सहकारी बैंकको कारोबार गर्ने सारथी र श्रीकृष्ण सहकारी उत्कृष्ट

  • त्रिशूली प्रवाह
  • २८ पुष २०७९, बिहीबार १३:३०

विदुर, राष्ट्रिय सहकारी बैंक लिमिटेडको नुवाकोट शाखाले आर्थिक वर्ष ०७८/७९ मा उत्कृष्ट कारोबार गर्ने र नियमित कारोबार गर्ने एक-एक सहकारी संस्थालाई छनोट गरेको छ । आ.व. ०७८/७९ मा सारथी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले बैंकको उत्कृष्ट कारोबार गर्न सफल भएको जानकारी बैंकले दिएको छ ।

बैंकको १९औँ वार्षिक साधारणसभाका अवसर सार्वजनिक गरिएको उक्त नतिजामा जिल्लाको सहकारीमध्ये सारथी सहकारी उत्कृष्ट कारोबार र श्रीकृष्ण सहकारीले उत्कृष्ट नियमित कारोबार गर्न सफल भएको बैंकको नुवाकोट शाखाका प्रमुख प्रदीप अर्यालले जानकारी दिए । बैंकमा सहकारीले बचत, सेयरलगायतका प्रावधानअनुसार नुवाकोट, धादिङ र रसुवा जिल्लाका चार सय २१ सहकारीमध्ये सारथी र श्रीकृष्ण सहकारी उत्कृष्ट विधामा परेको बताए । बैंकले उत्कृष्ट कारोबार गरेको दुई सहकारीलाई छिट्टै सम्मान गर्न लागेको छ । बैंकले देशभरका आफ्ना शाखामार्फत उत्कृष्ट कारोबार गर्ने र नियमित कारोबार गर्ने सहकारीको नाम सार्वजनिक गरेको हो । बागमती प्रदेशअन्तर्गतका २७ शाखामा कारोबार गर्ने सहकारी संस्थामध्ये उत्कृष्ट कारोबार र नियमित कारोबार गर्ने विधा गरी ५४ सहकारी संस्थाको नाम सार्वजनिक गरेको छ ।