जँड्याहा लोग्नेका वाचा जस्ता घोषणापत्र

  • त्रिशूली प्रवाह
  • १ मंसिर २०७९, बिहीबार १२:४९
  • हरिप्रसाद रिमाल

१. घोषणापत्र त कुन दलका र कहिलेका नराम्रा छन् र ? सबै बेलाका र सबै राजनीतिक दलका श्रुतिमधुर नै हुन्छन् । तर, ती कति सत्य छन् र ती घोषणापत्रमा उल्लेख भएका कुरा कति गरेर देखाउँछन् राजनीतिक दलहरूले भन्ने नै मुख्य प्रश्न हो । यदि निर्वाचनका बेला जनतालाई फकाउन नै ती निर्माण र प्रकाशित गरिएका हुन् भने तिनको के अर्थ हुन्छ र ! त्यस्ता घोषणापत्र त जँड्याहा लोग्नेले आफ्नी पतिब्रता स्वास्नीसँग गरेको वाचाजस्तै हुँदैनन् र ?

२. जँड्याहा लोग्ने मानिस प्रत्येक दिन मदिरा धोकेर राति अबेर घर फर्कन्छ र हुँदा-नहुँदा निहुँ खोजेर लालाबाला र घर स्याहारेर बसेकी कर्तव्यनिष्ठा श्रीमतीलाई बेसरी ठटाउँछ । उसलाई त्यस बेला अलिकति पनि होस र विवेक हुँदैन । ऊ जेले पायो त्यसैले स्वास्नीलाई भकुरेर मरणासन्न तुल्याउँछ । भोलिपल्ट घरको अवस्था र श्रीमतीको बिजोग देखेर कान समात्छ र भन्छ ‘अबदेखि पिउँदिनँ र कमाएको पैसा पनि सबै इमानदारीपूर्वक तिम्रो हातमा ल्याएर बुझाउँछु । एकपटकलाई माफ गर ।’ स्वास्नीचाहिँ हिजोअस्तिको लोग्नेका कर्तुत र उसले दिएका दुःख र यातना भुलेर ‘भैगो त अब सुध्रने भए ठीकै छ त !’ भन्छे । तर, वाचा गरेकै दिन बेलुका फेरि धोकेर आउँछ र बिहान आफूले गरेका कुरा सबै बेकारका कुरा हुन् भनेझैँ गरी फेरि घरमा उपद्रो मच्चाउन थाल्छ । कमाइ श्रीमतीलाई बुझाउने भन्ने वाचा पनि डाँडापारिको कुरा हुन्छ ।

३. हाम्रा दल र तिनका उम्मेदवारले गरेका घोषणा पनि त्यस्तै त्यस्तै ठान्न थालेका छन् जनताले । निर्वाचनका बेला मिठा र चिप्ला कुरा गर्ने र लम्बेतान घोषणापत्र प्रकाशित गरी निकै मिठा वाचा र प्रतिबद्धता पनि जनतालाई सुनाउने । तर, गर्ने बेला पटक्कै केही काम पनि नगर्ने र कमाउ धन्दामा नै लाग्ने, आफ्नो व्यक्तिगत, पारिवारिक र दलीय स्वार्थमा मात्र ध्यान दिने गरिरहेका छन् निर्वाचित भएर गएका अधिकांश जनप्रतिनिधिले । अझ जनताका लागि काम गर्नु त जतासुकै जाओस् उल्टो करको भार थोपरेर, अनेक किसिमका शोषणका तरिका लागू गरेर र अझ कतिपय अवस्थामा जनताको अहित हुने, राष्ट्रलाई असजिलो पर्ने काम गरिरहेका छन् जनप्रतिनिधिले ! यस्ता धेरै नचाहिँदा र गर्न नहुने काम गरेर जनप्रतिधिले बदनाम कमाइरहेका छन् । यस्तो अवस्थामा कसरी विश्वास गर्नु यी राजनीतिक दलका घोषणापत्रलाई ? तर, अब त्यस्तो नहोस्, दुच्छर भाषामा कसैले पनि आलोचना गर्न नपर्ने गरी जितेर गएका सबैले देश र जनताको हित हुने काम मात्र गरुन् !

विवेक र विचार पु¥याउने बेला
४. जनताको सेवा गरेबापत सरकारले दिने गरेको पारिश्रमिक नलिएरै सेवा गर्ने जनप्रतिनिधि पनि छन् । त्यस्ता जनप्रतिनिधिको मूल्याङ्कन जनता र सरकारले कसरी गर्ने गरेका छन् ? सरकार त्यस्ता जनप्रतिनिधिलाई तक्मा, पदक वा प्रोत्साहनका अरू कुरा पनि दिन आवश्यक ठान्छ कि ठान्दैन ? जनता सेवालाई नै आफ्नो प्रथम कर्तव्य ठानेर कर्तव्यशील हुने जनप्रतिनिधिप्रति विवेक राख्न सक्छन् कि सक्तैनन् ? यी कुरा निर्वाचनका समयमा सम्झनलायक हुन्छन् ।

५. कुनै नेताले भनेजस्तो ‘राजनीतिक दलका नेताहरूलाई देख्यो कि चोर आयो’ भन्ने स्थिति सबै ठाउँमा छैन । असल, त्यागी र कर्तव्यपरायण नेताहरू पनि हुन्छन् । हो, धेरै नेताहरू गतिला र विश्वास गर्न लायकका भएनन् । तिनीहरू धेरै नै स्वार्थी र अविवेकी पनि भए । भनौँ भने धेरै नेता त माथि पुगेपछि लोभी, पापी र स्वार्थी भएका छन् । अचम्मको कुरा त के हो भने त्यस्तै व्यक्तिलाई पटक-पटक अवसर दिने खालका छन् जनता पनि । अलिकति लोभ र अलिकति स्वार्थले गर्दा धेरै गर्न नहुने काम गर्छन् जनता ! अनि जीवनभरि पछुताउनुपर्छ तिनीहरूले ।

६. अब निर्वाचनको बेला आएको छ । योग्य, सक्षम, त्यागी-तपस्वी र स्वार्थदेखि माथि उठेको र राजनीतिलाई पेसा नबनाउने, जनताको सेवामा सधैँ मन, वचन र कर्मले लाग्ने व्यक्तिलाई निर्वाचित गरेर पठाउनुपर्छ । यो दल र ऊ दल भन्नु छैन । जुनसुकै दलमा भएका असल र इमानदार व्यक्तिलाई छान्न आफ्नो अमूल्य मत दिनुपर्छ जनताले ! यही नै उनीहरूको परम् कर्तव्य हो । अहिले पाँचदलीय गठबन्धनले भागबन्डाका आधारमा उम्मेदवार चयन गरेको छ । त्यसरी गठबन्धनले छानेको उम्मेदवारमध्ये कतिपय असल र इमानदार पनि होलान् भने कतिपय जनसेवामा भन्दा व्यक्तिगत र दलीय स्वार्थमा लाग्ने व्यक्ति होलान् । त्यस्ता व्यक्तिलाई चिनेर योग्य र असल व्यक्तिलाई निर्वाचनमा मत दिनु जनताको कर्तव्य हुन्छ । पाँचदलीय गठबन्धनबाहिरका पनि उम्मेदवार जनसेवी, त्यागी र इमानदार हुन सक्छन् यसतर्फ पनि विचार पु¥याइनुपर्छ ।

(लेखक : पूर्वप्रशासक, साहित्यकार तथा आध्यात्मिक चिन्तक हुनुहुन्छ ।)
कामपा-५, हाँडीगाउँ, काठमाडौं