नीलकण्ठ स्वमूल्याङ्कनमा देशकै उत्कृष्ट

  • त्रिशूली प्रवाह
  • ८ बैशाख २०७९, बिहीबार १०:४३

धादिङबेँसी, धादिङ जिल्लाको नीलकण्ठ नगरपालिका देशभरिकै उत्कृष्ट नगरपालिका बनेको छ । संस्थागत स्वमूल्याङ्कनमा देशकै उत्कृष्ट नगरपालिका बन्न नीलकण्ठ सफल भएको छ । मन्त्रालयले सार्वजनिक गरेको ०७७/७८ को स्वमूल्याङ्कन रिपोर्टअनुसार नीकलण्ठ नगरपालिका उत्कृष्ट भएको छ ।

नीलकण्ठ नगरपालिकाले ९७ अङ्क पाएको छ । गत वर्ष सबैभन्दा बढी अङ्क पाउनेमा स्याङ्जाको वालिङ नगरपालिका थियो भने दोस्रोमा धादिङको नीलकण्ठ नगरपालिका थियो । अहिले नीलकण्ठ नगरपालिकाले वालिङ नगरपालिकालाई जितेको छ । स्वमूल्याङ्कनका लागि कार्यविधिले विभिन्न १० वटा विषय क्षेत्र निर्धारण गरेको छ । त्यसमा शासकीय प्रबन्ध, सङ्गठन तथा प्रशासन, वार्षिक बजेट तथा योजना व्यवस्थापन, वित्तीय एवम् आर्थिक व्यवस्थापन, सेवा प्रवाह, न्यायिक कार्य सम्पादन, भौतिक पूर्वाधार, सामाजिक समावेशीकरण, वातावरण संरक्षण तथा विपत् व्यवस्थापन र सहकार्य तथा समन्वय छन् । यी छुट्टाछुट्टै विषय क्षेत्रको अलग-अलग पूर्णाङ्क तोकिएको छ । यी प्रत्येक विषय क्षेत्रलाई तीनवटा सूचकमार्फत मूल्याङ्कन गरिन्छ । ती सूचक समग्र स्थिति, प्रक्रियागत स्थिति र परिमाणात्मक स्थिति छन् । समग्र स्थितिमा स्थानीय तहको समग्र अवस्था दर्शाउने सूचक, प्रक्रियागतमा स्थानीय तहको दैनिक प्रशासन र सेवा प्रवाह तथा स्थानीय सरोकारका विषय सम्बोधन हुने खालका प्रक्रियाउन्मुख सूचक र परिमाणात्मकमा तुलना गर्न, मापन गर्न र सङ्ख्यात्मक रूपमा उल्लेख गर्न सकिने प्रकृतिका नतिजामूलक सूचक पर्छन् ।

यी सूचकलाई क्रमशः २१, ३४ र ४५ प्रतिशत अङ्कभार दिइएको छ । स्वमूल्याङ्कन नतिजालाई स्थानीय तहको कार्यसम्पादन सूचकको आधारको रूपमा समेत उपयोग गर्न सकिने व्यवस्था कार्यविधिमा छ । परीक्षामा उत्कृष्ट अङ्क प्राप्त गर्न परीक्षार्थीको स्तर उत्कृष्ट भएजस्तै स्वमूल्याङ्कनको नतिजा पनि उत्कृष्ट काम गर्ने स्थानीय तहले मात्र प्राप्त गर्न सक्ने नगरपालिकाका सल्लाहकार दीपक कोइरालाले बताए । देशभरका सात सय ५३ स्थानीय तहमध्ये स्वमूल्याङ्कनमा ९० भन्दा माथि अङ्क प्राप्त गर्ने नौवटा स्थानीय तह रहेका छन् । धादिङकै ज्वालामुखी गाउँपालिका ९० दशमलव ७५ प्रतिशत अङ्कसहित स्वमूल्याङकनको आठौँ नम्बरमा परेको छ । समग्र स्थिति, प्रक्रियागत स्थिति र परिणात्मक स्थिति मूल तीनवटा आधार स्तम्भ छन् । १० वटा विषयगत क्षेत्रमा स्थानीय तहले गरेको कामको मूल्याङ्कन हुन्छ । कुल सयवटा सूचकको सय अङ्क निर्धारण गरी हरेक सूचकमा भएको प्रगति र त्यसको प्रमाणको आधारमा स्वमूल्याङ्कन प्रणालीमा अङ्क निर्धारण हुने गर्दछ । सय सूचकको कुल सय अङ्कमा स्थानीय तहले हासिल गरेको उपलब्धिलाई प्रविष्ट गरिसकेपछि स्वमूल्याङ्कन प्रणालीबाट स्थानीय तहले प्राप्त गर्ने अङ्क निर्धारण हुनेछ । आर्थिक वर्ष ०७५/७६ मा सङ्घीय मामिला मन्त्रालयले विकास गरेको यो प्रणाली देशका विभिन्न ३७ वटा स्थानीय तहमा नमुना परीक्षण हुँदासमेत नीलकण्ठ नगरपालिका धादिङ उत्कृष्ट भएको थियो । आर्थिक वर्ष ०७६/७७ मा भएको स्वमूल्याङ्कनमा नीलकण्ठ नगरपालिका ९३ अङ्कका साथ देशभरमा दोस्रो स्थानमा रहेको थियो । देशभरका स्थानीय तहको गत वर्षको औसत उपलब्धि ५१ दशमलव ९७ रहेको थियो भने यो वर्ष बढेर ५८ दशमलव ९८ पुगेको छ ।

९० अङ्कभन्दा माथि ल्याउने स्थानीय तहमा नीलकण्ठ नगरपालिका धादिङ ९७, वालिङ नगरपालिका स्याङ्जा ९५, गुर्भाकोट नगरपालिका सुर्खेत ९३ दशमलव २५, फेदीखोला गाउँपालिका स्याङ्जा ९२ दशमलव ७५, खैरहनी नगरपालिका चितवन ९१ दशमलव ७५, म्याग्दे गाउँपालिका तनहुँ ९१ दशमलव ५ र ज्वालामुखी गाउँपालिका धादिङ ९० दशमलव ७५ रहेको छ ।