रसुवामा गोला तान्दा एमाले विजयी नुवाकोट र धादिङमा गठबन्धन

  • त्रिशूली प्रवाह
  • २ असार २०७९, बिहीबार १६:०६
  • सरस्वती न्यौपाने

विदुर, रसुवाको स्थानीय तह निर्वाचनअन्तर्गतको जिल्ला समन्वय समितिको शनिबार सम्पन्न निर्वाचनमा नेपाली काङ्ग्रेस र नेकपा एमालेको मत बराबर भएपछि गोलाप्रथा गरेर अन्तिम मतपरिणाम घोषणा गरिएको थियो । गोलाप्रथा गर्दा नेकपा एमालेका प्रमुख र उपप्रमुखका उम्मेदवार विजयी भएका हुन् ।

स्थानीय तहअन्तर्गत रसुवा जिल्ला समन्वय समितिको प्रमुख र उपप्रमुखमा एमालेका अशोककुमार घिमिरे तथा विजय लामा विजयी भएका छन् । मुख्य निर्वाचन अधिकृत राजेन्द्र नेपालका अनुसार जिल्ला समन्वय समितिको सदस्य पदमा एमालेका उम्मेदवार खुवाप्रसाद पौडेल, कामी छिरिङ तामाङ, देशीरानी तामाङ तथा नेपाली काङ्ग्रेसका उम्मेदवार कारतोक लामा, सविता गुरुङ, खिलबहादुर न्यौपाने र दलित तथा अल्पसङ्ख्यक सदस्यमा नेपाली काङ्ग्रेसकै पार्वती विश्वकर्मा भएका छन् । पाँचवटा गाउँपालिका रहेको रसुवा जिल्ला समन्वय समितिको निर्वाचनमा एमाले र काङ्ग्रेसका उम्मेदवारको मतपरिणाम बराबर आएकाले गोलाप्रथाबाट अन्तिम परिणाम घोषणा गरिएको थियो । स्थानीय तहका सबै पदको निर्वाचन कार्य शनिबारदेखि सम्पन्न भएको मुख्य निर्वाचन अधिकृत नेपालले जानकारी दिए । अध्यक्ष र उपाध्यक्षले मात्रै मतदान गर्न पाउने भएकाले मत बराबर आएपछि गोलाप्रथाद्वारा कार्यसमिति चयन गरिएको बताइएको छ । पाँचवटा गाउँपालिका रहेको रसुवा जिल्लामा पालिकाको अध्यक्ष तथा उपाध्यक्षमा एमाले र काङ्ग्रेसले पाँच-पाँच सिट जितेका थिए ।

यस्तै, नुवाकोट जिल्ला समन्वय समिति नुवाकोटको निर्वाचनमा सत्तागठबन्धनका उम्मेदवार सर्वसम्मत विजयी भएका छन् । शुक्रबार सम्पन्न निर्वाचनमा जिसस प्रमुखमा नेकपा माओवादी केन्द्रका रजिन्द्रविक्रमसिंह ठकुरी (पञ्चकन्या गाउँपालिका वडा नम्बर-४ बाट निर्वाचित सदस्य) निर्विरोध निर्वाचित भएका छन् । काङ्ग्रेस र माओवादीबीचको गठबन्धनको तर्फबाट मनोनयन दर्ता गराएका जिल्ला समन्वय प्रमुख, उपप्रमुख र सातजना सदस्य निर्विरोध निर्वाचित भएका हुन् । जिससमा अन्य कसैको उम्मेदवारी नपरेपछि मुख्य निर्वाचन अधिकृतको कार्यालयले निर्विरोध निर्वाचित भएको घोषणा गरेको थियो । समन्वय समितिको उपप्रमुखमा नेपाली काङ्ग्रेसका दलबहादुर तामाङ (विदुर नगरपालिका वडा नम्बर-१३ बाट निर्वाचित सदस्य) सर्वसम्मत निर्वाचित भएका छन् । सर्वसम्मत निर्वाचित घोषणा भएसँगै निर्वाचित प्रमुख, उपप्रमुख र सदस्यले शुक्रबार नै पदभारसमेत ग्रहण गरेका थिए । नौ सदस्य रहेको जिल्ला समन्वय समितिमा गठबन्धनले भागबन्डा गर्दा नेपाली काङ्ग्रेसलाई उपप्रमुखसहित पाँच सदस्य र नेकपा माओवादी केन्द्रलाई प्रमुखसहित चार सदस्य भागमा परेको छ ।

