अध्यक्षबाट राजीनामा दिएर वडासदस्यमा मनोनयन

  • त्रिशूली प्रवाह
  • २२ बैशाख २०७९, बिहीबार १२:००

कालिकास्थान, स्थानीय तहमा बहालवाला रहेका अध्यक्ष/उपाध्यक्ष पुनः उम्मेदवार बनेका छन् । उम्मेदवार हुन कतिपय प्रमुख/उपप्रमुख टिकट नपाएका अवस्थामा आगामी प्रदेश र सङ्घको निर्वाचनमा उम्मेदवार बन्ने आश्वासन पाएका छन् । कतिले बार्गेनिङ गरिरहेका छन् । कोही बागी उम्मेदवार बनेका छन् भने कतिले पार्टी नै परित्याग गरेका छन् ।

रसुवाका पाँचवटा पालिकाका अध्यक्ष/उपाध्यक्षमध्ये कालिका गाउँपालिकाकी बहाल रहेकी अध्यक्ष सीता अधिकारी पौडेलले अध्यक्षबाट राजीनामा दिएर वडासदस्यमा उम्मेदवार बनेकी छिन् । उनी ०७४ को स्थानीय तह निर्वाचनमा कालिका गाउँपालिकाको अध्यक्षमा एमालेको तर्फबाट उम्मेदवार बनेर विजयी भएकी थिइन् । उनले पाँच वर्ष गाउँपालिकाको अध्यक्ष विवादित नभईकन पूरा गरिन् । उनी अहिले कालिका गाउँपालिका-३ बाट वडासदस्यमा उम्मेदवार बनेर घरदैलो गरिरहेकी छिन् । पार्टीले वडासदस्यमै टिकट दिएकाले वडासदस्यको उम्मेदवार बनेको उनले त्रिशूली प्रवाह साप्ताहिकलाई प्रतिक्रिया दिइन् ।