गोसाइँकुण्ड-चौतारी सहकारीको सेवा केन्द्र विस्तार

  • त्रिशूली प्रवाह
  • ९ असार २०७९, बिहीबार १२:४७
  • सुनील श्रेष्ठ

महादेवफाँट, गोसाइँकुण्ड-चौतारी बहुउद्देश्यीय सहकारीले बेलकोटगढी नगरपालिका-७ महादेवफाँटमा आफ्नो दोस्रो सदस्य सेवा केन्द्र शनिबार विस्तार गरेको छ ।

तारकेश्वर गाउँपालिकाका उपाध्यक्ष हरिप्रसाद रिमालले सहकारीको सेवा केन्द्रको उद्घाटन गर्दै सहकारीले बचत र ऋण मात्रको कारोबार नगरी भुइँमान्छेमा पनि सहकारीको अवनत्व ग्रहण गर्न सक्ने कार्यक्रम तथा सेवा विस्तार गर्न सुझाव दिए । सहकारीले तल्लो वर्गका जनताको स्तरोन्नति, जीवनस्तर माथि उकास्न परिवर्तन ल्याउने कार्य गर्ने स्थानीय तह र सरकारले अपेक्षा गर्ने बताए । सहकारीका अध्यक्ष इन्द्रबहादुर पण्डितले महादेवफाँट त्रिदेशीयद्वारको रूपमा रहेको र सहरोन्मुख स्थान भएको हुनाले स्थानीयको व्यावसायिक, जीविकोपार्जन तथा सीपोन्मुख क्षेत्रमा टेवा पु¥याउन सहकारीको लक्ष्य रहेको बताए । सहकारीले कार्यक्षेत्र विस्तारसँगै जिल्लाका १२ वटै स्थानीय तहमा सेवा पु¥याउने उद्देश्यले सेवा केन्द्र स्थापना गरिएको सहकारीका अध्यक्ष पण्डितले सो अवसरमा जानकारी दिए ।

तीन हजार पाँच सय सेयरधनी रहेको सहकारीको तीन करोड १६ लाख १७ हजार दुई सय सेयर रकम रहेको सहकारीका उपाध्यक्ष बाबुराम लामिछानेले जानकारी दिए । चालू आर्थिक वर्षको वैशाखसम्ममा १४ करोड ६० लाख बचत सङ्कलन र २० करोड ऋण रहेको छ । यसअघि गोसाइँकुण्ड र चौतारी सहकारीबीच मर्जरपछि विदुरमा सहकारीले पहिलो सेवा केन्द्र सञ्चालनमा ल्याएको थियो । सहकारी र सेवा केन्द्रमार्फत बचत तथा ऋणको साथै सेवा, निर्धन उत्थान कार्यक्रमसँगै रेमिट्यान्स सेवा पनि सञ्चालन हुने जनाएको छ ।