साततले दरबार टेकोको भरमा

  • शम्भुराम दाहाल
  • ६ आश्विन २०७९, बिहीबार १५:१५

विदुर, सात वर्षअघि भूकम्पले जीर्ण बनाएको नुवाकोटको ऐतिहासिक साततले दरबारलगायतका पुरातात्विक महत्वका सम्पदा अझै टेकोको भरमा पुनर्निर्माणको पर्खाइमा रहिरहेका छन् । चीन सरकारको सहयोगमा पुनर्निर्माण गर्ने भनिएको तीन वर्ष बितिसके पनि नुवाकोटको साततले दरबार र अन्य पुरातात्विक भवन अझै टेकोको भरमा रहिरहेको छ ।

नेपाल एकीकरणको साक्षीको रूपमा रहेको यो दरबार पृथ्वीनारायण शाहले निर्माण गराएका थिए । सात वर्षअघिको भूकम्पले क्षतिग्रस्त भए पनि सो दरबार अझै पुनर्निर्माण हुन सकेको छैन । पुरातात्विक सम्पदाको अध्ययन, अवलोकनका लागि आउने पर्यटक अहिले घटेका छन् । दरबार र अन्य पुरातात्विक संरचना नबनेकोमा स्थानीय सरोकारवाला चिन्तित भइरहेका छन् । स्थानीय रामराजा श्रेष्ठले भने, ‘पुनर्निर्माण नहुने पो हो कि ? शङ्का बढ्न थाल्यो ।’ विदुर नगरपालिका-२ मा रहेको यो दरबार पुनर्निर्माणमा चिनियाँ सरकारले बनाउने प्रतिबद्धतासहित सम्झौता गरेको भ्उ पनि काम अघि नबढेकाले स्थानीय निराश बनेका छन् । नुवाकोट दरबार क्षेत्र संरक्षण समितिका संयोजक पुष्कर शर्मा रिमालले भने, ‘चीनले बनाइदिने घोषणा त ग¥यो, तर कोभिड-१९ का कारण चिनियाँ पुनः चीन फर्किए । अहिलेसम्म आएका छैनन् ।’ पुरातत्व विभागले समेत कुनै ताकेता नगर्दा दरबारको पुनर्निर्माण अनिश्चित बनेको संयोजक रिमालले बताए । भूकम्पले ढलेका पुराना घर नयाँ बने, तर यहाँका दरबार र मठमन्दिरको पुनर्निर्माण अझै सुरु भएको छैन । भूकम्पले क्षति पु¥याएका पुनर्निर्माण गर्नुपर्ने सम्पदामा दुई सय ५३ वर्ष पुरानो साततले दरबारसहित लामपाटी, सेतोपाटी, विष्णु मन्दिर, नारायण मन्दिर, गारद घर, रंगमहल, तलेजु भवानी मन्दिर रहेका छन् । अहिले ती सम्पदालाई फलामे टेको दिएर राखिएको छ ।

१८१९ सालमा पृथ्वीनारायण शाहले ललितपुरबाट वास्तुकलाका नामी कालिगढ झिकाएर यो दरबार निर्माण गराएका थिए । सुरुमा यो दरबार नौतले थियो, १९९० सालको भुइँचालोले दुईतला भत्किएर साततला हुन पुगेको हो । जिल्लाको मात्र नभएर नेपाल एकीकरण र इतिहासको परिचय बनेर उभिएको यो दरबार क्षेत्र आन्तरिक तथा बाह्य पर्यटकको प्रमुख आकर्षणको केन्द्र पनि हो । मन्दिर शैलीको यस दरबारभित्र पृथ्वीनारायण शाहको शयनकक्ष, रानीको खोपी, भारदारकक्ष, कैदी थुन्ने कालकोठरी, पृथ्वीनारायण शाह र उनकी रानीले प्रयोग गरेका सामग्री तथा उनीहरूको मूर्ति रहेको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले काठमाडौंको वसन्तपुर दरबार पुनर्निर्माण सकिएपछि नुवाकोटका सम्पदाको पुनर्निर्माण थालिने जनाएको थियो, तर पुनर्निर्माण प्राधिकरणको अवधि सकिए पनि काम सुरु भएको छैन । यसैबीच नुवाकोट दरबार क्षेत्रवरपरको बस्तीलाई पुरातात्विक शैलीमा पुनर्निर्माण गर्ने अभियान नै चलाइएको छ ।