त्रिशूली माविको नवनिर्मित भवन उद्घाटन

  • त्रिशूली प्रवाह
  • २ भाद्र २०७९, बिहीबार १४:३३

त्रिशूलीबजार, नुवाकोटको पहिलो विद्यालय त्रिभुवन त्रिशूली माविको भारतीय दूतावासको सहयोगमा नवनिर्मित भवनको मंगलबार उद्घाटन भएको छ । विदुर नगरपालिका-१ त्रिशूलीमा रहेको उक्त विद्यालयको भवन जिल्ला समन्वय समिति नुवाकोटका प्रमुख रजिन्द्रविक्रमसिंह ठकुरी र भारतीय दूतावास काठमाडौंका द्वितीय सचिव प्रशान्तकुमार सोनाले उद्घाटन गरेका हुन् ।

उद्घाटनपश्चात् जिल्ला समन्वय समिति नुवाकोटका प्रमुख ठकुरी र भारतीय दूतावास काठमाडौंका द्वितीय सचिव सोनाले संयुक्त रूपमा शिलापत्र अनावरण गरेका थिए । भारतीय दूतावासको आर्थिक सहयोगमा निर्माण सम्पन्न भएको विद्यालय भवनमा पढाइ सुरु भएपनि औपचारिक रूपमा भवनको उद्घाटन हुन सकेको थिएन । सो कार्यक्रममा जिल्ला समन्वय समिति नुवाकोटका प्रमुख रजिन्द्रसिंह ठकुरीले भूकम्पपछिको पुनर्निर्माणको क्रममा नुवाकोटका अधिकांश सामुदायिक विद्यालय भौतिक संरचनाले भरिपूर्ण भएकाले अबको लक्ष्य शिक्षाको गुणस्तर सुधार गर्नतर्फ हुनुपर्ने बताए । उनले त्रिशूली र घ्याङफेदीको विद्यार्थीको शिक्षाको पहुँचमा ठूलो अन्तर रहेकाले अब त्यस्तो भिन्नता भौतिक संरचनाको निर्माणले अन्त्य भएकाले शिक्षाको गुणस्तरमा रहेको अन्तर हटाउनतर्फ लाग्नुपर्ने सुझाब दिए । सो कार्यक्रममा विदुर नगरपालिकाका मेयर राजन श्रेष्ठ, जिल्ला समन्वय समिति नुवाकोटका उपप्रमुख दलबहादुर तामाङ, सहायक प्रमुख जिल्ला अधिकारी वेदप्रसाद अर्याल, विदुर नगरपालिकाकी उपमेयर प्रभा बोगटी, विदुर नगरपालिका-१ का वडाध्यक्ष लेनिन रञ्जितलगायत अभिभावक र स्थानीय समाजसेवीको उपस्थिति रहेको थियो ।

९ चैत ०७१ मा जग बसाल्न सुरु भएको त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयको ‘नेपाल-भारतमैत्री भवन’मा १८ कोठाको तीनतले बहुविपत् प्रतिरोधात्मक भवन ०७४ को असार मसान्तमा नै सम्पन्न भएको थियो । विद्यालयमा प्राविधिक धारबाहेक नै सामान्यतर्फ अध्ययन गर्ने विद्यार्थीको सङ्ख्या एक हजार तीन सय ५८ छ । विद्यार्थी धेरै टाढाबाट आउनुपर्ने भएकाले समस्या रहेको भनेर गुनासो आएसँगै भारतीय दूतावासबाट आएका प्रतिनिधि द्वितीय सचिव प्रशान्तकुमार सोनाले विद्यालयका लागि बस उपलब्ध गराउने आश्वासन दिएको विद्यालयका सहायक प्रधानाध्यापक राजेन्द्र दुवाडीले जानकारी दिए । विद्यालयका प्रधानध्यापक महेन्द्र राउतका अनुसार अङ्ग्रेजी र नेपाली-दुवै माध्यममा अध्यापन गराउन सुरु गरेसँगै विद्यार्थीको आकर्षणमा वृद्धि भएको छ भने विद्यार्थीमा शिक्षाको गुणस्तर बढाउन अध्ययनलाई सैद्धान्तिकसहित प्रयोगात्मक र नैतिक शिक्षालाई समेत समावेश गरिएको छ ।