मेरो राजनीतिक जीवन नगरवासीको सेवाबाहेक कुनै स्वार्थसँग जोडिएको छैन

  • त्रिशूली प्रवाह
  • २२ बैशाख २०७९, बिहीबार १२:४५

सञ्जु पण्डित
विदुर नगरपालिकाको मेयर पदका प्रत्याशी
नेकपा (एमाले)

विद्यार्थीकालमा चौथो महाधिवेशननिकट अनेरास्ववियु छैटौँमा आबद्ध भएर तत्कालीन राज्यव्यवस्था परिवर्तनका लागि होमिएका सञ्जु पण्डितले ०४८ सालमा नेकपा एमालेमा आबद्ध भएयता निरन्तर पार्टीको कार्यकर्ताका रूपमा फरक-फरक जिम्मेवारीमा रहेर काम गरिसकेका छन् । ०७२ सालमा भएको नेकपा एमालेको छैटौँ जिल्ला अधिवेशनमा भूगोलका तर्फबाट सर्वाधिक मत ल्याई जिल्ला कमिटी सदस्यमा निर्वाचित हुँदै सचिवालय सदस्यका साथै केही समय एमाले बागमती प्रदेश कमिटीको सदस्य र गत ०७८ पुसमा सम्पन्न एमालेका सातौँ जिल्ला अधिवेशनबाट पनि सचिवालय सदस्यमा चयन भएका पण्डित अहिले स्थानीय तह समन्वय विभागको संयोजकको जिम्मेवारी पूरा गरिरहेका छन् । ०४६ मा भएको राजनीतिक परिवर्तनपछि भएका स्थानीय निर्वाचनमा सधैँ एमालेले विजय हासिल गरेको विदुर नगरपालिकाको विरासतलाई काँध थाप्न ०७४ सालको स्थानीय तहको निर्वाचनमा उनी नौ हजार सात सय १६ मत ल्याएर मेयर पदमा विजयी भएका थिए । पार्टीको इमानदार सिपाहीका रूपमा विदुर नगरपालिकाको मेयरको जिम्मेवारी पाँच वर्ष पूरा गर्दा उनको नेतृत्वमा नगरपालिकामा विकासका विभिन्न आयामको मानकका रूपमा थुप्रै कोसेढुङ्गा गाड्न सफल छन् । पण्डितलाई आसन्न स्थानीय तहको निर्वाचनमा पनि एमालेले कामको मूल्याङ्कनका आधारमा पुनः मेयर पदमा दोहो¥याएको छ । आफ्नो जितप्रति आश्वस्त रहेका पण्डितसँग चुनाव प्रचार–प्रसारको क्रममै त्रिशूली प्रवाह साप्ताहिकले गरेको सङ्क्षिप्त कुराकानीको अंश :

पार्टीबाट मेयरका झन्डै एक दर्जन आकाङ्क्षीलाई पछि पार्दै उम्मेदवार बन्ने मौका पाउनुभयो नि ?
उम्मेदवारीका विषयमा पार्टीले गर्ने जुनसुकै निर्णय मेरा लागि स्वीकार्य थियो । म व्यक्ति, पार्टी निर्णयका अगाडि केही पनि होइन भन्ने ठान्दछु । तर, पार्टीले मप्रति विवेक पु¥याउँछ भन्नेमा भने म ढुक्क थिएँ । सबै आकाङ्क्षी कमरेड उत्तिकै योग्य र सक्षम नै हुनुहुन्थ्यो । एमाले नेपाली जनताको सच्चा प्रतिनिधि तथा राष्ट्रको अग्रगमन र समृद्धिका निम्ति मुख्य राजनीतिक शक्ति हो । माक्र्सवाद–लेनिनवाद र जनताको बहुदलीय जनवादको सिद्धान्तका आधारमा राष्ट्रिय राजनीतिलाई मार्गदर्शन गरिरहेको यो पार्टी लोकतान्त्रिक आन्दोलनको नेतृत्वदायी शक्ति र कम्युनिस्ट आन्दोलनको मूलधार पनि हो । पार्टीका हरेक कार्यकर्ता त्यत्तिकै इमानदार र जिम्मेवार छन् । पार्टीको नीति र कार्यक्रमलाई स्थानीयस्तरमा लागू गर्ने र जनताको मन जित्ने किसिमका काममा विगतको पाँचवर्षे कार्यकालमा नेतृत्वदायी भूमिका निर्वाह गरेकै कारण पार्टीले मलाई पुनः भरोसा गरेर उम्मेदवारमा उठाउने निर्णय गरेको होला, त्यसको म उच्च सम्मान गर्दछु । नेतृत्वगण र पार्टीप्रति म आभारी पनि छु । तपाईंको अगाडि बोलिरहेछु– मेरो राजनीतिक जीवन नगरवासीको सेवाबाहेक कुनै स्वार्थसँग जोडिएको छैन ।

