सम्बन्धविच्छेदको मुद्दा बढ्यो

  • त्रिशूली प्रवाह
  • १९ श्रावण २०७९, बिहीबार १४:५१
  • सरस्वती न्यौपाने

धुन्चे, विगतका वर्षको तुलनामा गत आ.व. ०७८/७९ मा रसुवा जिल्लामा सम्बन्धविच्छेद गर्नेको सङ्ख्या बढिरहेको छ । सम्बन्धविच्छेदको मुद्दासमेत अदालतमा बढ्दै गएका छन् ।

विगतका आर्थिक वर्षको तुलना गर्दा रसुवा जिल्ला अदालतमा दायर भएका देवानी तथा फौजदारीसमेत विभिन्न ६४ थान मुद्दामध्ये ५० प्रतिशतभन्दा बढी सम्बन्धविच्छेदको रहेको छ । आ.व. ०७७/७८ मा २९ जनाले मात्रै सम्बन्धविच्छेद गरेका थिए भने आ.व. ०७८/०७९ को तथ्याङ्क हेर्दा यो सङ्ख्या बढेर ३५ पुगेको छ । विगतको तुलनामा यस एक वर्षको अवधिमा २० दशमलव ६८ प्रतिशतले सम्बन्धविच्छेद गर्नेको सङ्ख्या वृद्धि भएको रसुवा जिल्ला अदालतले सार्वजनिक गरेको तथ्याङ्कले पुष्टि गर्छ । जिल्ला अदालतमा जबर्जस्ती करणी, चोरी, ठगी, ज्यान मार्ने उद्योग, सवारी ज्यान, अपहरण, जग्गा किचलोजस्ता विविध प्रकारका मुद्दा दायर भएका थिए । विगतको जिम्मेवारी सरेका र गत वर्ष दायर भएकासमेत ९९ मुद्दा विचाराधीन रहेकोमा ५९ थान फस्र्योट भइसकेको अदालतका स्रेस्तेदार उपसचिव मुना अधिकारी ढकालले जानकारी दिइन् । अदालतमा अझै ४० वटा फैसला प्रक्रियामा रहेकोसमेत उनले बताइन् ।