स्वास्थ्य संस्थालाई निःशुल्क जग्गादान

  • त्रिशूली प्रवाह
  • १५ बैशाख २०७९, बिहीबार ११:०६
  • सरस्वती न्यौपाने

धुन्चे, उत्तरी रसुवाको खाम्जिङ क्षेत्रका स्थानीय बासिन्दालाई प्राथमिक उपचार सेवा सहज बनाउन खाम्जिङ स्वास्थ्य इकाइ भवन निर्माण गर्न दाताले निःशुल्क जग्गादान गरेका छन् ।

स्वास्थ्य इकाइको भवन निर्माणका लागि आवश्यक जग्गादान गर्नेमा गोसाइँकुण्ड गाउँपालिका-३ निवासी ५१ वर्षीय पेम्वा घ्याल्बु तामाङ रहेका छन् । आफ्ना स्वर्गीय पिता घ्याक्पा तामाङ तथा माता ल्हाक्पाबुरी तामाङको सम्झना गर्दै खाम्जिङ स्वास्थ्य इकाइ भवन निर्माण गराउन तामाङले दुई रोपनी जग्गा निःशुल्क दान गरेका छन् । खाम्जिङ क्षेत्रको विकट स्थानमा परेको स्वास्थ्यको समस्या हल गर्न गोसाइँकुण्ड गाउँपालिका अध्यक्ष कैसाङनुर्पु तामाङको पहलमा स्थापना भएको सो खाम्जिङ स्वास्थ्य इकाइको भवन निर्माणका लागि गाउँपालिकाले आवश्यक रकम विनियोजन गराइसकेको र अब छिट्टै भवन तयार हुने सो गाउँपालिका स्वास्थ्य शाखा प्रमुख विमल घिमिरेले बताए ।
सामुदायिक स्वास्थ्य इकाइ स्थापना गरी गाउँपालिका अध्यक्ष तामाङले स्वास्थ्य क्षेत्रमा गरेको योगदान जनहितकारी बन्दै गएको र गाउँपालिकाको नीति, नियममा रही आफूले छिटो, छरितो सेवा प्रदान गराइरहेको घिमिरेले बताए । वन्यजन्तुविज्ञ स्वर्गीय डा. प्रह्लाद याङ्जेन रेडपान्डा पर्यटकीय पदमार्ग क्षेत्रमा बसोवास गर्ने स्थानीय बासिन्दाको साथै पर्यटकसमेतको उपचार सेवा सहज पार्न पवित्र भावले आफ्नी श्रीमती कान्छी तामाङसमेतको सहमतिमा जग्गाको हक स्वामित्व प्रदान गरेको जग्गादाता तामाङले त्रिशूली प्रवाह साप्ताहिकलाई बताए । खाम्जिङ क्षेत्रमा रहेको स्वास्थ्य इकाइले खाम्जिङको साथै वृद्धिम, शेर्पागाउँ, भन्ज्याङ, वाङ्गल क्षेत्रका बासिन्दालाई दैनिक प्राथमिक उपचार गरिरहेको छ ।