एमालेको जिल्ला नेतृत्वलाई नैतिक सङ्कट !

  • त्रिशूली प्रवाह
  • १२ जेष्ठ २०७९, बिहीबार १२:२१
  • सीताराम बोगटी

दोस्रो स्थानीय तह निर्वाचनको मतपरिणाम सार्वजनिक भइसकेको छ । यसपटक निर्वाचनमा सत्तागठबन्धन दल नेपाली काङ्ग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी र जनमोर्चाको तालमेलले सोच्दै नसोचेको नतिजा आयो । यो निर्वाचनमा राजनीतिक रूपमा सबैभन्दा बढी क्षति नेकपा एमालेलाई भएको छ ।

देशैभरि क्षति व्यहोरेको एमालेलाई नुवाकोटमा बिउ जोगाउने हम्मेहम्मे प¥यो । १२ वटा पालिकामा प्रमुख–उपप्रमुखमध्ये एउटा पालिकामा प्रमुखमा चित्त बुझाउन बाध्य एमालेका नेता–कार्यकर्ता अहिले निर्वाचनको समीक्षा गर्नभन्दा एक–अर्कालाई दोषारोपण गरेर आफू पन्छिन खोजेको देखिन्छ । पाँचदलीय गठबन्धनले नुवाकोटमा तय गरेको कतिपय योजनालाई विफल तुल्याउन एमाले असफल रह्यो जसका कारण आफ्नो अस्तित्व जोगाउनै सकेन । माओवादी जिल्लामा गठबन्धनको सबैभन्दा बढी लाभ लिन सफल भएको छ । गठबन्धनले लगभग ८५ प्रतिशत पालिकाको नेतृत्व लिन सफल भयो । चुनावी परिणाम हेर्दा माओवादी एक्लैले जिल्ला समन्वय समिति बनाउन सक्ने भएको छ । एमालेले नुवाकोटमा आठभन्दा बढी स्थानीय तहमा जित्छौँ भनेर पार्टी केन्द्रमा नेतृत्वले रिपोर्ट पेस गरेको थियो । एमालेको जिल्ला नेतृत्वले गरेभन्दा फरक परिणाम आउँदा नेतृत्व किंकर्तव्यविमुढ बनेको छ । नुवाकोट एमालेका लागि यो चुनौतीपूर्ण राजनीतिक घडी हो । तथापि, एमालेबाट टुक्रिएको एकीकृत समाजवादी पार्टीको हैसियत पनि जिल्लामा लगभग शून्य नै हुने देखियो । जिल्लाको यसपटकको निर्वाचन परिणाम आमअपेक्षाभन्दा निकै फरक आएको छ ।

नुवाकोटको जिल्ला नेतृत्व, वैचारिक रूपमा स्पष्ट मतदाताबाहेक अन्य मतदाताको मत कता जान्छ भन्ने कुराको अनुमान गर्न पूर्णतः असफल रह्यो । त्यसमाथि गठबन्धनले छरेका भ्रमका कारणले सर्वसाधारण मतदाता भ्रमित भए । त्यो भ्रमबाट मतदातालाई मुक्त बनाउन एमालेका जिल्लालगायत पालिका र वडा तहका नेतृत्व असफल भए । निर्वाचन परिचालनको जिम्मा लिएका नेतृत्वले सङ्गठनको वस्तुस्थितिको यथार्थभन्दा पनि मनगढन्ते रिपोर्ट बनाएर प्रदेश र केन्द्रमा पठाए । नेतृत्वले मतदातालाई सचेत गर्न अत्यावश्यक थियो कि थिएन हेक्का राख्नै सकेन । मतदाताको मनस्थिति थाहा पाउन र उनीहरूलाई सचेत बनाउन उनीहरूसँगको भेटघाट, उठबस नियमित रूपमा बढाउनुका साथै उनीहरूको सोच्ने शैली र चिन्तन प्रणाली अनि उनीहरूमाथि पर्ने प्रभाव र दबाबको सूक्ष्म विश्लेषण गर्न एमालेले सक्नुपर्दथ्यो । नेकपा एमाले नुवाकोटको नेतृत्वपङ्क्ति, अहिलेको स्थानीय निर्वाचन पनि देश, जनता र जनजीविकाका पक्षधर पार्टी, गठबन्धन र व्यक्तिलाई विजय गराउने कि त्यसका विरोधी पार्टी, गठबन्धन र व्यक्तिलाई विजय गराउने भन्नेमा केन्द्रित गर्नबाट पूरै चुक्न पुगेको छ । न त यसले पार्टीभित्र निर्वाचन परिचालनसम्बन्धी योजना नै बनायो, न त नेतृत्वपङ्क्ति र आफ्ना जनसङ्गठनलाई सम्बन्धित क्षेत्र, इलाका र मतदान केन्द्रमा खट्नका लागि निर्देशन नै दिन सक्यो ।

