टिकट खरिद प्रकरणले विदुर काङ्ग्रेसमा हलचल बेलकोट, तारकेश्वर र विदुरमा गठबन्धन दलबीच खटपट

  • त्रिशूली प्रवाह
  • २२ बैशाख २०७९, बिहीबार १२:०८
  • शम्भुराम दाहाल

विदुर, नेपाली काङ्ग्रेसले नुवाकोटको विदुर नगरपालिकामा एक्लै चुनाव लडे जित्ने दाबी गरे पनि अन्ततः पाँचदलीय गठबन्धन गर्न बाध्य भएको छ । काङ्ग्रेसले आफू बलियो भएको दाबी गर्दै आएको विदुरमा गठबन्धनबिना चुनावमा जान नसक्ने निष्कर्ष उम्मेदवारी मनोनयन गर्ने अन्तिम समयमा महसुस गरेपछि केन्द्रमा पाँचदलीय गठबन्धन भए पनि विदुरमा काङ्ग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीबीच जबर्जस्ती तालमेल भयो । तालमेलले काङ्ग्रेस पार्टीमै जीवन समर्पण गरेका नेता/कार्यकर्तालाई निराश बनाएको छ ।

गठबन्धन गर्दा विदुर नगरपालिकाको मेयर पद काङ्ग्रेसको भागमा प¥यो । आफ्नो सम्पूर्ण जीवन काङ्ग्रेस पार्टीका लागि समर्पण गर्ने नेता धु्रव अधिकारीलाई अन्तिम अवस्थामा पाखा लगाइयो । गत ०७४ को चुनाव उनको पक्षमा हुँदाहुँदै पनि काङ्ग्रेसका नेताहरूकै असहयोगले गर्दा पराजित भएका थिए । काङ्ग्रेसले दुई महिनाअघि ‘घरघर जाऔँ, काङ्ग्रेस जिताऔँ’ अभियान धु्रव अधिकारीलाई मेयरमा प्रस्ताव गर्दै एक महिना सङ्गठन सुदृढीकरण ग¥यो । स्थानीय तह निर्वाचन घोषणा भएपछि पनि धु्रव अधिकारीलाई नै मेयर प्रस्ताव गर्दै काङ्ग्रेसका दर्जनौँ छलफल र बैठक विदुरमा भए । मेयरका आकाङ्क्षी अधिकारीसँगै काङ्ग्रेसको जिल्ला कार्यसमितिका कोषाध्यक्ष, महाधिवेशन, महासमिति सदस्य भइसकेको, नुवाकोट निर्माण व्यवसायी सङ्घको दुई कार्यकाल अध्यक्ष रहेका विदुर नगरपालिका-८ का बहालवाला अध्यक्ष रहेका काङ्ग्रेसका युवा नेता फैसिंह तामाङ, जिल्ला कार्यसमिति सदस्य, महाधिवेशन प्रतिनिधि रहिसकेका मोहन खड्का, विदुर नगर समितिका सभापति हरिलाल श्रेष्ठ, महासमिति सदस्य एवम् विदुर नगरपालिकामा गत ०७४ को निर्वाचनमा उपमेयर पदकी प्रत्याशी भएर २२ मतले पराजित गीता अमात्य, मेयरका लागि सबैभन्दा बढी चर्चामा आएको काङ्ग्रेसका नेता ताराबहादुर कार्की र युवा नेता मछिन्द्रनरसिंह प्याकुरेल, काङ्ग्रेस नुवाकोटका निवर्तमान जिल्ला सचिव एवम् कानुन व्यवसायी सुरेन्द्र अधिकारी, विदुर नगरमा गत ०७४ को निर्वाचनमा चर्चामा आएर अन्तिम समयमा मेयरको टिकट नपाएका भरत खड्कालगायत मेयरको टिकट लिने दौडमा थिए । मेयरको टिकट लिने दौडमा शीर्ष नेताहरूलाई पछि पार्दै मनोनयन गर्ने दिन वैशाख १२ गते १२ बजे राजनलाल श्रेष्ठलाई काङ्ग्रेसले विदुरको मेयरमा उठाउने निर्णय ग¥यो । लामो रस्सा-कस्सीबीच मनोनयनकै दिन काङ्ग्रेसले मेयर टुङ्गो लगाएको थियो ।

