धुनीबेँसीमा गैरआवासीय नेपाली सङ्घका एम्बुलेन्स

  • त्रिशूली प्रवाह
  • ९ भाद्र २०७९, बिहीबार ११:११
  • राजेन्द्र बस्नेत

खानीखोला, गैरआवासीय नेपाली सङ्घका पूर्वअध्यक्ष एवम् सिन्तोसिन रोटरी क्लब अफ टोकियाका रोटरियन भवन भट्टले धुनीबेँसी नगरपालिकालाई ‘ख’ वर्गको एम्बुलेन्स हस्तान्तरण गरेका छन् ।

जापानमा एक सय २० वटा भन्दा बढी नेपाली समाज रहेका छन् । त्यसमध्येको धादिङ समाज जापानको पहलमा धुनीबेँसी नगरपालिकालाई ‘ख’ वर्गको एम्बुलेन्स प्राप्त भएको छ । धादिङ समाज जापानका अध्यक्ष दिनेश लोहनी धुनीबेँसी नगरपालिकाका हुन् । धादिङ समाज जापानको समन्वयमा सिन्तोसिन रोटरी क्लव अफ टोकियो र गैरआवासीय नेपाली सङ्घले सानो उपहारस्वरूप धादिङ समाज जापानको समन्वयमा गैरआवासीय ‘ख’ वर्गको एम्बुलेन्स हस्तान्तरण गरेको पूर्वअध्यक्ष भट्टले बताए । गैरआवासीय नेपाली सङ्घले भिजिट नेपाल २०२० का लागि हामीले नेपाली पुगेका देशमा नेपाल चिनाउन विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको बताए । विभिन्न देशका गैरआवासीय नेपाली दिदीबहिनी नेपालमै जसरी तिज मनाएर नेपाली पहिचान र पर्वको प्रचार-प्रसार गरिरहेका छन् । बुद्ध नेपालमा जन्मेका हुन् भनेर चिनाउन शान्ति पदयात्रा, दसंँ, तिहारजस्ता महत्वपूर्ण पर्व मनाइरहेका छौँ । हामी जापानमा एक सय वर्ष पहिला भएका विकासको नक्कल गरिरहेका छौँ । त्यो गरिरहन आवश्यक छैन । सीधै अहिले जापानमा भएका प्रविधि भित्र्याउन सकिन्छ । सुरुमा लागत बढी देखिए पनि निर्माण अवधि कम हुने भएकाले बजेटरी हिसाब गर्दा सस्तो हुन आउनेसमेत उनले बताए ।

निकट भविष्यमै बिबी एयर बस सञ्चालनमा ल्याउन लागेको पूर्वअध्यक्ष भट्टले बताए । भारतका सबैजसो सहरबाट दैनिक एक उडान हुने गर्ने गरी तयारी भइरहेको जानकारी उनले दिए । एम्बुलेन्स हस्तान्तरण कार्यक्रममा बोल्दै धुनीबेँसी नगरपालिका प्रमुख बालकृष्ण आचार्यले भने, ‘विपत् व्यवस्थापनसम्बन्धी कार्यक्रममा जापान जाने क्रममा धादिङलगायतका गैरआवासीय नेपालीले गरेको स्वागत तथा परिचयात्मक कार्यक्रममा उनीहरूले केही उपहारस्वरूप केही दिन चाहन्छौँ भनेका थिए । त्यति बेलासम्म नगरपालिकामा एम्बुलेन्स थिएन । मैले एम्बुलेन्स भए राम्रो भन्ने प्रस्ताव गरेँ । साथीले उपहारस्वरूप एम्बुलेन्स पठाउने प्रक्रिया अघि बढाए । हाम्रो नेपाली कानुनी प्रक्रिया र सरकारी कर्मचारीको काम गर्ने ढिलासुस्तीले करिब नौ महिनामा एम्बुलेन्स ल्याउन सफल भयौँ ।’ एम्बुलेन्सको लागत १९ लाख ५८ हजार आठ सय १२ रुपैयाँ परेको जानकारी उनले दिए । हाल नगरपालिकामा तीनवटा एम्बुलेन्सले नगरवासीलाई निःशुल्क सेवा दिइरहेको पनि नगर प्रमुख आचार्यले जानकारी दिए । ‘अहिले एमबिएस डाक्टरमार्फत स्वास्थ्य सेवा प्रवाह गरिरहेका छौँ । १५ बेडको अस्पताल सञ्चालनका लागि ३८ कोठे भवन निर्माण कार्य जारी रहेको छ । सबै वडामा आधारभूत स्वास्थ्य संस्थामार्फत सेवा प्रवाह गरिरेहको छौँ,’ प्रमुख आचार्यले बताए ।