बैंकको कालोसूचीमा रहेका पनि मेयरका उम्मेदवार

  • त्रिशूली प्रवाह
  • २२ बैशाख २०७९, बिहीबार १२:०४

बेलकोटगढी, दोस्रो स्थानीय तह निर्वाचनमा उम्मेदवारी दिएका राजनीतिक दलदेखि स्वतन्त्र उम्मेदवार नुवाकोटमा थरीथरीका रहेका छन् ।

कतै एकै घरमा एउटै परिवारका तीनजनासम्म उम्मेदवार हुनेदेखि पार्टीमा विद्रोह गरेका, गठबन्धन तोडेका उम्मेदवार जिल्लामा रहेका छन् । उम्मेदवार हुन अयोग्य पनि बेलकोटगढी नगरपालिकाबाट मेयर पदमा मनोनयन दर्ता गरेर चुनावी घरदैलो अभियानमा व्यस्त भइरहेका छन् भन्दा पाठक र सरोकारवाला निकायलाई अचम्म लाग्न सक्छ । सरोकारवाला निकायलाई जानकारी नहुन सक्छ । बेलकोटगढी नगरको मेयर पदमा राप्रपाबाट उम्मेदवार रहेका युवराज पाण्डे बैंकको कालोसूचीमा परेका व्यक्ति हुन् । उनले नेपाल बंगलादेश बैंक लि. नुवाकोटबाट ‘मेसर्स पाण्डे कृषि फर्म’को नाममा लिएको ऋणको साँवा, ब्याज नतिरेको कारण कालोसूचीमा परेका हुन् । बैंकले उनको नाम वैशाख १५ गतेको नागरिक दैनिकमा सातदिने सूचना प्रकाशित गरेर धितोमा रहेको चल-अचल सम्पत्ति लिलाम, बिक्रीको प्रक्रिया अगाडि बढाएको छ । बैंकको अनुरोधमा कर्जा सूचना केन्द्रले प्रक्रिया पूरा गरेर उनको नाम कालोसूचीमा राखेको छ । बैंकले धितो लिलामीका लागि दुईपटक सूचना प्रकाशित गरिसकेको छ । निर्वाचन आयोगले मेयर पदका उम्मेदवार पाण्डेको उम्मेदवारी रद्द गर्नुपर्नेमा यो समाचार तयार पार्दासम्म रद्द गरेको जानकारी आएको छैन ।