चुनावी दौडधुपमा हुनुहुन्छ, तपाईंको र अन्य पार्टीका उम्मेदवारबारे कस्तो प्रतिक्रिया पाउनुभएको छ ? गठबन्धनको चर्चा त निक्कै सुनिन्छ नि ?
विदुर नगरपालिकाभित्रका सबै वडाका मतदाताबीच हाम्रो पार्टी र पार्टीका उम्मेदवारप्रति अपार आत्मीयता, उत्साह, सुझबुझ र एकताबद्ध समझदारी पाएको छु । अन्य पार्टीका उम्मेदवार व्यक्तिविशेषबारे मेरो खासै टिप्पणी छैन, गर्नु पनि उचित ठान्दिनँ । यसमा उम्मेदवार व्यक्तिको संस्था र सङ्गठन कुन हो भन्ने नै मुख्य कुरा हो । हामीलाई चुनावी अभियानको क्रममा मतदाताले भनेका छन् – गठबन्धनका उम्मेदवारलाई गठबन्धनमा सामेल पार्टीका सबै मत खस्दैन । सत्तागठबन्धनमा सामेल र नुवाकोटको अन्योलग्रस्त चुनावी तालमेल उनीहरूकै लागि प्रत्युत्पादक हुने निश्चित छ । सत्तागठबन्धनमा सामेल पार्टीको कुल मत ४० प्रतिशत पनि कट्ने सम्भावना नरहेकाले हाम्रो नगरपालिकामा जुनसुकै पार्टीले जहाँजहाँ गठबन्धन गरे पनि केही फरक पर्दैन । किनभने नेपाली काङ्ग्रेसमा जनताको आकर्षण थपिएको छैन । राजनीतिमा प्रतिबद्ध र क्रियाशीलभन्दा पनि एक्कासि पैसाको खेलोफड्को गरेर काङ्ग्रेसको उम्मेदवार बनेकाको विपक्षमा एउटा पङ्क्ति निष्क्रिय रहने निश्चित छ । गत स्थानीय चुनावपछि काङ्ग्रेसबाट बाहिरिने नेता/कार्यकर्ताको सङ्ख्या उल्लेख्य छ । एमाले विभाजित भएकाले काङ्ग्रेस बलियो बनेको छ भनेर गर्ने गरिएको उनीहरूको विश्लेषण नै गलत छ ।
एमालेबाट हाम्रो जिल्लामा माधव नेपालको सानो समूह बाहिरिएको हो । कति मतदाता लिएर त्यो समूह एमालेबाट बाहिरिएको छ भन्ने यकिन गर्नका लागि चुनावी परिणाम पर्खनुबाहेक अर्को विकल्प देखिँदैन । जिल्लामा ऊ आफैँ आफ्नो अस्तित्वरक्षा गर्न सक्ने अवस्थामा छैन, विदुर नगरको त कुरै नगरौँ । तर, जति नेता तथा कार्यकर्ता एमालेबाट बाहिरिएको भनिएको छ, त्योभन्दा बढी नेता–कार्यकर्ता माधव नेपाल समूह र माओवादी केन्द्रबाट हामीमा भित्रिएको अवस्था छ । माओवादी निकै कमजोर भएको छ । प्रमाणितै छ, नेपालको राजनीतिमा अराजकता, अस्थिरता र अवसरवादको पर्यायको रूपमा नेकपा (माओवादी–केन्द्र) देखापरेको छ । पूर्ववर्ती माओवादी पार्टी विभिन्न समूहमा विभाजित भएपछि कायम भएको माओवादी–केन्द्र राष्ट्रिय हित र स्वाभिमानका विषयबाट विमुख भएर सत्ताकेन्द्रित राजनीतिको आहालमा डुब्दा नेता–कार्यकर्ता बाहिरिने क्रम चलेको छ । सत्तारुढ गठबन्धनबीच भएको चुनावी तालमेलले आवश्यकताभन्दा बढी चर्चा पाउनुको एउटै कारण हो– नेकपा एमालेलाई एक्ल्याउने निर्णय । यसपटक एमालेसँग कुनै पनि हालतमा तालमेल नगर्न सत्तागठबन्धनमा सहभागी दलले आफ्ना स्थानीय सङ्गठनलाई निर्देशन दिए तापनि हामीलाई प्रस्ट सूचना छ– गठबन्धनका स्थानीय सङ्गठन, कार्यकर्ता÷नेताहरूले समेत गठबन्धनबारे धावा बोलिरहेको अवस्था छ ।

