धादिङ महोत्सवमा ७५ जना किसान पुरस्कृत

  • त्रिशूली प्रवाह
  • २१ पुष २०७९, बिहीबार १२:५३
  • राजेन्द्र बस्नेत

धादिङबेँसी, ‘धादिङको दिगो विकास र अर्थतन्त्रको आधार, कृषि, पर्यटन, जलस्रोत तथा उद्योगको पूर्वाधार’ नारासहित सुरु भएको आठौँ धादिङ महोत्सवमा कृषि मेला प्रदर्शनी विधामा ७५ जना किसान पुरस्कृत भएका छन् ।

धादिङ उद्योग वाणिज्य सङ्घको आयोजनामा पुस ७ देखि १७ सम्म सञ्चालन हुने महोत्सवको एउटा विधा थियो कृषि मेला प्रदर्शनी । कृषि मेला प्रदर्शनीमा भाग लिन व्यवसायी कृषकदेखि निर्वाहमुखी कृषकसम्मका दुई सय ७३ जना किसानले विभिन्न जातका उत्पादन प्रदर्शनीमा ल्याएका छन् । किसानले उत्पादन गरेर प्रदर्शनीमा ल्याएका कृषि उपजलाई कृषि ज्ञान केन्द्र र प्रधानमन्त्री कृषि आधुनिकीकरण आयोजनाले नौ समूहमा विभाजन गरेर मूल्याङ्कन गरेको कृषि ज्ञान केन्द्रकी कृषि प्रसार अधिकृत तारादेवी गुरुङले बताइन् । प्रदर्शनीमा ल्याइएका कृषि उपजलाई खाद्यान्न बाली, रैथानेबाली समूह, विविध अन्य बाली समूह, नगदेबाली समूह, फलफूलबाली समूह, आलुबाली समूह, दलहनबाली समूह, काउलीबाली समूह र तरकारी बाली समूहमा विभाजन गरिएको छ । सबै बाली समूहका प्रथम हुनेलाई एक हजार पाँच सय, द्वितीय हुनेलाई एक हजार, तृतीय हुनेलाई सात सय र सान्त्वना हुनेलाई पाँच सय नगद पुरस्कार प्रदान गरिएको प्राविधिक गुरुङले बताइन् । खाद्यान्न बाली समूहमा बेनीघाट रोराङ-७ का दीपक कँडेल मकै उत्पादनमा प्रथम भएका छन् र यस विधामा पाँचजनालाई पुरस्कृत गरिएको छ । रैथानेबाली समूहमा ज्वालामुखी ६ का फणेन्द्र ढुवाडी जुनेलो उत्पादनमा प्रथम भएका छन् । यस विधामा चारजनालाई पुरस्कृत गरिएको छ । विविध अन्य समूहमा ज्वालामुखी-४ का प्रकाश ढुवाडी मौरीमा प्रथम भएका छन् । यस विधामा ६ जनालाई पुरस्कृत गरिएको छ ।

यसैगरी नगदेबाली समूहमा बेनीघाट रोराङ-७ का दीपकान्त थपलिया आखु बालीमा प्रथम भएका छन् । यस विधामा १२ जना पुरस्कृत भएका छन् । फलफूल बाली समूहमा बेनीघाट रोराङ-१० का शुक्रबहादुर घले सुन्तलामा प्रथम भएका छन् । यस विधामा नौ जनालाई पुरस्कृत गरिएको छ । आलुबाली समूहमा ज्वालामुखी-४ का बालीराज राउत पिँडालुमा प्रथम भएका छन् । यस विधामा ६ जनालाई पुरस्कृत गरएको छ । यसैगरी दलहन बाली समूहमा त्रिपुरासुन्दरी-३ का साना किसान सहकारी संस्था लि. कालो मासमा प्रथम भएका छन् । यस विधामा सातजनालाई पुरस्कृत गरिएको छ । काउलीबाली समूहमा थाक्रे-८ का रामकुमार श्रेष्ठ काउलीमा प्रथम भएका छन् । यस विधामा ११ जनालाई पुरस्कृत गरिएको छ । तरकारी बाली समूहमा धुनीबेँसी-५ का युद्धप्रसाद न्यौपाने भेडेखुर्सानीमा प्रथम भएका छन् । यस विधामा १५ जनालाई पुरस्कृत गरिएको छ । उद्योग वाणिज्य सङ्घले उमेश रुवालीको संयोजकत्वमा कृषि मेला प्रदर्शनी व्यवथापन समिति गठन गरेको छ । यस समितिले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियाजना इकाइ कार्यालय धादिङ प्रमुख होमनाथ लम्साल, कृषि ज्ञान केन्द्रकी कृषि प्रसार अधिकृत तारादेवी गुरुङ र उद्योग वाणिज्य सङ्घका प्रतिनिधि नानीबाबु तिवारी सदस्य रहेको मूल्याङ्कन समिति गठन गरिएको थियो ।