै सहकारीका अध्यक्ष हरिलाल श्रेष्ठले सहकारीको राष्ट्रिय नारालाई सार्थकता दिँदै सहकारीले मोबाइल बैंकिङको सुरुवात गरेको बताए । सहकारीले विकासोन्मुखको रूपमा स्थापित हुँदै गइरहेको बेलकोटगढी नगरपालिकामा आफ्नो सेवा केन्द्र विस्तार गर्दै लगानीकर्ता, निक्षेपकर्ता तथा सदस्यलाई सेवा सुविधा प्रदान गर्ने बताए ।

आगामी आर्थिक वर्षमा जिल्लाभर सदस्य सेवा केन्द्र विस्तारको अभियानलाई चरणबद्ध रूपमा अघि लगिने उनले जानकारी दिए । मोबाइल एपबाट इन्टरनेट, टेलिफोन, रिचार्ज, बिमा भुक्तानी, बैंक, हवाई टिकटलगायतका भुक्तानीको कारोबार गर्न सकिनेछ । सहकारीले शनिबार नै आफ्ना सदस्यलाई मोबाइल बैंकिङ एपबारे अभिमुखीकरण कार्यक्रम गरेको सहकारीका प्रबन्धक हरिचन्द्र अमात्यले जानकारी दिए । वार्षिकोत्सवको अवसरमा सहकारीले जिल्ला ट्राफिक कार्यालयसँगको समन्वयमा ट्राफिक नियमअङ्कित सूचना बोर्ड जिल्लाका १२ स्थानमा राखेको छ । विदुर नगरपालिका, बेलकोटगढी र ककनी गाउँपालिकाका विभिन्न स्थानमा दुर्घटना न्यूनीकरण गर्न उक्त सूचनाको बोर्ड राखिएको प्रबन्धक अमात्यले जानकारी दिए । विदुर नगरपालिका-१ त्रिशूलीमा केन्द्रीय कार्यालय रहेको सहकारीको दुई हजार ५० जना सेयर सदस्य रहेका छन् ।