बाढीपहिरोले करोडौँको क्षति

  • त्रिशूली प्रवाह
  • १७ भाद्र २०७९, शुक्रबार १०:३४

विदुर, नुवाकोट जिल्लाको १२ वटा पालिकामध्ये नौवटा पालिकामा यस वर्ष बाढीपहिरोबाट करोडौँको क्षति भएको छ । साउन महिनामा मात्र बाढीपहिरोले जिल्लाको नौ पालिकामा ४० करोडभन्दा बढी क्षति पुगेको प्रतिवेदन जिल्ला विपत् ब्यवस्थापन समितिले सङ्कलन गरेको छ ।

जिल्लाको दुप्चेश्वर, तादी, विदुर, लिखु, शिवपुरी, पञ्चकन्या, किस्पाङ, सूर्यगढी र तारकेश्वर पालिकामा बाढीपहिरोले घरजग्गा, पशुचौपाया, निजी तथा सार्वजनिक संरचनामा क्षति पु¥याएको हो । दुप्चेश्वरको १ वडादेखि ६ सम्म तीन सय चार घरधुरी जोखिममा परेका छन् । त्यसैगरी, विदुर नगरपालिकामा ३८, तादीमा २४, किस्पाङमा १३, सूर्यगढीमा ६, शिवपुरीमा आठ र तारकेश्वरमा दुई घरधुरी उच्च जोखिममा परेको प्रतिवेदनमा उल्लेख छ । बढी क्षति दुप्चेश्वर गाउँपालिकामा पुगेको उक्त प्रतिवेदनमा उल्लेख छ । दुप्चेश्वरमा एक हजार चार सय ७८ रोपनीमा लगाएको करिब एक करोड मूल्यबराबरको धानबाली नष्ट भएको छ । ४५ वटा सिँचाइ कुलो र ३२ वटा खानेपानी योजनामा क्षति पुगेको छ । दुप्चेश्वरको समुद्रटारदेखि सानो गोल्फु भन्ज्याङसम्मका विभिन्न स्थानमा करिब चार किलोमिटर सडकमा क्षति पुगेको छ । ‘बाढीपहिरो रोकिएको छैन,’ दुप्चेश्वर गाउँपालिकाका अध्यक्ष शंकरबहादुर थापाले भने, ‘माथिबाट पहिरो खसिरहेको छ । ३ नम्बर वडाकै दोरदोरेमा दुई घरमा मानिस बस्नै सकेका छैनन् ।’

किस्पाङ गाउँपालिकाको नेलगाउँ, पैरेबेँसी र पुरानो गाउँ र सातदोबाटे बढी जोखिममा रहेका छन् । बाढीपहिरोले सूर्यगढीको १ देखि ५ वडासम्म सडक, खानेपानी र सिँचाई कुलो गरी २४ वटा योजनामा क्षति पुगेको छ । तादीको वडा नं. २ देखि ४ सम्मको सिँचाइ कुलो, चारवटा कृषि फार्म र पाँच सय रोपनी खेतमा लगाइएको धानबाली नष्ट भएको छ । त्यसैगरी, पञ्चकन्यामा पनि वडा नं. १ देखि ५ सम्म ६० रोपनीभन्दा बढी खेतमा लगाइएको धानबाली नष्ट भएको छ । शिवपुरीको ५, ६ र ८ वडाका सडक, खानेपानी र सिँचाइ कुलो गरी १४ वटा ठाउँमा क्षति पुगेको प्रतिवेदनमा उल्लेख छ । विदुर नगरपालिका वडा नं. ५, ७, १० र ११ मा एक सय १५ रोपनीभन्दा बढी खेतमा लगाइएको धानबालीमा क्षति पुगेको छ भने पाँचवटा पसलघर नष्ट भएका छन् । सडक, खानेपानी र सिँचाइ कुलो गरी २४ ठाउँमा क्षति पुगेको छ । लिखुको १ देखि ६ वडामा ४४ वटा सिँचाइ कुलो पूर्ण रूपमा क्षति भएको छ ।

तादी खोलामा निर्माण भएका ४ वटा पुलमा पनि बाढीले क्षति पु¥याएको छ । पञ्चकन्या गाउँपालिका वडा नं. २ र तादी गाउँपालिका वडा नं. ६ जोड्ने पुल, तादी गाउँपालिका वडा नं. ४ र पञ्चकन्या गाउँपालिका वडा नं. ४ जोड्ने सातबिसेको पुल र भ्याङ्लेको पक्की पुलमा क्षति पुगेको छ । दुप्चेश्वर गाउँपालिकामा मात्रै सडक, खानेपानी, सिँचाइ कुलो र अन्य भौतिक संरचनामा गरी १० करोडभन्दा बढी रकमको क्षति देखिएको छ । विदुरको ५, ७, १० र ११ वडामा गरी ८ करोडबराबरको क्षति भएको प्रतिवेदनमा उल्लेख छ । पुल मर्मत र भत्किएका सडक मात्रै बनाउन ११ करोडभन्दा बढी रुपैयाँ लाग्ने सरोकारवाला निकायले सङ्कलन गरेको प्रतिवेदनमा उल्लेख छ । दुप्चेश्वरका विभिन्न वडाका गरी २९ घरधुरीलाई जिल्ला विपत् व्यवस्थापन समितिले टेन्ट र ४० धुरीलाई त्रिपाल र रेडक्रसले खाना पकाउनेलगायतका हाइजेनिक किट प्रदान गरेको जिल्ला विपत् व्यवस्थापन समितिका अध्यक्ष एवम् नुवाकोटका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद रिसालले बताए । बाढीपहिरोले क्षति पु¥याएका नौ स्थानीय तहले समितिलाई बुझाएको विवरणमा ४० करोड रुपैयाँभन्दा बढी क्षति देखिएको छ । वर्षा हुने क्रम जारी रहेकाले बाढीपहिरो आउने क्रम चलिरहेको छ । क्षतिको विवरण अझ बढ्ने क्रममा रहेको प्रजिअ रिसालले बताए ।