स्थानीय निर्वाचन प्रयोजनका लागि एमालेको टिकट प्रकरण पनि निकै विवादास्पद र चर्चाको विषय रह्यो । पार्टीले टिकट दिँदा स्थानीय कार्यकर्ताको सिफारिसबेगर भूगोलको चाहनाविपरीत निर्णय गरिने काम भयो । कमिटी पद्धति र निर्णय कार्यान्वयनको धज्जी उडाउने काम भयो । पारिवारिक विरासत, आसेपासेलाई पुरस्कृत गर्न आफ्नै गुटको मात्र हितस्वार्थ, अहिलेको नेतृत्व पंक्तिको दम्भ र जिल्लाको राजनीतिक परिस्थितिका आधारमा चुनावी तयारी गर्र्नुभन्दा पनि आफ्नाका लागि टिकट दिलाउन नेताहरू नै लागेको चर्चा कार्यकर्ताकै पङ्क्तिमा व्याप्त रहेको छ । बदलिँदो आवश्यकतालाई बेवास्ता गर्ने आफ्ना पार्टीका उम्मेदवारविरुद्ध विपक्षको योजनामा चल्ने अराजनीतिक संस्कार नुवाकोट एमालेभित्र पनि झाँगिँदो छ । यसले उम्मेदवार स्वयम्, पार्टी कार्यकर्ता र मतदातालाई आक्रोशित र प्रतिक्रियात्मक बनाएको छ । दिनभरि चुनाव प्रचारमा हिँडेजस्तो गर्ने बेलुका पार्टीको उम्मेदवार हराउन सक्रिय हुने केही नेता पनि देखियो । नुवाकोट एमालेभित्र विचार र कार्यक्रमले भन्दा पनि धन र बहुबलको शक्तिले घर गर्न थालेको, पार्टीका महत्वपूर्ण निर्णय प्रक्रियामा विधि, विधानभन्दा पनि स्वार्थ समूहको हाली–मुहाली चल्न थालेको चर्चा सुरु भएको छ । टिकट वितरणमा पक्षपातपूर्ण निर्णय गरिएको र टिकट हत्याउन आर्थिक चलखेलसमेत भएको चर्चा एमालेवृत्त र बाहिर पनि व्यापक छ । सहजै अनुमान गर्न सकिन्छ – यसको प्रभाव र परिणाम यो निर्वाचनमा पनि प्रस्टै देखियो ।