काङ्ग्रेसले विदुरको मेयरमा गत १४औँ जिल्ला अधिवेशनबाट राजनीतिमा उदाएका व्यवसायी राजनलाल श्रेष्ठलाई उम्मेदवार बनायो । राजनको मेयरको टिकटसँगै विदुर काङ्ग्रेसमा हलचल नै भयो । पाँच दलको गठबन्धनमा विदुरको मेयर काङ्ग्रेसको भागमा परेको छ । मेयरको टिकट लिन राजनले करोडौँ रुपैयाँ चलखेल गरेको मेयरका अन्य आकाङ्क्षी नेताले आरोप लगाएका छन् । उनले टिकट खरिद गर्न करोडौँ रुपैयाँ प्रदेश र केन्द्रीय कार्यसमितिलाई बुझाएको चर्चा विदुरमा भुसको आगोझैँ फैलिएको छ । उक्त आरोपलाई निराधार हो भन्ने आँट राजनले गर्न नसक्दा काङ्ग्रेसको आन्तरिक कलह छताछुल्ल भएको छ । काङ्ग्रेसका केही जिम्मेवार नेताले नगद कारोबार भएको बैंकको नाम र डिपोजिट गर्ने व्यक्तिको नामसमेत सार्वजनिक गर्ने धम्की दिइरहेका छन् । आन्तरिक कलहले गर्दा गठबन्धन दलमा रहेका माओवादी केन्द्र र एकीकृत समाजवादीमा पनि असर परेको छ । विदुर नगरपालिकाको गठबन्धनमा काङ्ग्रेसले मेयरसहित आठवटा वडा र बहुमत वडासदस्य लिएको छ भने माओवादी केन्द्रलाई उपमेयर, तीनवटा वडा र केही वडासदस्य दिएर जबर्जस्ती मान्न बाध्य बनाएको छ । माओवादीले काङ्ग्रेसको भागमा परेको वडा नं.-७ मा गठबन्धनको निर्णयविरुद्ध असन्तुष्टि पोख्दै वडाध्यक्षमा विष्णुबहादुर बोगटीलाई उम्मेदवार बनाएको छ । त्यसैगरी, गठबन्धन दलको अर्को घटक एकीकृत समाजवादीले विदुरको वडा नं.-६ को अध्यक्ष र तीनवटा सदस्य पाएको छ । समाजवादीले वडा नं.-६ मा रामकाजी दीक्षितलाई अध्यक्ष पदमा उम्मेदवार बनाएको छ ।

जिल्लाभरि गठबन्धन गर्न आधा दर्जनभन्दा बढी बैठक बसे पनि अन्तिममा आएर एमालेले जितेको विदुर नगरपालिका, बेलकोटगढी नगरपालिका र तारकेश्वर गाउँपालिकामा मात्र गठबन्धन गर्न र बाँकी नौवटा पालिकामा मित्रवत् प्रतिस्पर्धा गर्ने सहमति भयो । सहमतिअनुसार वैशाख १२ गते मनोनयन गरे पनि काङ्ग्रेसका नेता–कार्यकर्ता र मतदाताले माओवादी र समाजवादीलाई भोट नदिने अभिव्यक्ति चियापसल हुँदै सामाजिक सञ्जालसम्म छरपस्ट पार्न उद्यत् देख्निछन् । गठबन्धन काङ्ग्रेसको उम्मेदवार जिताउन मात्र बनेको हो कि भन्ने महसुस माओवादी र समाजवादीले अहिले गरिरहेका छन् । समाजवादीको भागमा परेको वडा नं.-६ को अध्यक्ष पदमा काङ्ग्रेसले कुनै पनि हालतमा भोट समाजवादीलाई दिन नसक्ने घोषणा वडाका जिम्मेवार काङ्ग्रेसका नेत/कार्यकर्ताले सार्वजनिक रूपमा गरिरहेका छन् । विदुरको १, २, ३, ४, १२ का काङ्ग्रेसका नेता/कार्यकर्ता उपमेयरमा माओवादीलाई भोट नदिने भन्न थालेपछि गठबन्धन दलबीच खटपट सुरु भएको छ । विगतको १० वर्षे सशस्त्र जनयुद्धको क्रममा वर्गीय शत्रुको रूपमा काङ्ग्रेसलाई किटान गरेर गाउँगाउँका सोझा काङ्ग्रेसका नेता/कार्यकर्ता, समर्थक, शुभेच्छुकलाई पाशविक ढङ्गले हत्या गर्ने, आतङ्कित बनाएर गाउँ छाड्न बाध्य बनाउने दल माओवादीसँग काङ्ग्रेसले गरेको चुनावी तालमेल आफ्नै नेता, सहकर्मी, शुभेच्छुक तथा समर्थकको हत्यारालाई स्वागत गर्नु हो भन्दै काङ्ग्रेसमा विद्रोह सुरु भएको छ ।

