आज धादिङ महोत्सवको उद्घाटन

  • त्रिशूली प्रवाह
  • ७ पुष २०७९, बिहीबार १३:५५

धादिङबेँसी, आठौँ धादिङ महोत्सवको उद्घाटन बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले आज बिहीबार गर्ने भएका छन् । पुस ७ गतेदेखि १७ गतेसम्म चल्ने महोत्सवको उद्घाटन गर्न मुख्यमन्त्री पाण्डेलाई प्रमुख अतिथिको रूपमा निमन्त्रणा गरिएको धादिङ उद्योग वाणिज्य सङ्घका अध्यक्ष एवम् महोत्सव मूल समारोह समितिका संयोजक विष्णु थपलियाले बताए ।

सङ्घको प्रतिनिधिमण्डलको टोलीले पाण्डेलाई भेटेर प्रमुख अतिथिको निमन्त्रणापत्र दिएको थियो । महोत्सवको उद्घाटन पुस ७ गते अपराह्न १ बजे गर्ने कार्यक्रम तय भएको छ । ‘धादिङको दिगो विकास र अर्थतन्त्रको आधार, कृषि जलस्रोत पर्यटन र उद्योगको पूर्वाधार’ भन्ने मूल नाराको साथ धादिङ उद्योग वाणिज्य सङ्घको आयोजनामा आठौँ धादिङ महोत्सव हँुदै छ । उद्घाटन सत्रअघि रुबिभ्याली गाउँपालिकाको तामाङ संस्कृति घोडचढी नाथदेखि बेनीघाट-रोराङ गाउँपालिकाको चेपाङ संस्कृतिसम्मलाई समेटेर झाँक्री तथा शोभायात्रा निकालिने महोत्सव मूल आयोजक समितिले जानकारी दिएको छ । महोत्सवमा एक सय २० भन्दा बढी स्टल रहेका छन् । महोत्सवकोे मुख्य आकर्षण स्थानीय तहभित्र उत्पादन हुने वस्तु तथा सेवाको प्रदर्शनी, कृषि प्रदर्शनी, साना तथा घरेलु उत्पादनको प्रदर्शनी तथा बिक्री-वितरण, विविध सांस्कृतिक प्रदर्शनी, पर्यटन प्रवद्र्धनसम्बन्धी विविध कार्यक्रम, स्थानीय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय औद्योगिक वस्तुको प्रदर्शनी तथा बिक्री, हस्तकलाको प्रदर्शनी तथा बिक्री-वितरण, राष्ट्रिय तथा स्थानीय ख्यातिप्राप्त कलाकारबाट दैनिक सांस्कृतिक प्रस्तुति, खनिजजन्य वस्तुको प्रदर्शनी तथा बिक्री, जडीबुटीको प्रदर्शनी, बिक्री तथा जानकारी, आदिवासीको वेशभूषा, संस्कृति तथा रहन-सहनको प्रदर्शनी र इलेक्ट्रिक तथा इलेक्ट्रोनिक्स वस्तुको प्रदर्शनी तथा बिक्री/सूचना प्रविधि रहेका छन् । धादिङ उद्योग वाणिज्य सङ्घको आयोजनामा हुने महोत्सवमा मुख्य प्रायोजकको रूपमा हिमालयन ब्रुअरी प्राइभेट लिमिटेड रहको छ भने महोत्सवमा १० करोडभन्दा बढीको कारोबार हुने र तीन लाखभन्दा बढीले अवलोकन गर्ने अपेक्षा गरिएको छ ।