रसुवामा ४१६ कर्मचारी खटिने मतदाता धेरै गत्लाङ, कम टिमुरे मतदान केन्द्र

  • त्रिशूली प्रवाह
  • १ मंसिर २०७९, बिहीबार १२:२६
  • सरस्वती न्यौपाने

धुन्चे, एक प्रतिनिधिसभा र दुई प्रदेश सभा क्षेत्र रहेको रसुवामा मङ्सिर ४ गते हुने निर्वाचनमा चार सय १६ कर्मचारी खटिने भएका छन् । मुख्य निर्वाचन कार्यालयका अनुसार निर्वाचनका लागि मतदान अधिकृत एवम् अन्य सहायक कर्मचारीको नियुक्ति तथा केन्द्र तोक्ने र कार्यस्थलमा निर्वाचन सामग्रीसहित पठाउन सुरु भएको छ ।

निर्वाचनका लागि ५३ अधिकृतस्तर एवम् ५२ कार्यालय सहयोगी र रापअनङ्कित प्रथम तथा द्वितीय श्रेणीका नायव सुब्बा र खरिदारसरहका तीन सय ११ सहित सहायक कर्मचारीसमेत गरी चार सय १६ कर्मचारी परिचालन गरिने बताइएको छ । खटिएका मतदान अधिकृतलाई तालिम दिई मतदान केन्द्रमा पठाइनेछ । ५२ मतदान केन्द्रमध्ये सबैभन्दा बढी मतदाता रहेको आमाछोदिङ्मो गाउँपालिका-३ गत्लाङमा रहेको नेपाल राष्ट्रिय मावि मतदान केन्द्रबाट एक हजार ४२ जनाले मतदान गर्ने र सबैभन्दा कम गोसाइँकुण्ड गाउँपालिका-२ टिमुरे मतदान केन्द्रमा चार सय ६५ मतदाताले मतदान गर्नेछन् । त्यस्तै, अस्थायी मतदातामा भने सात सय ९२ जनाको नामावली तयार भएको छ । तीमध्ये नेपाली सेनाका ७२, सशस्त्र प्रहरी बलका ५७, नेपाल प्रहरीका ३७, निजामतीलगायत विभिन्न सरकारी निकायका ६ सय १२ कर्मचारीका साथै कारागारका १४ कैदीबन्दीले मतदान गर्न पाउने जिल्ला निर्वाचन अधिकारी श्रीराम थापाले जानकारी दिए ।

प्रमुख जिल्ला अधिकारी नवराज जैसीले निर्वाचनका लागि आवश्यक पर्ने यथेष्ट सुरक्षा व्यवस्था मिलाइएको छ । निर्वाचनमा सुरक्षाका लागि पहिलो पङ्क्तिमा नेपाल प्रहरी, दोस्रो पङ्क्तिमा सशस्त्र प्रहरी र तेस्रो पङ्क्तिमा नेपाली सेना परिचालन हुने भएकाले सुरक्षा-व्यवस्थामा कुनै कमी नआउने हुँदा निर्धक्कसँग मतदान गर्न जानुहुन आममतदातालाई आग्रह गरेका छन् ।