डायलाइसिस सेवा अब धादिङ अस्पतालमा

  • त्रिशूली प्रवाह
  • २६ श्रावण २०७९, बिहीबार १३:५५
  • राजेन्द्र बस्नेत

धादिङ, बागमती प्रदेश सरकारको सहयोगमा धादिङबेँसीस्थित धादिङ अस्पतालमा डायलाइसिस सेवा सुरु गरिएको छ । शनिबार एक समारोहबीच बागमती प्रदेश सरकारका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले डायलाइसिस सेवाको उद्घाटन गरेका हुन् । अस्पतालमा डायलाइसिस सेवा सुरु गर्न जति जटिल थियो उत्तिकै सेवालाई गुणस्तर बनाउन जटिल छ । अस्पतालमा सुरु गरिएको डायलाइसिस सेवा गुणस्तरीय र भरपर्दाे बनाउन उद्घाटन समारोलाई सम्बोधन गर्दै मुख्यमन्त्री पाण्डेले आग्रह गरेका छन् ।

उनले भने, ‘सेवा सुरु गर्नजस्तै सेवा राम्रो र निरन्तरता दिन खटिनुपर्छ । चिकित्सकलाई तालिम दिएर सक्षम बनाउनुपर्छ । उनीहरूको क्षमता र व्यवहारले बिरामीको रोग निको हुन्छ । सुरु गरिएको सेवा प्रभावकारी बनाउनु हामी सबैको दायित्व हो । धादिङ अस्पतालमा अहिले ५० बेड क्षमता छ । आउँदो वर्ष एक सय बेड क्षमताको सुविधासम्पन्न अस्पताल बनाउने लक्ष्यसहित अस्पतालअघि बढ्नुपर्छ ।’ धादिङको स्वास्थ्य क्षेत्रको विकास र सेवा विस्तारमा बागमती प्रदेश सरकार हातेमालो गर्न तयार रहेको मुख्यमन्त्री पाण्डेले बताए । अब डायलाइसिस गराउनकै लागि काठमाडौंलगायत अन्य ठूला सहर धाउनुपर्ने बाध्यताबाट बिरामी र उनका आफन्तले मुक्ति पाउने भएका छन् । बागमती प्रदेशका स्वास्थ्यमन्त्री निमा लामाले भने, ‘अब धादिङका बिरामीले डायलाइसिस गराउन बाहिर धाउनुपर्ने छैन ।’ बढी खर्चिलो हुने र बिरामीले विभिन्न समस्या भोग्नुपरेका कारण उनीहरूलाई सहज बनाउन धादिङ अस्पतालमै डायलाइसिस सेवा सुरु गरिएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष महेन्द्र धमलाले बताए । चारवटा डायलाइसिस उपकरणसहित व्यवस्थापन गरिएको सेवाले पहिलेदेखि डायलाइसिस गरिरहेका बिरामी लाभान्वित हुने अध्यक्ष धमलाले बताए । ‘पछिल्लो समय मिर्गौला बिरामीको सङ्ख्या बढिरहेको छ । बिरामीको चाप हेरेर तीन सिफ्टमा सेवा विस्तार गर्न सकिन्छ,’ उनले भने, ‘अझै केही विशेषज्ञ सेवा पनि विस्तारका लागि पहल गर्दछौँ । डायलाइसिस सेवा एउटा उदाहरण हो ।’

हेमोडायलाइसिस र पेरिटोनल डायलाइसिस गरी मिर्गौलारोगीलाई दुई प्रकारले डायलाइसिस गर्ने गरिन्छ । धादिङ अस्पतालमा थालिएको हेमोडायलाइसिस हो । कुनै पनि रोगका कारण मिर्गौलामा असर प¥यो भने धादिङ अस्पतालमा डायलाइसिस गर्न सकिने अनमी अस्मिता भुसाल बताउँछिन् । आकस्मिक सबै बिरामीलाई डायलाइसिस गर्न सकिन्न । मधुमेह, उच्च रक्तचाप, फोक्सोको समस्यालगायतका रोगका कारण मिर्गौलामा समस्या देखिएका बिरामीलाई धादिङ अस्पतालमा डायलाइसिस सेवा दिन सकिने अनमी भुसालले बताइन् ।