पत्रकारलाई रक्षा संवाददाता तालिम

  • त्रिशूली प्रवाह
  • ५ माघ २०७९, बिहीबार ११:३८

हेटौँडा, नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयको आयोजनामा रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । मध्य पृतना मुख्यालयको समन्वयमा भएको ६ दिने कार्यक्रममा बागमती प्रदेशका पाँच जिल्लाका १९ जना पत्रकार सहभागी रहेका थिए ।

पुस २४ गतेदेखि २९ गतेसम्म मकवानपुरमा सञ्चालन भएको रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रममा नुवाकोट, रसुवा, धादिङ, चितवन र मकवानपुरका सहभागी पत्रकारलाई नेपाली सेनाको साङ्गठनिक स्वरूप, भूमिका तथा नेपाली सेनाअन्तर्गतका विभिन्न निकायको काम, कर्तव्य र जिम्मेवारी सम्बन्धमा जानकारी गराइएको थियो । सेनाले पछिल्लो समय इतिहास र सांस्कृतिक संरक्षणमा गरेको कार्य र महत्वबारे जानकारी दिएको थियो । सो अवसरमा पत्रकारलाई मकवानपुरस्थित मकवानपुरगढी, निर्माणाधीन काठमाडौं-तराई/मधेस द्रुतमार्ग सडक आयोजना, पर्सा राष्ट्रिय निकुञ्ज र बारा जिल्लामा निर्माणाधीन एकीकृत स्मृति उद्यानको स्थलगत भ्रमणसमेत गराइएको थियो । मध्य पृतनापति उपरथी होमनाथ दवाडीको प्रमुख आतिथ्यतामा आयोजित समापन कार्यक्रममा वरिष्ठ पत्रकार प्रताप विष्टले नेपाली सेना र पत्रकारको सम्बन्ध, समन्वय तथा पत्रकार आचारसंहितालगायतका विषयमा प्रस्ट पारेका थिए ।