स्पष्ट छ, जिल्ला नेतृत्वको अदूरदर्शिता र नेतृत्व क्षमताको बिकुलै अभावका कारण अहिलेको यो निर्वाचन परिणामका लागि एमाले नुवाकोटको नेतृत्व नैतिक सङ्कटमा परेको छ । किनभने नयाँ पालिकामा आफ्नो जित र वर्चस्व बढाउन त परै जाओस्, आफूले ०७४ सालको स्थानीय निर्वाचनमा जितेका तारकेश्वर गाउँपालिका, बेलकोटगढी नगरपालिका नराम्ररी गुमाएको छ भने विदुर नगरपालिकामा प्रमुख, उपप्रमुखबाहेक केही आशातीत परिणाम हासिल गरेको छ । यो परिणाम र अवस्थाका लागि वर्तमान नेतृत्वको राजीनामाको मागसमेत उठ्न थालिसकेको छ । उम्मेदवारको आफ्नै राजनीतिक दूरदृष्टि वा परिपक्व नीति, योजनाको भन्दा पनि आफ्नो स्वार्थ समूहभन्दा बाहिरका उम्मेदवारलाई भित्रभित्रै हराउने रणनीति बनाउन नेता नै लागेको कार्यकर्ताको आरोप छ । पराजित उम्मेदवार नै घात–अन्तर्घातको शृङ्खलालाई बढाउने चर्को आरोप–प्रत्यारोप गर्न थालेका छन् । आफू जित्ने आफ्नै पार्टीका अर्को उम्मेदवारलाई भने हराउने अराजक र आत्मघाती प्रवृत्ति बेलकोटगढी, तारकेश्वरमा देखियो भने योजनाबद्ध ढङ्गले एउटा पङ्क्ति नै विदुर नगपालिकाका मेयर–उपमेयर हराउन लागेको विषयले एमालेका इमानदार नेता–कार्यकर्ता शोकमग्न छन् । यस्तो प्रवृत्तिले सधैँ चाकडी, चाप्लुसी, अराजकता र आपराधिक मानसिकताको पक्षपोषण मात्र गर्छ । पार्टीले भने सधैँ घाटा व्यहोरिरहनुपर्ने हुन्छ र आफ्नैका कारण पार्टीको छवि र साख कमजोर हुँदै जाने खतरा एमालेमा बढ्दो छ ।

यो निर्वाचनमा उम्मेदवार बनेका पात्र र तिनले गरेका अस्वाभाविक गतिविधिले कतै या नुवाकोट एमालेको राजनीति यसको नियन्त्रणबाट बाहिर जान्छ कि भन्ने सन्देह पैदा गरेको छ । यसर्थ, यो निर्वाचनमा एमालेका लागि दिएको सन्देश, सम्भावना र चुनौतीलाई गम्भीर रूपमा लिएर अबको राजनीतिक गतिविधि गर्न एमालेका नेतालाई दिशानिर्देश गरेको छ । अब नुवाकोट एमालेलाई तत्काल आत्मसमीक्षा गरेर आफ्नै उमेदवार, पार्टीका कार्यकर्ता र मतदाताले भोट कसले कसलाई कुन चिह्नमा दियो भनेर अनावश्यक विवाद गरेर समय र सामथ्र्य दुरुपयोग गर्ने समय छैन किनभने अब भोलिका दिनमा हुने निर्वाचन भ्रम, प्रभाव, दबाब र प्रलोभनमा नपरी कसरी स्वतन्त्र र निष्पक्ष अनि लोकतान्त्रिक र प्रगतिशील बनाउने र परिणाम आफ्नो पक्षमा पार्ने भन्ने प्रश्नमा केन्द्रित भएर एमालेले चिन्तन गर्नुपर्ने देखिन्छ । नुवाकोट एमालेका लागि सिक्ने पाठ छ, यस्ता निर्वाचन दलको प्रतिस्पर्धात्मक राजनीति र पार्टीलाई रोजेर जनप्रतिनिधि बनाउन पाउने स्वस्थ मताधिकारको पद्धति होइन, खुराफाती, तिकडमकारी चुनावतन्त्रभित्र कैद भइसकेको एउटा ‘बिचरो’ र निरीह अवधारणा मात्रै हो भन्ने कुरा चिर्न आगामी दिनमा ऊ कसरी अगाडि बढ्छ ? राजनीतिक वृत्तभित्र चलेको चर्चा हो यो

