साउनमा एघार लाख राजस्व सङ्कलन

  • त्रिशूली प्रवाह
  • ९ भाद्र २०७९, बिहीबार ११:३६

धुन्चे, आर्थिक वर्ष ०७९/८० को साउन महिनामा लाङटाङ राष्ट्रिय निकुञ्ज हुँदै भ्रमणमा आएका आन्तरिक तथा बाह्य पर्यटकबाट ११ लाख ४९ हजार एक सय ४५ रुपैयाँ राजस्व सङ्कलन भएको छ ।

लामटाङ राष्ट्रिय निकुञ्जका रेञ्जर शुलक्षणा श्रेष्ठका अनुसार जनैपूर्णिमा मेला साउन महिनामा नै परेको र कोरोना महामारी पनि कम भएका कारण आन्तरिक तथा बाह्य पर्यटक सात हजार नौ सय ५५ जनाले निकुञ्ज भ्रमण गर्दा सो रकम उठेको हो । निकुञ्ज हुँदै गोसाइँकुण्डलगायत लाङटाङ तामाङ सम्पदामार्गको अवलोकन गर्न आएका नेपाली सात हजार आठ सय ९२ जना, सार्क मुलुकबाट १५ जना, अन्य देशबाट ४८ जना रहेका छन् । पदयात्राका लागि सगरमाथा राष्ट्रिय निकुञ्ज र अन्नपूर्ण संरक्षण क्षेत्रपछिको तेस्रो गन्तव्यस्थलको रूपमा परिचित रहेकाले पनि घुम्न आउनेको सङ्ख्या बढेको हो । यस निकुञ्ज नेपालको पहिलो हिमाली राष्ट्रिय निकुञ्ज हो । यो निकुञ्ज जैविक विविधताको भण्डार मानिन्छ । वन क्षेत्र, घाँसेमैदान क्षेत्र, झाडी बुट्यान क्षेत्र तथा सिमसार क्षेत्र यस निकुञ्जको मुख्य भूउपयोग हो ।