तपाईं ढुक्क हुने आधार के त ?
जनताको प्रतिनिधिमार्फत विदुर नगरपालिकामा संविधानप्रदत्त हकको कार्यान्वयन, स्थानीय साधनस्रोतको अधिकतम परिचालनद्वारा सेवा प्रवाह र विकास, विपत् व्यवस्थापन र सामाजिक न्यायका क्षेत्रमा महत्वपूर्ण उपलब्धि हासिल गराउन एमाले सफल भएको छ । विदुरमा सुशासन र समृद्धिको संस्थागत जग स्थापित भएको छ । स्थानीय तहको औचित्य र सान्दर्भिकता अकाट्य ढङ्गले पुष्टि गरेका छौँ । यसैको जगमा उभिएर स्थानीय तहको विकास र सुशासनलाई थप उचाइ दिन, सेवा प्रवाहलाई अझ चुस्त बनाउन र समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा कार्यान्वयनलाई लक्ष्यमा पु¥याउन एमाले ताजा जनादेशका लागि फेरि एकपटक नगरवासीको घरआँगनमा आइपुगेको छ । मुलुकको अग्रगतिको यात्रामा बाधक बनेर खडा भएको अपवित्र र अराजनीतिक गठबन्धनबाट यो जिल्ला, नगरपालिका मात्रै होइन मुलुकले नै अविलम्ब मुक्ति खोजेको छ । राजनीतिक अवसरवाद, सत्तास्वार्थ र अनैतिक जगमा खडा भएको यो सरकार जति दिन रहन्छ, मुलुकले थप सङ्कट व्यहोर्नु अनिवार्य छ । सङ्घीयताको कार्यान्वयन, जगैबाट लोकतन्त्रको सुदृढीकरण, आधारभूत तहबाटै विकास तथा समृद्धिका आधार निर्माण गर्ने स्थानीय तहको नेतृत्व एमालेलाई सुम्पेर मात्रै हामी राष्ट्रिय राजनीतिलाई सही बाटोमा फर्काउने कामको सुरुवात गर्न सक्छौँ, तसर्थ लोकतन्त्र, संविधान र जनादेशलाई लिकमा फर्काउन यस निर्वाचनमा एमालेको पक्षमा मतदान गर्न म सम्पूर्ण मतदातामा हार्दिक अनुरोध पनि गर्दछु ।

