विदुर नगरपालिका ऋणमा बसपार्कका भौतिक संरचनासहित करोडौँ जग्गा अलपत्र

  • त्रिशूली प्रवाह
  • १३ आश्विन २०७९, बिहीबार १३:१५

नुवाकोटको विदुर नगरपालिकाले विगतमा बसपार्क र सार्वजनिक शौचालय निर्माण गर्न सहरी तथा वातावरणीय सुधार परियोजनासँग लिएको ऋणको साँवा, ब्याज तिर्न सम्बन्धित निकायले पत्राचारमार्फत दबाब दिइरहेका छन् । जिल्लाको पहिलो नगरपालिका विदुरले ०६२ असोज १० गते तत्कालीन महालेखामार्फत सार्वजनिक ऋण व्यवस्थापन कार्यालय र नगर विकास कोषमार्फत लिएको ऋण तिर्न ताकेता सुरु भएको छ । विदुर नगरपालिकाको वडा नं. ४ को दम्कीमा रहेको ३६ रोपनी जग्गासहित बसपार्क, विनपा वडा नं. ९ कोलनीको ११ रोपनी जग्गासहित पसल, सटर, विनपा वडा नं. ५ को वडा कार्यालयसँगको पाँच रोपनी जग्गा, वडा नं. ६ महारानी डिहीमा रहेको ५० रोपनी जग्गाको सदुपयोग गर्न ध्यान नदिँदा साँवा, ब्याज तिर्न विकास बजेट कटौती गर्नुपर्ने अवस्थामा नगरपालिका रहेको छ ।

नगरपालिकालाई अर्थ मन्त्रालयअन्तर्गतको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले १८ वर्षअघि लिएको एक करोड ९६ लाख ७६ हजार सात सय ७१ रुपैयाँ तिर्न ताकेता दिइरहेको छ । उक्त ऋणको १८ वर्षसम्म साँवा, ब्याज तिर्नेतर्फ नगरपालिकाले चासो नदिएको भन्दै कालोसूचीमा राख्ने गरी सचेतपत्र पठाएको छ । त्यसैगरी, नगरपालिकाले एसियाली विकास बैंकले नगर विकास कोषमार्फत बसपार्कसहितको भौतिक संरचना निर्माणमा लिएको एक करोड ५९ लाख २६ हजार सात सय ६६ रुपैयाँको वार्षिक किस्ता भने विकास बजेटबाट बुझाइरहेको छ । अब नगर विकास कोषलाई २० लाख २४ हजार चार सय ३० रुपैयाँ तिर्न बाँकी रहेको नगरपालिका कार्यालयले जानकारी दिएको छ । विगतमा लिएको ऋण सदुपयोग गर्न नसक्दा नगरपालिका ऋणमा डुबेको हो । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले ऋण तिर्न चासो नदिए कालोसूचीमा राख्ने तयारी गरिरहेको छ । नगरपालिकाको नेतृत्व जग्गा र भौतिक सम्पत्ति संरक्षण र उपयोगमा योजना बनाउनभन्दा साना-तिना कार्यालयको सामान खरिदमा अल्मलिएको छ ।

