जबरजंग र कालीभञ्जन गणले ढुङ्गा हटाए : ढुङ्गा हटाउँदा जोगियो बस्ती

  • त्रिशूली प्रवाह
  • २२ बैशाख २०७९, बिहीबार ११:५७

समुन्द्रटार, नेपाली सेनाले नुवाकोट जिल्लाको दुप्चेश्वर गाउँपालिका-१ नेगी गाउँमाथि रहेको ढुङ्गा हटाएपछि सिङ्गो बस्तीमा हुन सक्ने विपत् टरेको छ । जिल्लाको दुप्चेश्वर गाउँपालिका-१ घ्याङफेदीको नेगी गाउँको बस्तीमाथि रहेको ठूलो ढुङ्गा हटाउन नेपाली सेनाले ‘अपरेसन दुप्चेश्वर’ सञ्चालन गरेको थियो । नुवाकोट जिल्लाको सुराक्षार्थी तैनाथ नेपाली सेनाको जबरजंग गण र काठमाडौंमा रहेको कालीभञ्जन गणले ०७८ फागुन १६ गतेदेखि २०७९ वैशाख १५ गतेसम्म ढुङ्गा फुटाउन अपरेसन सञ्चालन गरेका थिए ।

अपरेसनमार्फत नेपाली सेनाले दुई महिना लगाएर झन्डै २० हजार घनमिटर ढुङ्गा विस्फोट गरी हटाएको जनाएको छ । यससँगै एक सामुदायिक विद्यालयसहित सिङ्गो बस्तीमा हुन सक्ने सम्भावित जोखिम टरेको छ । सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार ०७२ को भूकम्प र त्यसपछिका परकम्पनबाट सो ढुङ्गा बस्तीतर्फ थोरै-थोरै गरी चिप्लिइरहेको पाइएको थियो । उक्त ढुङ्गा हटाउन गत फागुन १४ गते सेनाको कालीभञ्जन गणबाट सहसेनानी सुरेन्द्र थापाको कमान्डमा प्राविधिकसहितको विस्फोट टोली परिचालन गरिएको थियो । गत बिहीबार मात्र २५औँ विस्फोटपछि ‘अपरेसन दुप्चेश्वर’ पूरा गरी बस्ती सुरक्षित गराएको सेनाले जनाएको छ । वर्षाका कारण जमिन सतह कमजोर हुँदा उक्त ढुङ्गा बस्तीतर्फ पल्टिन थालेको भन्दै स्थानीयवासी त्रसित बनेका थिए । ढुङ्गाको तल्लो भेग अर्थात् पूर्व-दक्षिण र दक्षिण-पश्चिममा एक आधारभूत विद्यालयसहित ४७ घरधुरी रहेको छ ।

दुप्चेश्वर गाउँपालिकाका अध्यक्ष योविन्द्रसिंह तामाङले जोखिमयुक्त ढुङ्गा हटाएपछि स्थानीय आ-आफ्ना पुख्र्यौली बस्तीमा भयरहित रूपमा बस्ने अवस्था भएको बताए । नुवाकोट जिल्लाका प्रमुख जिल्ला अधिकारी तथा जिल्ला विपत् व्यवस्थापन समितिका अध्यक्ष नारायणप्रसाद रिसालले ढुङ्गा हटाएसँगै सम्भावित विपत् टरेको बताए । साथै, उनले यस कार्यले सेना तथा नागरिकबीचको सम्बन्ध थप प्रगाढ हुने विश्वाससमेत व्यक्त गरे । गाउँपालिकाको अनुरोधमा ढुङ्गा हटेपछि गाउँपालिकाले अपरेसन समापन कार्यक्रम नेगीमा गरेको थियो । उक्त कार्यक्रममा नेपाली सेना मध्यकमान्ड हेडक्वार्टरका कमान्ड सेनापति उपरथी बाबुराम श्रेष्ठ, बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव रुद्रसिंह तामाङ, श्री नं. ६ बाहिनी अड्डाका बाहिनीपति सहायक रथी रवीन्द्र के.सी., नुवाकोट जिल्लाका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद रिसाल, जबरजंग गणका गणपति अरुण कार्कीसहित सुरक्षा निकायका प्रमुख र स्थानीयवासीको उपस्थिति रहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विनोदकुमार अधिकारीले बताए ।