साततले दरबार पुनर्निर्माणका लागि सर्भे

  • त्रिशूली प्रवाह
  • २४ कार्तिक २०७९, बिहीबार १२:१९

विदुर, नेपाल एकीकरणको साक्षीको रूपमा रहेको नुवाकोटको साततले दरवार पुनर्निर्माणका लागि चिनियाँ प्राविधिक टोलीले सर्भे सुरु गरेका छन् । ०७२ वैशाखको भूकम्पले क्षतिग्रस्त साततले दरबारलगायत सातवटा पुरातात्विक सम्पदाको पुनर्निर्माण आगामी माघदेखि सुरु हुने भएको छ ।

चीन सरकारको सहयोगमा पुनर्निर्माण हुने भनिए पनि भूकम्प गएको झन्डै साढे सात वर्ष भइसक्दा चिनियाँ प्राविधिक टोली आउने जाने मात्र गरिरहेका थिए । अब पुनर्निर्माणको काम सुरु गर्न सर्भे गरिरहेको स्मारक संरक्षण तथा दरबार हेरचाह कार्यालयले जानकारी दिएको छ
चीनले कोरोना महामारीका कारण ढिलाइ हुँदै आएको बताउँदै आएको छ । एक महिनायता चिनियाँ प्राविधिक टोलीले दरबारको विस्तृत अध्ययन गरिरहेको स्मारक संरक्षण तथा दरबार हेरचाह कार्यालयका प्रमुख अर्जुनप्रसाद फुँयालले बताए । ‘३/१० जनासम्मको प्राविधिक टोलीले दरबारका इँटालगायतको अध्ययन गरिरहेको छ,’ कार्यालय प्रमुख फुँयालले भने, ‘चिनियाँ नयाँ वर्ष आउन लागेकाले उक्त पर्व मनाएर फर्किएपछि आउँदो माघबाट काम गर्ने चिनियाँ पक्षले बताएको छ ।’ उनका अनुसार काठमाडौंस्थित हनुमानढोका, वसन्तपुर दरबार पुनर्निर्माण गर्ने कालिगढले नै साततलेलगायत यहाँका सम्पदा पुनर्निर्माण गर्नेछन् । बाह्य तथा आन्तरिक पर्यटक आउने मुख्य सिजन भए पनि खण्डहरजस्तै बनेका सम्पदास्थल बेलैमा पुनर्निर्माण नहुँदा सुनसानजस्तै छन् । ‘भूकम्पले ढलेका घर नयाँ बनिसके । बल्ल दरबार र मठमन्दिर पनि ठडिने आस जागेको छ,’ स्थानीय समाजसेवी रामाराजा श्रेष्ठले भने, ‘यत्रो समयसम्म नबन्दा यहाँको व्यापार-व्यवसाय त चौपटै भएको छ ।’

विदुर नगरपालिका-२ मा रहेका साततले दरबारलगायत लामपाटी, सेतोपाटी, विष्णु मन्दिर, नारायण मन्दिर, गारदघर, रंगमहल, तलेजु भवानी मन्दिरलगायतको पुनर्निर्माण हुने कार्यालयले जनाएको छ । चिनियाँ प्राविधिक टोलीले कार्यालय स्थापना गर्न घर भाडामा लिएर पाँच वर्षदेखि भाडा तिरिररहेको छ । तीन वर्ष अगाडि काम गर्ने भनेर चिनियाँ टोलीले दरबारलगायत पुरातात्विक सम्पदालाई थप क्षति हुन नदिन फलामे टेको लगाई जस्तापाताले छोपेर राखेको छ । तत्कालीन राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले वसन्तपुर दरबार पुनर्निर्माण सकिएपछि मात्रै नुवाकोटका सम्पदा पुनर्निर्माण थाल्ने भनेको थियो । साततले दरबार १९९० सालको भूकम्पअघि नौ तला थियो । त्यसबेला दुई तला भत्किएको थियो । यो दरबार पृथ्वीनारायण शाहले १८०१ सालमा नुवाकोट एकीकरणपछि १८१७-१९ सालसम्ममा बनाउन लगाएका थिए । जसका लागि ललितपुरबाट कालिगढ झिकाइएको इतिहासमा उल्लेख छ ।