महङ्गीले चाडपर्व महत्वहीन

  • त्रिशूली प्रवाह
  • ६ आश्विन २०७९, बिहीबार १५:१८
Logo of trishuli prawaha

नेपालीको घरआँगनमा वर्षा ऋतु सकिँदै शरद ऋतुको सुरुवात भएको छ । शरद ऋतुमा नेपालीको महान् चाडपर्वमध्ये दसैँ, तिहार सुरु हुन्छ । यो हप्ता सोह्र श्राद्ध सकिँदै छ । अर्को हप्ताको सोमबार दसैँको जमरा राख्ने घटस्थापना परेको छ । हिन्दू धर्मावलम्बी नेपालीको सबैभन्दा ठूलो चाड दसैँ अर्को हप्तादेखि सुरु हुन्छ । दसैँ आइसके पनि बजारमा चहल-पहल भने बढ्न सकेको छैन । नेपालीको आयस्रोत घटिरहेको छ । आयस्रोतले गर्दा यसपटक दसैँ अधिकांश निमुखा नेपालीका लागि महत्वहीन र खल्लो बनेको छ ।

कोरोनाको प्रकोप, खाद्य तथा गैरखाद्य र सेवामा परेको छ । कोरोना सङ्क्रमण पूर्णरूपले नियन्त्रण हुन नपाउँदै रुस-युक्रेन युद्धले विश्व अर्थतन्त्र थप डामाडोल बन्यो । विश्वभरि नै अहिले मूल्यवृद्धि, बेरोजगारी, विदेशी मुद्राको सञ्चितिमा ह्रास, रुस-युक्रेन युद्धले अर्थतन्त्रमा गम्भीर असर परेको छ । यो बाछिटाले नेपालको अर्थतन्त्रलाई पनि गम्भीर असर पारेको छ । यो बाछिटाले नेपालको अर्थतन्त्रलाई लपेटिरहेको छ । कोरोना र रुस-युक्रेन युद्धले नेपालको अर्थतन्त्रमा समेत गम्भीर असर परेको कारण गरिबी बढ्दो छ । बिहान-बेलुका हातमुख जोड्न मुस्किल भइरहेको सर्वसाधारणलाई दसैँ, तिहार आएको महसुस गर्ने अवस्था छैन । असोज र कात्तिकमा नेपालीको दुई ठूला चाड दसैँ र तिहार पर्दछ । हुन त अरू बेला अरू जनजाति र धर्मावलम्बीको विभिन्न चाडपर्व आउँछन् र तिनका लागि पनि नेपालको वर्तमान राज्यप्रणालीले उत्तिकै सम्मान प्रकट गरेको छ । तैपनि नेपाल हिन्दू बाहुल्य राष्ट्र भएको कारण नेपालमा चाडपर्वको अभ्यास र अवलम्बन गर्ने समय असोज र कात्तिक महिना रहेको छ । दसैँ, तिहारमा स्वाभाविक रूपले नेपालीको आशा र उमङ्ग बढ्छ । यी दुई चाडपर्व आय-स्रोत नहुनेले ऋण गरेर भए पनि मनाउने प्रचलन रहिआएको छ । बजारमा अहिले नगद प्रवाह कम छ । सरकारले गर्ने विकास निर्माणको काम पनि चुस्त-दुरुस्त हुन नसकेकाले सरकारी ढुकुटीमा जम्मा भएको पैसा चलायमान नहुँदा बजारमा नगद प्रवाह भइरहेको छैन । जसले गर्दा दसैँ नजिकिँदा पनि आर्थिक चहल-पहल हुन सकेको छैन ।

धनीका लागि त्यति फरक नपर्ला, तर गरिबले वर्षभरि मिहिनेत गरी कमाएर परिवारका सबैजना सँगै बसेर चाड मनाउने सपना बोकेका हुन्छन् । व्यापारी-व्यवसायीको पनि यही बेला अलिकति बढी आर्जन गर्ने सपना हुन्छ । त्यसका लागि आफ्नो भएको पुँजी लगानी गरेर आवश्यक उपभोग्य सामग्री ल्याउने प्रयास गरेका हुन्छन् । तर, आफूले भनेजस्तो नहुँदा उनीहरूको आफ्नै लगानीसमेत डुब्ने सम्भावना रहन्छ । अहिले चिनियाँ नाका नियमित नखुल्दा एक महिनाअघिदेखि नेपाली व्यवसायीले तनाव झेलिरहेका छन् । उत्तरी नाका एक महिना बन्द भएर भर्खर सुचारु हुँदा बजारमा दसैँको लागि आवश्यक सामग्रीको अभाव र महङ्गो भएको छ । महङ्गीले सर्वसाधारणको चुलो बल्न सकिरहेको छैन । यस्तो बेला आइरहेको चाडपर्व महत्वहीन बन्दै उमङ्ग ल्याउन सकेको छैन । तीन तहका सरकारले सर्वसाधारणका लागि चाडपर्व मनाउने सक्ने वातावरण सिर्जना गरिदिनुपर्छ । निमुखा र गरिब जनताको भरणपोषणको जिम्मा सरकारले लिनुपर्ने संवैधानिक व्यवस्था भए पनि कार्यान्वयनमा आएको छैन ।