नुवाकोट प्रदेशस्तरीय भलिबल खेल्दै

  • त्रिशूली प्रवाह
  • ५ माघ २०७९, बिहीबार ११:३०
  • सुनील श्रेष्ठ

विदुर, बागमती प्रदेशस्तरीय भलिबल प्रतियोगितामा नुवाकोटले पनि सहभागिता जनाएको छ । माघ ४ गतेदेखि ७ गतेसम्म हुने रामेछापको सदरमुकाम मन्थलीमा हुने भलिबल प्रतियोगिताका लागि खेलकुद महासङ्घ नुवाकोटका इन्चार्ज कमल श्रेष्ठको टिमलाई जिल्लाबाट मंगलबार बिदाइ गरिएको हो ।

नेपाल खेलकुद महासङ्घ बागमती प्रदेश कमिटीले प्रदेशस्तरीय पुरुष भलिबल प्रतियोगितामा प्रदेशका १३ वटै जिल्लाका टोलीले भाग लिने जनाएको छ । ‘खेलकुद नागरिकको मौलिक अधिकार, समृद्धिका लागि जनस्वास्थ्य हाम्रो सरोकार’ भन्ने मूल नाराका साथ प्रतियोगिता आयोजना गर्न लागिएको हो । प्रतियोगितामा प्रथम हुने टोलीले दुई लाख, सिल्ड, मेडल र प्रमाणपत्र पाउनेछ । त्यस्तै, द्वितीय, तृतीय र चौथो हुनेले क्रमशः रु. एक लाख, ५० हजार र ३० हजार पुरस्कार, सिल्ड, मेडल र प्रमाणपत्र पाउनेछन् ।