मेरो जित सुनिश्चित छ ।

  • त्रिशूली प्रवाह
  • २२ बैशाख २०७९, बिहीबार १२:५२

अम्बिका पौडेल (नेपाल)
विदुर नगरपालिकाको उपमेयर पदकी प्रत्याशी, एमाले

०४५ सालमा रसुवा जिल्लाको माझगाउँमा जन्मिएकी अम्बिका पौडेल (नेपाल) ले नीलकण्ठ क्याम्पसबाट ०६२ सालमा एसएलसी र ०६४ सालमा शिक्षाशास्त्र सङ्कायमा प्लस टु र नुवाकोट आदर्श बहुमुखी क्यापसबाट शिक्षाशास्त्रमा स्नातक गरेकी छिन् । उनको राजनीतिक यात्राको सुरुवात ०६० सालमा नीलकण्ठ बहुमुखी क्याम्पसमा अनेरास्ववियु प्रारम्भिक कमिटीमा सदस्यका रूपमा भएको थियो । सेवाप्रतिको आफ्नो रुचिअनुसार उनले नेपाल रेडक्रस सोसाइटी रसुवा शाखामा लामो समय काम गरेकी थिइन् । विद्यार्थी राजनीतिमा सक्रिय रहिरहेकै अवस्थामा ०७२ सालमा एमाले नुवाकोटको सङ्गठित सदस्यता प्राप्त गरेपछि अखिल नेपाल महिला सङ्घको जिल्ला कमिटी सदस्य हुँदै हाल एमाले नुवाकोट जिल्ला कमिटी सदस्य र निर्वाचन विभागको सहसंयोजकको समेत जिम्मेवारीमा रहेर काम गरिरहेकी छिन् । महिला हक र अधिकारका लागि विभिन्न अभियान र आन्दोलनमा सक्रिय सहभागिता जनाउनुका साथै महिला सहकारी र समूहमा आबद्ध रहेरसमेत उनले काम गरेकी छिन् । आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा नेकपा एमालेका तर्फबाट विदुर नगरपालिकाको उपमेयर पदकी प्रत्याशी पौडेल औधी महत्वका साथ लिइएको यस चुनावमा पार्टीले आफूलाई युवाको प्रतिनिधि पात्रको रूपमा प्रस्तुत गरेको बताउँछिन् । आगामी निर्वाचनका सन्दर्भमा त्रिशूली प्रवाह साप्ताहिकले उनीसँग चुनाव प्रचारको मैदानमै गएर कुराकानी गरेको थियो । कुराकानीका केही अंश :

तपाईं राजनीतिमा एक्कासि देखिनुभो नि त ?
यो कुरा बजारमा पनि मैले सुनेकी छु । म राजनीतिमा भर्खरै आएकी होइन । म विद्यार्थी जीवनबाटै राजनीति सुरु गरेकी व्यक्ति हुँ ।अनेरास्ववियुबाट सुरु गरेको मेरो राजनीतिक यात्रा जिल्लाका विभिन्न क्षेत्र हुँदै यहाँसम्म आइपुगेको छ । अहिलेसम्म मैले राजनीति र समाजसेवा नै गरेँ । मेरो जीवन खुला किताब हो, सबैले पढ्न पाउँछन् । मैले पैसा नै कमाउन चाहेको भए अन्य काम गर्थेँ नि । त्यसकारण मेरो उद्देश्य पैसाभन्दा पनि विशुद्ध समाजसेवा नै हो र म जनप्रतिनिधि बनेर पनि सेवा नै गर्ने हो । म यो समाजका लागि जन्मेकी हुँ, विशुद्ध सेवा गर्नका लागि म नगरको उपप्रमुखमा आउन खोजेकी हुँ । मेरो विगत हेर्दा हुन्छ, कतै कुनै दाग लागेको छैन । त्यसकारण सबै उम्मेदवारभन्दा म मात्र योग्य छु भन्ने लाग्छ । मलाई अझ सेवा गर्ने अवसर विदुरवासीले दिनुहुनेछ । यो निर्वाचनमा युवाको ठूलो पङ्क्तिले पहिलोपल्ट मताधिकारको प्रयोग गर्दै छ । स्थानीय सरकार सञ्चालन गर्ने सङ्कल्पसहित कैयौँ युवा उम्मेदवारका रूपमा खडा छन् । लामो समयसम्म लोकतान्त्रिक प्रक्रिया अवरुद्ध हुँदा नेतृत्व विकासको स्वाभाविक प्रक्रियामा क्षति पुगेको सन्दर्भमा युवाको व्यापक सहभागिताले लोकतन्त्र जीवन्त हुने तथा जनताले गतिशील नेतृत्व पाउने अवस्था सिर्जना भएको छ । यस अवसरमा मताधिकार प्रयोग गर्न लागिरहेका सम्पूर्ण युवासहित मतदातालाई स्वागत अभिवादन गर्दै स्थानीय सरकार सञ्चालनमा सामेल हुने अवसरका रूपमा मैले मेरो उम्मेदवारीलाई लिएकी छु ।

