सशस्त्र प्रहरी जवान आधारभूत तालिम सम्पन्न

  • त्रिशूली प्रवाह
  • ९ असार २०७९, बिहीबार १२:२९

ककनी, सशस्त्र प्रहरी बल, नेपाल युएन शान्ति स्थापना तालिम शिक्षालय ककनीमा सशस्त्र प्रहरी जवान आधारभूत तालिमको दीक्षान्त कवाज समारोह सोमबार सम्पन्न भएको छ ।

गत ०७८ सायन १ गतेदेखि सुरु भएको तालिम सोमबार समापन भएको छ । तालिममा सहभागी एक सय १५ जनामध्ये चारजनाले तालिम गर्न नसकेको र सातजनाले तालिम छोडेका थिए । एक सय चारजना प्रशिक्षार्थीले तालिम सफलतापूर्वक सम्पन्न गरेका छन् । ३४ हप्ता प्रशिक्षण अवधि रहेको तालिमलाई पहिलो चरणमा १७ हप्ता र दोस्रो चरणमा १७ हप्ता गरी दुई चरण विभाजन गरी सञ्चालन गरिएको तालिम शिक्षालयका निमित्त समादेशक सहायक प्रहरी उपरीक्षक तीर्थराज पौडेलले सो अवसरमा जानकारी दिए । देश र जनताप्रति सधैँ समर्थित रही सेवा तथा सहयोगको भावना लिई साङ्गठानिक एवम् पदीय दायित्व बहन गर्न सक्षम, अनुशासित, साहसिक र कर्तव्यनिष्ठ बनाई फौजी सीप एवम् कौशल भरिपूर्ण व्यावसायिक सशस्त्र प्रहरी जवान उत्पादन गर्ने लक्ष्यका साथ तालिम सञ्चालन गरिएकोसमेत उनले बताए ।

दीक्षान्त समारोहका प्रमुख अतिथि, सशस्त्र प्रहरी बल, नेपाल नं. ९ पशुपतिनाथ बाहिनीका सशस्त्र प्रहरी नायव महानिरीक्षक बाहिनीपति वंशीराज दाहालले कवाजको निरीक्षण गरी सलामी ग्रहण लिएका थिए । उनले सो समारोहलाई सम्बोधन गर्दै मुलुकको शान्ति र सुरक्षाको अवस्थालाई मजबुत बनाउँदै सशस्त्र प्रहरी बलप्रतिको राज्य र नागरिकको भरोसालाई उच्च बनाउन नागरिकप्रति सेवाभावलाई निरन्तर मूल मन्त्रको रूपमा लिएर अघि बढ्न निर्देशन दिए । तालिममा सर्वोत्कृष्ट प्रशिक्षार्थी रमेश तामाङ, चाँदमारीतर्फ प्रथम हुने सरोज नेपाली र सहिश्रुष्णतातर्फ प्रथम हुने रूपेश कार्की, अनुशासनतर्फ उत्कृष्ट सुमन श्रेष्ठलाई प्रमुख अतिथिले पुरस्कार वितरण गरेका थिए । कार्यक्रममा प्रशिक्षार्थीले खुकुरी कवाज प्रदर्शनी गरेका थिए ।

सो कार्यक्रममा नुवाकोटका सहायक प्रमुख जिल्ला अधिकारी वेदप्रसाद अर्यालसहित जिल्लाका सुरक्षा निकायका प्रमुख एवम् प्रतिनिधि जिल्लास्थित कार्यालयका प्रमुख, नुवाकोट उद्योग वाणिज्य सङ्घका अध्यक्ष ताराबहादुर कार्की, उद्योगी, व्यवसायी एवम् प्रशिक्षार्थीका अभिभावकको उपस्थिति रहेको थियो । प्रमुख, सशस्त्र प्रहरी बल, नेपाल युएन शान्ति स्थापना तालिम शिक्षालय नुवाकोट जिल्ला ककनी गाउँपालिका-५ को पर्यटकीयस्थल ककनीमा रहेको छ । तालिम केन्द्र ककनी काठमाडौं उपत्यकाबाट २७ किलोमिटर उत्तर-पश्चिम दिशामा समुद्री सतहबाट करिब २०२० मिटर उचाइमा रहेको छ । तालिम शिक्षालयको स्थापना हुनुअगाडि ०४० सालमा नेपाल प्रहरीको दीपेन्द्र प्रहरी आवासीय माध्यमिक विद्यालयको स्थापना भई ०४२ सालमा सो विद्यालय काभ्रे जिल्लाको साँगामा स्थानान्तरण गरी नेपाल प्रहरीको तालिम महाविद्यालयको रूपमा स्थापित रहेकोमा ०५८ साल वैशाख १ गते सशस्त्र प्रहरी बल तालिम महाविद्यालय सञ्चालनका लागि नेपाल प्रहरीबाट हस्तान्तरण भएको थियो ।

०६५ सालमा सशस्त्र प्रहरी बल एकेडेमी स्थापना भई सञ्चालन हुँदै आएकोमा एकेडेमी मातातीर्थ काठमाडौंमा स्थानान्तरण भएपश्चात् ०६८ साल मङ्सिर २२ गते सशस्त्र प्रहरी बल युएन शान्ति स्थापना तालिम केन्द्रको रूपमा स्थापना भएको थियो । ०७५ साउन १३ गतेदेखि सशस्त्र प्रहरी बल, नेपाल युएन शान्ति स्थापना तालिम शिक्षालय नामकरण भई कार्य गर्दै आइरहेको छ । तालिम शिक्षालयले व्यावसायिक सशस्त्र प्रहरी कर्मचारी उत्पादन, संयुक्त राष्ट्र सङ्घमा परिचालित हुने सशस्त्र प्रहरी कर्मचारी उत्पादन, संयुक्त राष्ट्र सङ्घमा परिचालित हुने सशस्त्र प्रहरी कर्मचारीलाई दक्ष एवम् व्यावसायिक बनाई उच्चस्तरको कार्य सम्पादन गर्न सक्ने जनशक्ति उत्पादन गर्दै आइरहेको शिक्षालयका निमित्त समादेशक सशस्त्र प्रहरी उपरीक्षक तीर्थ पौडेलले जानकारी दिए ।