पाँच वर्ष विदुरको नेतृत्व गर्नुभयो, मुख्य उपलब्धि कसरी बताउनुहुन्छ ?
अनेकौँ प्रतिकूलता, सीमा र कठिनाइका बाबजुद विगत पाँच वर्षमा हाम्रो नेतृत्वमा रहेको विदुर नगरपालिकाको अग्रसरतामा मतदाताले महसुस गर्ने गरी नै महत्वपूर्ण काम भएका छन् । उल्लेखनीय सफलता र युगान्तकारी उपलब्धि प्राप्त भएका छन् । यी कामले नगरवासीको समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा पूरा गर्ने दिशामा महत्वपूर्ण आधार निर्माण गरेका छन् । पूर्वाधारमा फड्को, शिक्षा, स्वास्थ्य र सामाजिक क्षेत्रमा गुणात्मक प्रगति, सामाजिक न्याय र सुरक्षामा उल्लेखनीय उपलब्धि, रोजगारी सिर्जना, सिँचाइ र कृषि, सूचना प्रविधि र सेवा प्रवाहमा अभुतपूर्व विस्तार भएको छ । यी कामको निरन्तरता स्वरूप हामीले प्राथमिकता तोकेर गरिने कामको फेहरिस्त हाम्रो प्रतिबद्धतापत्रमै उल्लेख गरेका छौँ । माथि उल्लेख गरेको प्राथमिकतामा आधारित भएर हाम्रो नगरपालिकामा भौतिक एवम् सामाजिक रूपान्तरण र समृद्धिको अभियानलाई पुनः तीव्र पार्नेछौँ ।

तपाईंको टिमको अबको प्राथमिकता के हुन् त ?
पाँच वर्ष काम गर्न पाएको अवसरले धेरै सिकाएको छ । स्थानीय विकास, सुशासन र समृद्धिका लागि हामी राष्ट्रियस्तरमा पार्टीले अघि सारेका नीति र प्राथमिकताका आधारमा हाम्रो नगरपालिकाको स्थानीय वस्तुगत आधार र आवश्यकताका केन्द्रित रहेर, गुणस्तरीय शिक्षाको आधारका रूपमा प्राविधिक शिक्षाको विस्तार र सामुदायिक विद्यालयमा सुधार, निरोगी नेपाल र स्वस्थ नेपाली अभियान, स्वच्छ खानेपानी : सफा बस्ती र राम्रो आनीबानी, आधुनिक ऊर्जा : उज्यालो पालिका, उन्नत कृषि : किसानको समृद्धि, सहज आवागमनको आधार : दिगो यातायात पूर्वाधार, एकीकृत बस्ती, योजनाबद्ध सहरी विकास : विकसित नगरपालिका, सुरक्षित आवास, औद्योगीकरण र आर्थिक वृद्धि, उद्यमशीलता, रोजगारी सिर्जना र समृद्धिका लागि सहकारी, मौलिक कला र संस्कृति : पर्यटनबाट समृद्धि, सबल राष्ट्रका लागि स्वस्थ्य र सिर्जनात्मक युवा, समानतातर्फको महिला यात्रा, खुसी ज्येष्ठ नागरिक, सुखी बालबालिका, अपाङ्गमैत्री पालिका, जलवायु अनुकूलन र विपत् व्यवस्थापन : विकास र वातावरणबीच सन्तुलन, समुन्नत लोकतन्त्रको आधार : मेलमिलाप, न्याय र मानव अधिकार, संरचनागत तथा कानुनी सुधार र प्रभावकारी समन्वय, संस्थागत सुदृढीकरण : योजनाबद्ध विकासजस्ता कार्यक्रम अगाडि बढाउनेछौँ ।