यो उम्मेदवारीलाई के कारणले प्रेरित ग¥यो ? राजनीतिलाई कसरी बुझ्न थाल्नुभयो ?
विदुर नगरपालिकालाई रोजगार युवाको क्षेत्र, पर्यटन र सांस्कृतिक केन्द्र बनाउने मेरो सङ्कल्प छ । अव्यवस्थित सहरीकरणले विदुरको मुहार बिगारिरहेको छ । घर, वास त चाहिन्छ । तर, घरवासको क्षेत्र र खेतीपाती, पार्क, बालउद्यान क्षेत्रको प्लानिङ राम्रो बनाउने मेरो एजेन्डा छ । कृषि, पर्यटन, उद्योगमा प्रशस्त सम्भावना भएर पनि जति हुनुपथ्र्यो, काठमाडौंको नजिक भएर पनि विदुरमा त्यति हुन सकिरहेको छैन । यसको मतलब केही पनि भएन भन्ने होइन । विगतमा हाम्रो पार्टीले नेतृत्व गर्ने अवसर पाउँदा हाम्रा जनप्रतिनिधिले असल कामको सुरुवात गरेका छन् । तर, अझ धेरै गर्नु छ । म ती कामलाई निरन्तरता दिन प्रदेश र सङ्घीय सरकारसँग मिलेर काम गर्न पहल गर्नेछु । राष्ट्रिय राजनीतिका सन्दर्भमा, राजनीति परिवर्तन भएको छ । मेरो अनुभवमा राजनीतिमा विकृति, विसङ्गति बढेको छ । राजनीतिक परिवर्तनप्रति युवाको उदासीनताको अन्त्य गर्नुपर्छ । रोजगारीको समस्या छ । युवालाई हाम्रो नगर वा जिल्लामै अवसरको सिर्जना गर्नुपर्छ । देशमा लोकतन्त्र त आयो, तर सँगसँगै यसमा फोहोर विकृति पनि आयो । त्यसकारण अहिलेको राजनीतिक नेतृत्वले त्यो सफा गर्नुपर्छ । हाम्रो राजनीति दोहनको राजनीति भइरहेको छ । दोहनको राजनीतिलाई जनमोहित अर्थात् जनतालाई मोहित गर्ने बनाउनु छ ।

कत्तिको स्वस्थ प्रतिस्पर्धा छ ? नगरको निर्वाचनमा आर्थिक चलखेल बढ्ने गर्छ नि ।
म स्वस्थ प्रतिस्पर्धामा विश्वास गर्छु । राजनीतिमा विकृति भित्रिएको छ । चुनाव असाध्यै खर्चिलो भएको छ । प्रारम्भिक चरणमै विदुर नगर क्षेत्रमा पनि प्रतिद्वन्द्वीबाट निकै खर्च भएको भन्ने कुरा सुनेकी छु । म स्वस्थ प्रतिस्पर्धाको पक्षमा छु । मेरा प्रतिस्पर्धीलाई स्वस्थ प्रतिस्पर्धा गर्न आग्रह गर्छु । म नाम लिन चाहन्न, तर केही उम्मेदवार खर्चको बलमा चुनाव जित्छु वा विदुर कब्जा गछु भनेर हिँडिरहनुभएको छ । त्यो भ्रममा नपर्न म उहाँहरूलाई आग्रह गर्छु । चुनाव भनेको मिसनका रूपमा हुनुपर्ने हो । मिसन भनेको आदर्श, निष्ठा र न्यूनतम खर्चका साथ हुनुपर्ने हो । तर, खर्चका आधारमा जित्ने उम्मेदवारको दौड चलिरहेको छ । अनावश्यक खर्च होइन, न्यूनतम खर्च मात्रै गरेर पनि जनताको विश्वास लिन सकिन्छ भन्ने एकप्रकारको परीक्षा गर्न पनि म आएकी छु । विदुर नगरपालिकामा काङ्ग्रेस, माओवादी र समाजवादीको अपवित्र गठबन्धनलाई जनताले रुचाएका छैनन्, त्यसकारण मेरो जित सुनिश्चित छ । मलाई काङ्ग्रेस र समाजवादीले पनि भोट दिनुहुन्छ ।