नगरपालिकाको दिगो आम्दानीको स्रोत बट्टार बसपार्क निर्माण सम्पन्न भएको १२ वर्ष हुँदासमेत व्यवस्थित रूपमा सञ्चालन गर्न सकेको छैन । पटक–पटक सञ्चालन र बन्द हुँदै आएको बसपार्क अहिले बसपार्कजस्तो हुन सकेको छैन । अहिले बसपार्क सुनसान बनिरहेको छ । बसपार्कमा बस, माइक्रोबस पार्किङ गर्नुपर्ने भए पनि ती देख्न मुस्किल भएको स्थानीय बताउँछन् । नगरपालिकाले बसपार्क निर्माणमा स्थानीय ४३ जना उपभोक्ताले ३६ रोपनी जग्गा निःशुल्क दिएका थिए । बट्टारको उक्त जग्गाको अहिलेको न्यूनतम मूल्य ६० करोडभन्दा बढी हुन आउँछ । उक्त बसपार्क कौडीको मूल्यमा ठेक्का लगाइएको छ । तीन वर्षदेखि विराट निर्माण सेवाले वार्षिक १२ लाख ७१ हजार रुपैयाँमा लिएर उद्देश्यविपरीत सञ्चालन गरेर लाखौँ कमाइरहेको छ । बसपार्कमा बस देख्न मुस्किल परे पनि टर्मिनल भवनमा बनेका दुई दर्जन सटर गोदाम अन्य काममा प्रयोग भइरहेको छ । बसपार्क प्रवेश गर्नुपर्ने बस र माइक्रोबसको शुल्क भने ठेकेदारले मूल सडक जाम गरेर उठाइरहेको छ । जिल्लाभित्र सञ्चालन हुने सार्वजनिक सवारीसाधन बट्टार, गँगटे, विदुर, पीपलटारमा पार्किङ गर्दा सडक जाम भइरहेको छ । सडक जाम हुँदासमेत सम्बन्धित निकायले चासो नदिएको गुनासो स्थानीयले गरेका छन् । बसपार्कका जग्गा अतिक्रमण भइरहेको जानकारी हुँदा पनि नगरपालिकाको नेतृत्व कानमा तेल हालेर बसिरहेको बसपार्क उपभोक्ता समितिका अध्यक्ष धननारायण चित्रकारले आरोप लगाए । नगरको नाममा रहेको जग्गालाई सीमाङ्कन गरी तारबार गरेर निर्माण भएको भौतिक संरचना संरक्षणमा र बसपार्क सञ्चालनमा बेवास्ता गरेपछि सम्झौताअनुसार जग्गा फिर्ता गर्नुपर्ने धारणा उपभोक्ताले राखेका छन् । बसपार्क निर्माणमा जग्गा निःशुल्क उपलब्ध गराएका उपभोक्ताले नगरपालिकासँगको सम्झौतामा दुई वर्षभित्र उद्देश्यअनुसार व्यवस्थित रूपमा बसपार्क सञ्चालन नभए जग्गा फिर्ता गर्न पाउने उल्लेख छ । १० वर्षअघि बसपार्क सञ्चालन गर्दा १५ लाख उठेको स्मरण गर्दै उनले भने, ‘बस र माइक्रोबसको सङ्ख्या र शुल्कसमेत अहिले बढेको छ, तर ठेकेदारले १० वर्षअघि उठेको शुल्कभन्दा पनि कममा ठेक्का हात पारेको छ ।’ बट्टारबजार क्षेत्रमा व्यावसायिक सुनसान हुन्छ भनेर स्थानीय व्यवसायीले विगतदेखि नै बसपार्क सञ्चालनमा असहयोग गर्दै आइरहेको नागरिक समाजका अध्यक्ष बद्रीप्रसाद त्रिपाठीले बताए ।