पाँच दलको गठबन्धनसँग एक्लो एमाले कसरी भिड्न सक्छ ?
गठबन्धनबाट हामी किञ्चित पनि हच्किनुपर्ने अवस्था छैन । तपाईंलाई नै थाहा छ – नुवाकोटमा गठबन्धनको हरिबिजोग भएको । कथनी र करनीमा यसबीचमा धेरै नै अन्तर देखापरिसकेको छ । एमालेको सुदृढ सङ्गठन र व्यवस्थित चुनावी मुद्दा र प्रचार अभियानले गठबन्धनलाई चुनौती दिइरहेको छ । त्यसमाथि कुनै मुद्दा र एजेन्डामा भन्दा पनि यो गठबन्धनको एक मात्र ध्येय भनेको एमालेलाई कमजोर पार्नु हो । गठबन्धन दलभित्रका इमानदार कार्यकर्ता आफैँले भनिरहेछन् कि कुनै बेला दुईतिहाइ बहुमत हासिल गरेको, दुई–दुईपटक बहुमतको सरकार सञ्चालन गरेको र आफूलाई मुलुकको सबैभन्दा पुरानो लोकतान्त्रिक शक्ति दाबी गर्ने काङ्ग्रेस आज कुन हदसम्म वैचारिक स्खलन, राजनीतिक विचलन र पहिचानको सङ्कटबाट गुज्रिरहेको छ । सत्तास्वार्थ र एमालेप्रतिको पूर्वाग्रह, भय र प्रतिशोधको भावनाले यो पार्टी आज जस्तोसुकै दल वा पक्षसँग साँठगाँठ गर्न, सत्ता टिकाउनका लागि जस्तासुकै संस्थामाथि पनि प्रहार गर्न र लोकतान्त्रिक मूल्य, मान्यता र संरचनालाई भताभुङ्ग पार्न उद्यत् देखिएको छ । अर्कोतर्फ, आफूलाई वामपन्थी भन्ने केही व्यक्ति र समूहको वैचारिक स्खलन र राजनीतिक विचलन यो निर्वाचनवरिपरि थप उदाङ्गो हुँदै छ । छँदाखाँदाको वामपन्थी सरकार ढालेर दक्षिणपन्थीको पाउमा लगेर सरकारको नेतृत्व सुम्पनु, मुलुककै नेतृत्वदायी शक्तिका रूपमा स्थापित कम्युनिस्ट आन्दोलनलाई विभाजित गरेर त्यसको एउटा हिस्सालाई काङ्ग्रेस नेतृत्वको मोर्चाभित्र एउटा नामर्द अङ्गका रूपमा विलयन गर्नु र देशमा स्थायित्व र समृद्धिको अभियानलाई धराशायी पार्न भूमिका खेल्ने चरम अवसरवादी प्रवृत्तिका प्रतिनिधि पात्रलाई नगरवासी बौद्धिक मतदाताले नबुझ्ने कुरै छैन । विचारमा दक्षिणपन्थी, अवसरवाद र सङ्गठनात्मक जीवनमा अराजकतावादको प्रतिनिधित्व गर्ने पात्रलाई मतदाताले स्वाभाविक रूपमा अस्वीकार गर्नेमा म ढुक्क छु ।

न्त्यमा मतदातालाई थप केही भन्नु छ ?
अन्त्यमा हाम्रा विगतका अनुभवका आधारमा विदुर नगरवासी जनसमुदायका लागि म र मेरो टिमले जनप्रतिनिधि शासक होइन, जनताको सेवक, सामाजिक जागरण र विकासका अभियन्ताका रूपमा काम गर्नेछौँ । हामी विदुरलाई सुशासन र भ्रष्टाचारमुक्त, सदाचार र सुसंस्कारका हिसाबले नमुना पालिकाको रूपमा थप विकास गर्नेछौँ र कुनै पनि भ्रष्टाचारी, व्यभिचारी, अनियमितता र सार्वजनिक सम्पत्तिको दोहन गर्नेलाई कानुनी कारबाहीको दायरामा पु¥याउन अग्रणी भूमिका खेल्नेछौँ । यी कार्यको सफल कार्यान्वयन गर्नका लागि विदुर नगरपालिकामा नेकपा एमालेको सूर्य चिह्नवाहक उम्मेदवारलाई मतदान गर्न म सबै मतदातालाई अनुरोधसमेत गर्दछु । नगरवासीलाई निराशा बनाउने काम गर्नेछैन ।