तपाईंले जित्ने आधार के–के छन् ?
जित्ने आधार भन्नुपर्दा सङ्गठन नै हो । हाम्रो पार्टी गुटरहित सङ्गठन रहेको छ । पार्टीले सबैतिर मिलाएर समावेशी तरिकाले उम्मेदवार उठाएको छ । त्यसै पनि एमाले पार्टीप्रति जनताको आशा-भरोसा बढेको छ । मेरो इमानदारिता र क्षमता देखेर नै पार्टीले पनि मलाई उपमेयरको उम्मेदवारमा अगाडि सारेको छ । पार्टीको केन्द्रीय र स्थानीय घोषणापत्रका आधारमा विकासका एजेन्डा लिएर जनता माझ जाँदै छु । निवर्तमान नेतृत्वले गरेका कामको निरन्तरताको वचनबद्धतासहित हामी जनता माझ गइरहेका छौँ । मतदाताले न्यानो माया र स्वागत गरिरहनुभएको छ, हौसला बढाइरहनुभएको छ । प्रगतिशील लोकतान्त्रिक पद्धतिप्रति निष्ठावान र विकासप्रेमी व्यक्तिले आफ्नो निष्ठाको मूल्याङ्कन र आफ्नो मानसपटलमा भएका आफ्नो गाउँठाउँ सुहाउँदो विकासको मोडेल लागू गरेर मातृभूमिको ऋण तिरेर विश्राम लिन खोज्नुलाई अन्यथा मानिनुहुँदैन । म आफू पनि त्यसबाट टाढा छु भन्दिनँ । त्यसका लागि उपयुक्त ठाउँ भनेको जनप्रतिनिधि भएर राज्यको स्रोत र साधन परिचालन गर्न सक्ने हैसियतमा पुग्नु नै हो । मैले त्यो मौका प्राप्त गरेँ भने र त्यसमा खरो उत्रेँ भन्ने आत्मबोध मलाई छ । मेरो पार्टीले मलाई सिकाएअनुसार म प्रगतिशील संस्कृतिमा विश्वास गर्छु । विदुर सधैँ नै लोकतन्त्रका प्रगतिशील, वामपन्थी शक्तिको गढ रहेकाले, यहाँका मतदाताले विवेक प्रयोग गर्नेछन् । सङ्घीय चुनाव, प्रदेश चुनाव र प्रतिनिधिसभा चुनाव के हो ? यहाँका मतदातालाई थाहा छ । यो विवेकी जिल्ला हो । स्थानीय चुनावबाट त झन् पाठ लिएर सबै भोट वामपन्थीका लागि केन्द्रित गर्ने अवसर हो । पुराना पाका मानिसले मलाई राम्रोसँग चिन्नुहुन्छ । अहिलेका युवाले पनि चिनिसक्नुभएको छ । उहाँहरूको मप्रतिको विश्वास नै मेरो जितको आधार हो । यिनै मेरा जित्ने आधार हुन् ।

तपाईंका चुनावी एजेन्डा के–के छन् त ?
विदुर नगरपालिकाको बजार क्षेत्रलाई सफा-सुग्घर र व्यवस्थित बनाउने मेरो पहिलो प्राथमिकता हुन्छ, बाटोको अवस्था, पार्किङ, ढुवानीका साधन, मर्मतसम्भारका वक्र्ससपले बजार जाम परिरहेको अवस्था छ । जथाभावी फोहोरले विदुर कुरूप छ, पहिलो नम्बरमा यो व्यवस्थित गर्नेछु । यो सहरलाई व्यवस्थित गर्ने जिम्मा हामी जनप्रतिनिधिको हो र जनताले यसलाई पूर्ण साथ दिनुपर्दछ । परम्परागत रूपमा चलेको विदुरलाई आधुनिकीकरण गर्न सकिएन, आधुनिक सहर बनाउने हाम्रो प्राथमिकता रहनेछ । विदुर नगरपालिकाका १३ वटा वडाका धेरै जनता गुणस्तरीय शिक्षा, स्वस्थ, स्वच्छ खानेपानी, विद्युत्बाट वञ्चित छन् । धेरैले पाए होला, अझै निम्न वर्गका नागरिकले पाउन सकेका छैनन् । हामी निर्वाचित भएको दुई वर्षभित्र सबै नागरिकलाई स्वच्छ पानी र घरघरमा रोजगारीको अवस्था सिर्जना गर्ने लक्ष्य छ । प्रत्येक वडाका प्राथमिकतालाई हामीले हाम्रो चुनावी घोषणापत्रमै उल्लेख गरेका छौँ । माध्यमिक शिक्षासम्म स्थानीय सरकारले हेर्छ । तर, सामुदायिक विद्यालयको गुणस्तर बढाउने विषयमा विगतमा राम्रा पहल भएका छन् । हामी यसमा थप सुधार गर्छौँ र घरघरमै ज्येष्ठ नागरिक भत्ता, घरघरमै ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण, उपचार गर्ने स्वास्थ्यका योजना ल्याउनेछौँ । सबै वडामा स्वास्थ्य केन्द्रलाई थप व्यवस्थित गर्नेछौँ । नगरको देवीघाट, उत्तरगया, नुवाकोटको साततले एवम् भैरवी मन्दिरलगायतका पर्यटकीयस्थल छन् । कतिपय स्थानमा होमस्टेको विकास गरी पर्यटन प्रवद्र्धन गर्नेछौँ ।