निर्माण सम्पन्न भएर पटक-पटक सञ्चालन हुँदै बन्द रहेको बसपार्क उद्घाटनसमेत हुन सकेको छैन । बसपार्कमा आवश्यक सम्पूर्ण पूर्वाधार रहेको छ भने सुरक्षाका लागि प्रहरी पोस्टसमेत राखिएको छ । ठेकेदारले विगतमा रोपिएको बिरुवा मास्दै उद्देश्यविपरीत भाडा लगाएर लाख उठाइरहेको छ भने बिजुली शुल्क समयमा नबुझाउँदा लाइन अहिले काटिएको छ । १० वर्षअघि वार्षिक १५ लाखमा ठेक्का लागेको, त्यसबेला ३४ लाख उठेको स्थानीयले बताएका छन् । बसपार्क व्यवस्थित रूपमा सञ्चालन गर्न चौतर्फी दबाब आएपछि नगरपालिका नेतृत्व अहिले सञ्चालनको तयारीमा जुटेको छ । बसपार्क उद्देश्यअनुसार व्यवस्थित रूपमा सञ्चालन गर्न गत हप्ता सर्वपक्षीय बैठक नगरपालिकामा भएको थियो । उक्त बैठकले जिल्लाको मुख्य बजार क्षेत्रमा देखिएको अव्यवस्थित यातायात क्षेत्रलाई नियन्त्रण गर्न असोज ११ गते मंगलबारदेखि थप व्यवस्थित र तोकिएको स्थानमा मात्रै गाडी रोक्न पाइने निर्णय गरेको छ । निर्माण भएर पनि व्यवस्थित रूपमा सञ्चालन गर्न नसकेको बसपार्कलाई असोज २६ गतेदेखि पूर्ण रूपमा सञ्चालन गर्ने तयारीमा आवश्यक मर्मतसम्भारमा नगरपालिका लागेको छ । यसअघि विभिन्न सरोकारवालाको बैठकले विदुर नगरपालिकाको मुख्य बजार क्षेत्रमा यातायातलाई व्यवस्थित गर्नेदेखि बसपार्कलाई पूर्ण रूपमा सञ्चालनमा ल्याउने निर्णय भएको थियो । उक्त निर्णय कार्यान्वयनमा आउन सकेन । विदुर नगरपालिकाको जनप्रतिनिधिसहितको उक्त बैठकमा प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख, यातायात व्यवसायीलगायतले असोज ११ गतेदेखि कोलनीदेखि बट्टारबजारसम्म सडकको पहुँच पूरै खाली गरेर सडकछेउमा गाडी रोक्न नपाइने निर्णय कडाइका साथ लागू गर्न आ-आफ्नो क्षेत्रबाट प्रतिबद्धता जनाएका छन् । बैठकले असोज २६ गतेदेखि बसपार्क पूर्ण रूपमा सञ्चालनमा ल्याएर अहिले विभिन्न स्थानमा राखिएका टिकट काउन्टरलाई पनि बसपार्कभित्रै लैजान सहमति र सहयोग गर्नेसमेत प्रतिबद्धता गरेका छन् । बसपार्क सञ्चालनदेखि बजार व्यवस्थापनका सबै पक्ष, सरोकारवाला सबै एकजुट भएर अघि बढ्न प्रतिबद्धता जनाएको मेयर राजन श्रेष्ठले जानकारी दिए । मेयर श्रेष्ठले विगतमा बसपार्क सञ्चालन गर्न नदिने समूहको नेतृत्व गरेका थिए । उनले अहिले बसपार्क सञ्चालन गर्न खासै अग्रसरता देखाएका छैनन् । बसपार्क सञ्चालन हुँदा उनको घर भएको बट्टारबजारको क्षेत्रको व्यावसायिक गतिविधि कम हुने भन्दै विगतमा बसपार्क निर्माणदेखि नै असफल बनाउन प्रयासरत रहेका थिए । मेयर भएपछि पनि आफ्नो घरमा बैंकको दुई/दुईवटा शाखा लैजान बैंकिङ कारोबार सारेको आरोप काङ्ग्रेसनिकटले लगाएका छन् ।

