निर्माण व्यवसायी सङ्घको अध्यक्षमा शैलेन्द्र

  • त्रिशूली प्रवाह
  • ६ आश्विन २०७९, बिहीबार १५:११

विदुर, नुवाकोट निर्माण व्यवसायी सङ्घको शुक्रबार सम्पन्न अधिवेशनबाट अध्यक्षमा शैलेन्द्रराज प्याकुरेल निर्वाचित भएका छन् ।

सङ्घको चौधौँ साधारणसभा तथा नवौँ अधिवेशनको क्रममा भएको निर्वाचनको अन्तिम मत परिणामअनुसार महासचिव पदबाहेक बाँकी सबै पदमा प्याकुरेल अध्यक्ष रहेको प्यानल विजय भएको हो । शुक्रबार भएको निर्वाचनमा शैलेन्द्रराज प्याकुरेल र कृष्णप्रसाद थपलियाको दुई प्यानलले सबै पदमा प्रतिस्पर्धा गरेको थियो । खसेको कुल दुई सय ६८ मतको गणना हुँदा अध्यक्ष प्याकुरेलले एक सय ४१ मत ल्याएर विजयी भए भने उनका प्रतिस्पर्धी कृष्णप्रसाद थपलियाले एक सय १९ मत प्राप्त गरेको निर्वाचन अधिकृत पवनराज खड्काले जानकारी दिए । उनका अनुसार वरिष्ठ उपाध्यक्षमा गणेशबहादुर तामाङ, क्षेत्रीय उपाध्यक्षतर्फ क्षेत्र नम्बर १ मा प्रज्ज्वल कार्की, क्षेत्र नम्बर २ मा रामचन्द्र श्रेष्ठ, महासचिवमा सुशील फुँयाल, सचिवमा शिवलाल श्रेष्ठ, कोषाध्यक्षमा श्यामबहादुर तामाङ र सहकोषाध्यक्ष पदमा योगेन्द्रसिंह थापा निर्वाचित भएका छन् ।

त्यस्तै, सदस्य खुलातर्फ बाबुकाजी थापामगर, दशरथ थापा, जीवन महर्जन र श्रीराम तामाङ निर्वाचित भएका छन् भने पालिकाको भूगोलतर्फ बेलकोटगढी नगरपालिकामा कटकबहादुर ढुङ्गाना र लिखु गाउँपालिकामा विनोद थापा निर्वाचित भएका छन् । भूूगोलतर्फको बाँकी रहेको दश पालिकामा निर्विरोध निर्वाचित भएको थियो । भूगोलतर्फ निर्विरोध निर्वाचित हुनेमा विदुर नगरपालिकामा रमेश बोगटी, किस्पाङ गाउँपालिकामा विक्रम घले, म्यागङ गाउँपालिकामा विजय गुरुङ, सूर्यगढी गाउँपालिकामा शरण लामा, ताकरेश्वर गाउँपालिकामा हर्कम तामाङ, शिवपुरी गाउँपालिकामा वीरबहादुर गुरुङ, पञ्चकन्या गाउँपालिकामा जीवनकुमार श्रेष्ठ, तादी गाउँपालिकामा विकास रिमाल, दुप्चेश्वर गाउँपालिकामा दिनेश पण्डित र ककनी गाउँपालिकामा नरेन्द्र लामा रहेका छन् । सङ्घको विधानअनुसार निर्वाचित कार्यसमितिको कार्यकाल तीन वर्षको हुने निवर्तमान अध्यक्ष सुमन अधिकारीले बताए ।