जिल्ला समन्वय समितिमा प्रमुख एकजना, उपप्रमुख एकजना, महिला सदस्य तीनजना, दलित वा अल्पसङ्ख्यक सदस्यबाट एकजना र खुला सदस्यमा तीनजना गरी नौजना निर्वाचित भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले प्रकाशन गरेको तालिकाअनुसार उम्मेदवारले मनोनयन दर्तासँगै उनीहरू नै निर्विरोध भएका हुन् । अरू राजनीतिक दलबाट कसैको पनि उम्मेदवारी नपरेका कारण मतदानसम्म पुग्नु नपरेको हो । उम्मेदवारको अन्तिम नामावली प्रकाशनसँगै उनीहरू निर्वाचित भएको घोषणा भएको थियो । त्यस्तै, खुला सदस्यमा नेपाली काङ्ग्रेसबाट एकजना र माओवादी केन्द्रबाट दुईजना निर्वाचित भएका छन् । तीनजना खुला सदस्य रहने व्यवस्थानुसार नेपाली काङ्ग्रेसको तर्फबाट राजेन्द्र श्रेष्ठ, नेकपा माओवादी केन्द्रको तर्फबाट मोहन पुडासैनी र रामचन्द्र पौडेल निर्विरोध निर्वाचित भएका छन् । पुडासैनी बेलकोटगढी नगरपालिका-३ बाट निर्वाचित वडासदस्य हुन् । राजेन्द्र श्रेष्ठ लिखु गाउँपालिका-४ बाट वडासदस्यमा निर्वाचित हुन् भने रामचन्द्र पौडेल विदुर नगरपालिका-१२ बाट वडासदस्यमा निर्वाचित भएका हुन् ।

तीनजना महिला सदस्यमा नेपाली काङ्ग्रेसबाट दुईजना र माओवादी केन्द्रबाट एकजना निर्वाचित भएका छन् । काङ्ग्रेसको कोटामा सन्तोषी देवकोटा र सम्झना सेढाईं रहेका छन् । देवकोटा विनपा-५ बाट वडासदस्यमा निर्वाचित हुन् भने सेढाईं ककनी गाउँपालिका-७ बाट निर्वाचित वडासदस्य हुन् । त्यस्तै, माओवादी केन्द्रको कोटामा किस्पाङ गाउँपालिका-१ बाट निर्वाचित वडासदस्य धनमाया विश्वकर्मा महिला सदस्य पदमा निर्वाचित भएकी हुन् । काङ्ग्रेसको कोटामा किस्पाङ गाउँपालिका-५ बाट वडासदस्य रहेकी कान्छी सुनार दलित वा अल्पसङ्ख्यक सदस्यमा निर्वाचित भएकी छिन् । २४ मतदाता रहेको समन्वय समितिमा काङ्ग्रेस र माओवादीबीचको गठबन्धनको मात्रै २३ सिट रहेको छ । एक सिट नेकपा एमालेको रहेको छ । दुई दलबीचको गठबन्धनले मनोनयन दर्ता गराएसँगै अरूको मनोनयन परेको थिएन । निर्वाचन प्रक्रिया टुङ्गिनुपर्ने भएकाले कार्यतालिकाअनुसार मुख्य निर्वाचन अधिकृतको कार्यालयले निर्विरोध निर्वाचित भएको शुक्रबार मात्रै घोषणा गरेको थियो ।

यस्तै, धादिङ जिल्ला समन्वय समिति धादिङको आइतबार सम्पन्न निर्वाचनमा पाँचदलीय गठबन्धनका उम्मेदवार निर्विरोध निर्वाचित भएका छन् । निर्वाचित जनप्रतिनिधिले आइतबार शपथग्रहण गरेका छन् । जिससमा निर्वाचित सबै जनप्रतिनिधिले शपथ लिएकै दिन पदभारग्रहण पनि गरेका छन् ।