१० वर्षे सङ्क्रमणकालमा दुःख, कष्ट, मानसिक तनाव भोगेका धेरै काङ्ग्रेसका नेता/कार्यकर्ता, शुभेच्छुक, विदुर, बेलकोट, तारकेश्वरमा समूह बनाएर छलफल सुरु गरिरहेका छन् । गैरकाङ्ग्रेसी पार्टीसँगको सत्तागठबन्धन नरुचाउने समूह काङ्ग्रेसमा भए पनि उनीहरूको कुरालाई नेतृत्वले बेवास्ता गरेपछि विद्रोह गर्न बाध्य भएका छन् । उनीहरू स्थानीय निर्वाचनमा माओवादी र समाजवादीलाई हराउन काङ्ग्रेसको केन्द्रीय नेताकै निर्देशनमा गतिविधि जिल्लामा सञ्चालन गरिरहेका छन् । एकीकृत समाजवादीले विदुरको उपमेयर गठबन्धनसँग माग गरेको थियो । समाजवादीको माग पूरा नभएपछि उपमेयरमा समाजवादीका युवा लोकप्रिय नेता इन्जिनियर रामकृष्ण राजभण्डारीलाई उठाएपछि गठबन्धनमा खटपट रहेको पुष्टि गर्छ । विदुरमा गठबन्धनमा रहेका दलबीचको सहकार्य टुटिसकेको बताउने जमात ठूलै देखिन्छ । काङ्ग्रेसको पेलाई सहन नसकेर माओवादी र समाजवादीका अधिकांश नेता/कार्यकर्ता चुनाव प्रचार-प्रसारमा हिँड्नसमेत छोडिसकेका छन् । चुनाव जितिहालिन्छ भन्दै होटेलमै मतदाताको विवरण जोड-घटाउमा व्यस्त छन् । गठबन्धनमा रहेका दल आफूले पाएको पदका उम्मेदवारलाई चुनाव जिताउन एक्ला-एक्लै हिँड्न थालिसकेका छन् ।

जिल्लाको १२ वटा पालिकामध्ये गत ०७४ को निर्वाचनमा एमालेले जितेको विदुर, बेलकोटगढी र तारकेश्वर पालिकामा मात्र तीनदलीय गठबन्धन रहेको छ । तारकेश्वर र विदुरमा काङ्ग्रेसले प्रमुख, माओवादी केन्द्रले बेलकोटमा प्रमुख, विदुर र तारकेश्वरमा उपप्रमुख पद भागबन्डा गरेका छन् । गठबन्धनको तर्फबाट माओवादीको भागमा परेको बेलकोटको प्रमुखमा जगतबहादुर तामाङ, विदुरको उपप्रमुखमा प्रभा बोगटी र तारकेश्वरको उपप्रमुखमा हरि रिमाललाई उम्मेदवार बनाएको छ । गठबन्धनबाट काङ्ग्रेसको भागमा परेको विदुर नगरपालिकाको प्रमुखमा राजनलाल श्रेष्ठ, तारकेश्वरको प्रमुखमा शिव अधिकारी र बेलकोटगढीको उपप्रमुखमा शिव दाहाल उम्मेदवार रहेका छन् । बेलकोट र तारकेश्वरमा गठबन्धन दलबीच सम्बन्ध विदुरकै जस्तो रहेको गठबन्धन दलमा आबद्ध एक नेताले नाम उल्लेख नगर्ने सर्तमा बताएका छन् । जिल्लाका अन्य नौवटा पालिकामध्ये किस्पाङ गाउँपालिकामा एमाले र माओवादी केन्द्रबीच चुनावी तालमेल स्थानीय कमिटीले गरेका छन् । किस्पाङमा एमालेले प्रमुखसहित तीन वडा, माओवादीले उपप्रमुखसहित तीन वडा र अन्य सदस्य भागबन्डा गरेर उम्मेदवारी दर्ता गराएका छन् । म्यागङ गाउँपालिकामा समेत काङ्ग्रेसको आतङ्क र दबदबाबाट मुक्त हुन एमाले र माओवादी केन्द्रका स्थानीय कमिटी बैठकमा सहभागी भइरहेका छन् । म्यागङमा एमाले र माओवादीले एक्ला-एक्लै उम्मेदवारी दर्ता गराएका भए पनि पद र वडा भागबन्डा गरेर आ-आफ्नो भागमा नपरेको पदमा उम्मेदवार बनेकालाई निष्क्रिय गराउने गरी तालमेल अन्तिम चरणमा पुगेको माओवादीका एक नेताले त्रिशूली प्रवाह साप्ताहिकलाई बताए ।

जिल्लाको दुईवटा पालिका शिवपुरी र सूर्यगढीमा माओवादी केन्द्र र एकीकृत समाजवादले प्रमुख, उपप्रमुखमा तालमेल गरेका छन् । सूर्यगढीमा र शिवपुरीमा समाजवादीलाई प्रमुख, माओवादी केन्द्रलाई उपप्रमुख भागबन्डा गरेर उम्मेदवार दिएका यी दुई दलले अन्य पालिकामा मित्रवत् प्रतिस्पर्धा गर्ने बताएका छन् । जिल्लाको गठबन्धन भएको १० वटा पालिकामा काङ्ग्रेस, माओवादी, समाजवादीले एक्ला-एक्लै उम्मेदवार उठाएर मित्रवत् प्रतिस्पर्धा गरिरहेका छन् । गठबन्धन नभएको जिल्लाको नौवटा पालिका लिखु, शिवपुरी, तादी, दुप्चेश्वर, पञ्चकन्या, ककनी, म्यागङ, किस्पाङ, सूर्यगढीमा काङ्ग्रेस, एमाले, माओवादी केन्द्र र एकीकृत समाजवादीबीच प्रतिस्पर्धा हुने देखिन्छ । लिखुमा राप्रपा पनि प्रतिस्पर्धामा रहेको स्वतन्त्र विश्लेषकले बताएका छन् ।