त्यसैले राजनीतिक तथा संवैधानिक स्थिरतासहित समृद्ध नेपाल, सुखी नेपाली बनाउने राष्ट्रिय सङ्कल्प पूरा गर्न सक्ने परिपाटी स्थापना गर्न जनस्तरबाट योगदान गर्नुपर्ने भएको छ । जसले नयाँ पुस्ताको भविष्य उज्ज्वल बनाउँदै देशले जित्ने राजनीतिक माहोल बनाउन मद्दत गर्नेछ । त्यसैले एमालेले भोलिका दिनमा आफ्ना नेता÷कार्यकर्ता मात्र होइन, शुभचिन्तकलाई वैचारिक प्रशिक्षणका गतिविधिमार्फत उनीहरूलाई वैचारिक रूपमा बलियो बनाउँदै राजनीतिलाई पेसा बनाएर शक्ति आर्जन गर्दै धनोपार्जन गर्न खोज्ने अवसरवादी वर्गलाई कमजोर बनाउनुपर्ने भएको छ । राजनीति जनताको सेवा गर्ने मुख्य माध्यम बनाउने हो भने विचारमा आधारित दलीय समीकरण बन्ने र चुनावी गठबन्धन बनाउने अभ्यासले प्राथमिकता पाउनुपर्छ भन्ने मान्यता बलियो बनाउँदै स्थापित गर्नुपरेको छ । राजनीति मुलुकको शासन-सत्ता सञ्चालन गर्ने मूल नीति हो । यो नै राज्य सञ्चालनको वैधानिक आधार हो । तसर्थ, राजनीति जति शुद्ध र विकासमुखी हुन्छ नागरिकले लोकतन्त्रको फल त्यति नै बढी पाउन सक्दछन् । दलीय शासन पद्धतिमा राजनीतिको आधारस्तम्भ राजनीतिक दल नै हुन्छन् । राजनीतिक दल जति सबल, सुशासित र विकासप्रेमी हुन्छन् मुलुकको राजनीति त्यति नै सही दिशामा अघि बढ्न सक्दछ । नुवाकोट एमालेले यो पाठ सिकोस् र आफुलाई सच्याओस् ।

सत्तासीन गठबन्धनको वरिष्ठ साझेदार रहेकाले आफ्ना आन्तरिक किचलोका बाबजुद चुनावी तालमेलको सबभन्दा बढी लाभ नेपाली काङ्ग्रेसले पाएजस्तो देखिँदै छ । एमालेमा विलय भएर अस्तित्वसमेत गुमाइसकेको माओवादी भुइँ तहमा आफ्नो स्वतन्त्र उपस्थिति जनाउन सफल भएको छ । आफैँले लामो जीवन बिताएको राजनीतिक मञ्चबाट वैचारिक असहमतिले गर्दा छुट्टिएर दह्रोसँग खुट्टा टेक्न सक्नुलाई एकीकृत समाजवादीको सफलता ठह¥याउन सकिन्छ । निर्वाचनजस्तो स्वस्थ प्रतिस्पर्धा हुनुपर्ने र जनताको मन जित्नुपर्ने अभ्यासमा समेत साम, दाम, दण्ड, भेद प्रयोग गरेर भए पनि विजयी हुनैपर्ने प्रवृत्तिले लोकतन्त्रलाई संस्थागत गर्दैन । आचरण, भाषण, विचार, एजेन्डा, घोषणापत्र, प्रतिबद्धता सबैतिर ओज गुमाएका नेता अचेल लोकरिझ्याइँका लागि एक-अर्काप्रति तुच्छ वाणी प्रहारमा, घृणा फैलाउने वाक्युद्धमा तल्लीन छन् । आफू ‘ठूलो’ देखिन अरूलाई ‘सानो’ देखाउनु सुसंस्कृत राजनीति हुँदै होइन । यो चुनावले राष्ट्रिय राजनीतिमा क्रियाशील दल, अझ तिनको नेतृत्वप्रति, आममतदाताको बढ्दो मोहभङ्ग प्रदर्शित गरेको छ । दलले उम्मेदवारको छनोटमा युवाका प्राथमिकता र युगको पदचापलाई आत्मसात् गर्न नसक्दा राजधानी काठमाडौंमा बालेन्द्र साह प्रकृतिका उम्मेदवारमाथि ‘असन्तुष्टिको मत’ पोखिएको छ ।