खानेपानीको बिल संगम स्मार्ट एपबाट

  • त्रिशूली प्रवाह
  • २६ श्रावण २०७९, बिहीबार १३:३८

बट्टार, संगम बचत तथा ऋण सहकारी संस्था लि. को मोबाइल एपमार्फत खानेपानीको बिल भुक्तानी अनलाइनबाट गर्न सकिने भएको छ । अबदेखि विदुर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका उपभोक्ताले आफ्नो मासिक खानेपानीको बिल ‘संगम स्मार्ट एप’मार्फत भुक्तानी गर्न सक्नेछन् ।

सहकारीका अध्यक्ष नारायण श्रेष्ठले बताएअनुसार सहकारीले क्यासलेस कारोबार अवधारणाअनुसार मोबाईल एपमार्फत् सहकारीका सदस्यले विदुर खानेपानीको बिल तिर्न सकिने सेवा सुरु भएको हो । आफ्ना सदस्यको सहजताका लागि घरमै बसी-बसी मोबाइलबाटै उक्त सेवाको भुक्तानी गर्न सकिने उनले बताए । उपभोक्ता संस्था र सहकारीबीचको सम्बन्ध विस्तारका लागि सहकारी सक्षम हुने भनाइ उनको छ । कार्यक्रममा विदुर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका उपाध्यक्ष सञ्जीव श्रेष्ठले समयसापेक्ष प्रविधिको प्रयोग गरी उपभोक्तालाई सेवा दिने क्रममा अनलाइन भुक्तानी सेवाबाट संस्थाको आम्दानी बढाउने कार्यमा संस्था लागेको बताए । सहकारीका कोषाध्यक्ष तथा सूचना प्रविधि उपसमितिका संयोजक दिनेशकुमार श्रेष्ठले सहकारीको मोबाइल एपमार्फत खानेपानीको बिल भुक्तान गरी एपको प्रक्रियागत प्रदर्शन प्रस्तुत गरेका थिए । कार्यक्रममा खानेपानीका कार्यालय प्रमुख राजकुमार तिमिल्सिनाले ग्राहक पहिचान नम्बरका लागि आफ्नो मिटर रिडिङमा ग्राहक नम्बरको विवरणअनुसार बिल भुक्तानी गर्न सकिने बताए । साथै, अग्रिम बिल भुक्तानी गर्नेले साउन महिनादेखि तीन प्रतिशतसम्म छुट पाउने जानकारी दिए । यसअघि खानेपानी संस्थाले खानेपानीको बिल भुक्तानी इसेवामार्फत तिर्न सकिने सेवाको सुरुवात गरेका थिए ।