बैठकले असोज २६ गतेदेखि बसपार्क सञ्चालनका लागि यातायात व्यवसायीले सार्वजनिक यातायातका साधन बसपार्कभित्र लैजानुपर्ने र त्यहाँ १५ मिनेट रोक्नुपर्ने, बजार क्षेत्रमा छरिएर रहेका टिकट काउन्टर सबै बसपार्क राखेर भित्रबाट मात्रै टिकट काट्ने, बसपार्कभन्दा बाहिरका स्थानमा यात्रुलाई चढाउने र ओराल्ने मात्रै गर्नुपर्ने अर्थात् यात्रुलाई कुरेर बस्न नपाइनेसहित बसपार्कभन्दा बाहिरका स्थानमा यात्रुलाई चढाउने र ओराल्ने मात्रै गर्नुपर्ने अर्थात् यात्रुलाई कुरेर बस्न पाउनेछैन । बसपार्क सञ्चालनका लागि चाहिने भौतिक पूर्वाधार पानी, शौचालय, बत्ती, टेलिफोन, इन्टरनेटलगायतको प्रबन्ध मिलाउने जिम्मेवारी नगरपालिकाले दिएको छ । असोज ११ गतेदेखि कोलनी, त्रिशूलीबजार, ढुङ्गे, विदुर, बट्टारबजारमा सडकछेउमा दुईपाङ्ग्रे, चारपाङ्ग्रेदेखि सबै किसिमका सवारीसाधन जथाभावी रोक्न पाइनेछैन । सडक र सडकपेटी ढाकेर राखिएका निर्माण सामग्री, बजार क्षेत्रका पसलले सडकसम्म सामान प्रदर्शन गर्ने र ठेलगाडा सबै हटाउनुपर्ने निर्णय भएको छ । अर्को निर्णय नभएसम्मका लागि बट्टारबजारका लागि दैनिक आलोपालो गरेर एकतर्फी रूपमा पार्किङ गर्न पाइने व्यवस्था गरेको छ । त्रिशूलीबजारमा अहिले सडकमा नै गरिँदै आएको पार्किङ असोज ११ गतेदेखि सबै विद्युत् प्राधिकरणको पावरहाउस गेटअगाडि रहेको पुरानो बसपार्कमा रोक्नुपर्ने, ढुङ्गेमा रोक्ने गरिएको यातायातका साधन सबै कृषि विकास बैंकअगाडिको खाली जग्गामा पार्किङ गराएर ढुङ्गे क्षेत्रमा गाडी रोक्न नपाइने नियमलाई कडाइ गर्ने निर्णय भएको छ । उक्त निर्णयलाई यातायात व्यवसायीले स्वागतयोग्य रहेको बताएका छन् । निर्णयको पूर्णपालना गराउन ट्राफिक प्रहरी र प्रहरी परिचालन कडाइका साथ गर्न प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद रिसालले निर्देशन दिइसकेका छन् ।

बसपार्क सञ्चालन भएपछि विदुरका नगर तथा बजार क्षेत्रका सडक व्यवस्थित गर्ने र शान्तिसुरक्षा कायम गराउन सहज हुने प्रमुख जिल्ला अधिकारी रिसालले बताए । विदुर नगरपालिका-४ मा रहेको बट्टार बसपार्कलाई व्यवस्थित रूपमा सञ्चालनका लागि चर्को दबाब दिइरहेका वडा नं. ४ का वडाध्यक्ष निलमबाबु ढुङ्गेलले सरोकारवालाले गरेको निर्णयको आफ्नोतर्फबाट अक्षरशः कार्यान्वयन गराउन प्रतिबद्ध भएर खटिने बताए । नगरपालिकाकी उपमेयर प्रभा बोगटी, वडा नं. १ का वडाध्यक्ष लेनिन रञ्जित, वडा नं. २ का वडाध्यक्ष दीपक कायस्थलगायतले बसपार्क सञ्चालन र बजार व्यवस्थित बनाउन कठोर निर्णय गर्न पनि पछि नहट्ने प्रतिबद्धता बस उपभोक्ता समितिसँगको छलफलमा गरेका छन् । सबै सरोकारवालाले प्रतिबद्धताअनुसार बसपार्क सञ्चालन गर्न सहयोग हुने अपेक्षासहित नगरलाई व्यवस्थित र सुरक्षित बनाएर आर्थिक गतिविधि चलायमान बनाउन तत्कालका लागि केही समस्या भए पनि आगामी दिनमा सहज हुने मेयर श्रेष्ठले बताए ।